
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा निर्वाचन क्षेत्र नम्बर-५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला तथा निर्वाचन क्षेत्रसमेत रहेको झापा-५ मा रास्वपाको संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका खनालले सोमबार पार्टी परित्याग गरी एमाले रोजेका हुन्।
नवप्रवेशी खनाललाई एमाले अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा विधिवत् रूपमा स्वागत गरेका थिए।
एमाले प्रवेश गरेलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै खनालले मुलुकको वर्तमान विषम परिस्थितिमा केपी ओलीजस्तो राष्ट्रवादी नेताको खाँचो महसुस गरेर आफू एमालेमा आएको बताए।
खनालले देशमा भइरहेका पछिल्ला घटनाक्रमले आफूलाई झस्काएको बताए। उनले भने, ‘अहिले देशमा जुन घटनाक्रम घटिरहेका छन्, त्यो एकदमै आचाक्ली हुने खालका छन्। यस्तो विषम परिस्थितिमा राष्ट्रियताको पक्षमा उभिने केपी बा जस्तो राष्ट्रवादी नेतालाई सपोर्ट गर्नुपर्छ भनेर हामी आएका हौं।’
उनले आफू मात्र नभई नयाँ पुस्ताका धेरै युवाहरू राष्ट्रवादी धारलाई बलियो बनाउन एमालेमा गोलबद्ध हुन चाहेको दाबी गरे।
पार्टी परिवर्तन गर्नुको कारण खुलाउँदै खनालले देशमा वैदेशिक हस्तक्षेप र चलखेल बढेको सुनाए। उनले भने, ‘बार्बरा फाउन्डेसनदेखि लिएर विदेशी चलखेल र साम्राज्यवादको जुन नांगो नाच अहिले देशमा भइरहेको छ, यी विविध घटनाहरूलाई हेरेर विश्लेषण गर्दा हामी एमाले रोज्ने निर्णयमा पुगेका हौं।’
उनले अहिले भइरहेका मिडिया ट्रायल भन्दा माथि उठेर सूक्ष्म ढंगले देशको अवस्था विश्लेषण गर्न युवापुस्तालाई आग्रहसमेत गरेका छन्।
‘मिडिया ट्रायल भन्दा पनि सूक्ष्म ढंगले अनुसन्धान गरेर देशमा के भइरहेको छ र के हुनेवाला छ भन्ने बुझेर उचित निर्णय लिन म सबैलाई आग्रह गर्दछु,’ खनालले भने।





































