
कुनै समय नेपाली कांग्रेसभित्र संस्थापन इतर कित्ताको नेतृत्व गरेर पार्टी आधा हिस्सा खोज्ने नेता शेखर कोइराला अहिले मझधारमा उभिएका छन् । उनी अहिले न संस्थापन पक्षतिर छन् न त इतर पक्षतिर नै । विशेष महाधिवेशनदेखि नै शेखर पार्टीभित्र दोधारे भूमिका निर्वाह गर्दै आएका छन् ।
विशेष महाधिवशेनबाट निर्वाचित भएका सभापति गगन थापाको समूहलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष निर्णयको विरुद्धमा सर्वोच्चमा पुग्यो । अनि शेखरले पनि विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन थापा नेतृत्वको कार्यसमितिलाई स्वीकारेनन् । जबकी पार्टीभित्र शेखर नै पहिलो व्यक्ति थिए, जो ०८२ पुषभित्रै १५औं महाधिवेशन गर्नुपर्ने नभए विशेष महाधिवेशनमा जानुपर्ने बताएका थिए ।
तर, तत्कालिन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ०८२ पुष मसान्तका लागि तोकेको १५औं महाधिवेशनको कार्यतालिका अनुसार नियमित महाधिवेशन हुन सकेन । त्यसपछि तत्कालिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनमा जुटे तर शेखरले साथ दिएनन् ।
खासमा, गगन थापाले महाधिवेशनपछि आफू सभापति बन्ने दाबी गरेका थिए भने शेखरले पनि १४औं महाधिवेशनमा पराजित भएदेखि नै आगामी महाधिवेशनमा आफू सभापति बन्ने दाबी गरेका थिए । सभापति पदका कारण १४औं महाधिवेशनमा एउटै कित्तामा रहेका गगन–शेखर टुक्रिए र विशेष महाधिवेशनमा पनि शेखरले गगन खेमालाई साथ दिएनन् र निर्वाचित कार्यसमितिलाई स्वकाीरेनन् ।
उनी पनि देउवा पक्ष झैं निर्वाचन आयोगको निर्णयको विरुद्धमा सर्वोच्चको दुहाइमा लागे । यद्यपी, फाल्गुन २१ को चुनावमा भने कांग्रेस सभापति गगन थापाको हातबाट टिकट लिएर चुनाव लडे तर चुनावमा पराजित भए ।
चुनावपछि पार्टीभित्रको आधिकारिताको विवाद फेरि चर्कियो । देउवा खेमाबाट तत्कालिन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बहालवाला कार्यवाहक सभापतिकै हैसियतामा पार्टीगत गतिविधि अघि बढाउन थाले । खड्का समूहले बोलाएको सांसदहरुको बधाइ कार्यक्रममा शेखर पनि सरिक भए ।
त्यसपछि, खड्का नेतृत्वले डाकेको दुईदिने केन्द्रीय समितिको बैठकमा पनि उनी र उनी पक्षीय नेताहरु सहभागी भए । तर, शेखरले बैठकलाई औपचारिकता दिन नमानेपछि दुईदिने बैठक भेलामा परिणत भयो । उनले पार्टी आधिकारिकताको विवाद सर्वोच्चमा विचाराधिन रहेको बताउदै औपचारिक बैठक घोषणा गर्न नहुने बताए ।
अब भने शेखर पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्णयमा पुगेका छन् । देउवा पक्षले माघ ४ गते सर्वोच्चमा दायर गरेको मुद्दाको पेशी आइतबार तोकिएको थियो । तर, आइतबार सर्वोच्च आफैले स्थगितको सूचीमा पेसी प्रकाशन गरेपछि सुनुवाइ सरेको छ ।
पार्टीको वैधानिकतासम्बन्धी विवादमा अदालतले आइतबार पेसीमा नचढाई सुनुवाइ स्थगित गरेपछि अब अदालतको प्रतीक्षा सकिएको भन्दै शेखरले अर्को तारिख कुरेर पार्टीलाई थप क्षति हुन नदिने बताएका छन् । उनले पार्टी एकताका लागि संवादको थालनी गर्नुपर्नेमा जोड दिएका छन् ।
यता, देउवा पक्षका नेताहरु पनि मुद्दाको प्रतीक्षा गरेर बस्न नहुने बताउँछन् । पार्टी एकताका लागि संवाद गर्ने वा अर्को पार्टी बनाएर जाने दुइटा विकल्प मात्रै रहेको भन्दै अहिलेको चुनौतीपूर्ण घडीमा पार्टी चोइट्याउनु राम्रो नहुने उनीहरुको भनाइ छ ।
यता, गगन पक्षका नेताहरुले पनि विशेष महाधिवेशनको मुख्य कार्यादेश नै १५ औं महाधिवेशन गराउनु भएकाले सबैले यो कार्यसमितिलाई स्वीकारेर अघि बढ्नुपर्ने बताउँछन् । कांग्रेस संस्थापनले आगामी असोज १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।
देउवा समूहलाई मिलाउन संस्थापन पक्षले पनि संवाद थालेको छ । कुनै समूहतिर नलागेका शेखर १५औं नियमित महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा छ ।






































