जोडिनुहोस
शुक्रबार, फाल्गुन ८, २०८२
शुक्रबार, फाल्गुन ८, २०८२
  • होमपेज
  • ओलीका चार खम्बा ! विष्णु, शंकर, महेश र सूर्य चुनावी मैदानमा !

ओलीका चार खम्बा ! विष्णु, शंकर, महेश र सूर्य चुनावी मैदानमा !

आसन्न फाल्गुन २१ को चुनावमा होमिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेत र नेता सूर्य थापा एमाले अध्यक्ष केपी ओलीका चार मुख्य खम्बा हुन् । एमालेभित्र अध्यक्ष ओलीका प्रिय पात्रहरु मध्ये यी चार नेताको नाम पनि आउने गदर्छ । ओलीका सबैभन्दा नजिकका नेता विष्णु रिमाल भने यसपटक चुनावमा उठेका छैनन् । रिमाल पार्टीको महाधिवेशनमा पनि ओलीले नचाहादा नचाहादै पराजित भए ।

अहिले चुनावी मैदानमा होमिएका ओली निकटका नेता महासचिव शंकर पोखरेल दाङ २ बाट चुनावमा उठेका छन् तर ०७९ को चुनावमा पराजित भएका पोखरेललाई यसपटक पनि चुनाव जित्न सहज भने छैन । अघिल्लो चुनावमा यस क्षेत्रमा तत्कालिन माओवादीकी रेखा शर्माले जितेकी थिईन् । त्यतिबेला कांग्रेस, तत्कालिन माओवादी र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन थियो ।

यसपटक दाङ २ मा महासचिव पोखरेलसँग प्रतिस्पर्धा गर्न नेपाली कांग्रेसबाट किरण किशोर घिमिरे, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्मल आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट विपिन आचार्य चुनावी मैदानमा छन् । देशैभर रास्वपा र घण्टीको माहोल चलिरहेको बेला दाङ २ मा पनि रास्वपाको रौनकता छाएको छ ।

यस क्षेत्रमा रास्वपाबाट सहमहामन्त्री विपिन आचार्य मैदानमा हुदा यहाँका मतदाताहरुमा पनि यसपटक नयाँलाई अवसर दिने बताइरहेका छन् । एमाले महासचिव पोखरेल भने ०७४ मा आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुदा प्रदेशको राजधानी दाङ बनाएको लगायतका विषयमा जस लिदै मतदाताको भोट तान खोज्दै छन् ।

यता, रुपन्देही २ बाट उम्मेदवार बनेका एमाले उपाध्यक्ष विष्णु पौडेल छैटौं पटक संसदीय चुनावको जित निकाल्ने दाउमा छन् । २०५१ सालको मध्यावधि चुनावमा पाल्पा क्षेत्र नं. ३ बाट निर्वाचित भएर संसदीय यात्रा सुरु गरेका पौडेल २०५६ सालको चुनावमा रुपन्देही ३ बाट पराजित भए । त्यसयता भने पौडेल २०६४, ०७०, ०७४, ०७९ को चुनावमा रुपन्देही २ बाट लगातार जित्दै आएका छन् । उनी यसपटक पनि फेरि जित निकाल्ने सुरमा छन् । यस क्षेत्रमा कांग्रेसका चुन्न प्रसाद शर्मा, नेकपाका शुभाष पाण्डे, रास्वपाका सुलभ खरेल चुनावी मैदानमा छन् । पौडेल पनि मतदाताका घर आँगनमा गएर उखु पेल्न र खुँदो बनाउन व्यस्त देखिन्छन् ।

यता, प्युठानबाट उम्मेदवार बनेका एमालेका सूर्य थापा यसपटक पनि जित निकाल्ने सुरमा छन् । उनले ०७९ को चुनावमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार दुर्गा पौडेललाई हराएका थिए । उनले चुनावमा उम्मेदवारले गर्ने फण्डा जति सबै गरिसकेका छन् । घरी उनी मतदाताको घरमा गएर मकै छिन्किन्छन्, कहिले मकै भुट्छन्, कहिले डोको बुन्छन्, कहिले घरको गारो लाउन पुग्छन्, कहिले ज्याम्टा बजाउँछन्, त कहिले नाच्छन् ।
थापाई यसपटक कांग्रेसका उम्मेदवार गोविन्द पोखरेल चुनौती बनेका छन् । यस क्षेत्रमा नेकपाका कृष्णध्वज खड्का, रास्वपाका सुशान्त वैदिक उम्मेदवार छन् ।

एमाले अध्यक्ष ओलीका अर्का बलिया सहयात्री हुन्, भक्तपूर २का उम्मेदवार महेश बस्नेत । अघिल्लो चुनावमा कांग्रेसका दुर्लभ थापासँग हारेका बस्नेत यसपटक भने आफू जित्नेमा ढुक्क देखिन्छन् । भदौको जेनजी विद्रोह पछि एमालेलाई माथि उठाउन र नेतृत्वलाई सघाउन भूमिका खेलेकोमा महेश चर्चामा छन् । उनी यसपटक रास्वपाका राजिव खत्री, कांग्रेसका कविर राणा लगायतसँग भिड्दै छन् । ओलीका चार पिल्लर चुनावी जित निकाल्न मैदानमा होमिदा, यसपटक उनीहरुकै खम्बा ओलीलाई भने चुनाव जित्न हम्मेहम्मे पर्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका