
फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ का सबै खेल सकिएसँगै अन्तिम १६ टोलीको टुङ्गो लागेको छ। अब आठ स्थानका लागि १६ टोलीबीच नकआउट प्रतिस्पर्धा हुनेछ।
राउन्ड अफ ३२ बाट चार पटकको पूर्वविजेता जर्मनी, गत संस्करणको तेस्रो टोली क्रोएसिया, नेदरल्यान्ड्स, जापान र सेनेगलजस्ता बलिया टोली बाहिरिएका छन्। साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, मोरक्को, स्पेन, इंग्ल्यान्ड, बेल्जियम, ब्राजिल र पोर्चुगलसहित १६ टोलीले भने अन्तिम १६ मा स्थान बनाएका छन्।
राउन्ड अफ ३२ मा क्यानडाले दक्षिण अफ्रिकालाई, ब्राजिलले जापानलाई, मोरक्कोले टाइब्रेकरमा नेदरल्यान्ड्सलाई, पाराग्वेले टाइब्रेकरमा जर्मनीलाई, नर्वेले आइभरी कोस्टलाई, फ्रान्सले स्वीडेनलाई, मेक्सिकोले इक्वेडरलाई, इंग्ल्यान्डले कङ्गोलाई, बेल्जियमले सेनेगललाई, अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई, स्पेनले अस्ट्रियालाई, पोर्चुगलले क्रोएसियालाई, स्विट्जरल्यान्डले अल्जेरियालाई, इजिप्टले टाइब्रेकरमा अस्ट्रेलियालाई, अर्जेन्टिनाले केप भर्डेलाई र कोलम्बियाले घानालाई पराजित गरे।
अन्तिम १६ को पहिलो खेल आज राति १०ः४५ बजे क्यानडा र मोरक्कोबीच हुनेछ। दोस्रो खेलमा भोलि बिहान २ः४५ बजे पाराग्वेले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।
सोमबार बिहान १ः४५ बजे ब्राजिल र नर्वे तथा सोही दिन बिहान ५ः४५ बजे मेक्सिको र इंग्ल्यान्डबीच खेल हुनेछ।मंगलबार बिहान १२ः४५ बजे पोर्चुगल र स्पेन तथा बिहान ४ः४५ बजे अमेरिका र बेल्जियम आमनेसामने हुनेछन्।मंगलबार राति ९ः४५ बजे अर्जेन्टिना र इजिप्टबीच प्रतिस्पर्धा हुनेछ भने बुधबार बिहान १ः४५ बजे स्विट्जरल्यान्ड र कोलम्बिया भिड्नेछन्।






































