
बेनी नगरपालिका–३ स्थिति मुसुङ गाउँ पुगेका महावीर पुनले आफ्नो चुनाव चिह्न त्रिभुजमा मतदान गर्न आग्रह गरिरहेका छन् । सामान्य ट्रयाक सुट लगाएर चप्पल पड्काउँदै प्रचारमा हिँडिरहेका पुनमा न पदको दम्भ छ न वैज्ञानिक हुँ भन्ने घमण्ड देखिन्छ । अन्तरिम सरकारमा चार महिना शिक्षामन्त्री भएका पुनले माघ ६ गते पदबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् । बिहीबार हुने निर्वाचनका लागि अन्य उम्मेदवारले चुनाव जित्न साम, दाम, दण्ड, भेद सबै प्रयोग गरी भड्किलो प्रचार गरिरहँदा उनी एक्लै लुखुरलुखुर चुनावी प्रचारप्रचारमा हिँडिरहेका भिडियोहरु सामाजिक सञ्जालभरी छाएका छन् ।

वामपन्थी आन्दोलनमा लागेको ३६ वर्षपछि नेपाली कम्युनिस्ट पार्टी, नेकपाका नेता लेखनाथ न्यौपाने पहिलोपटक प्रतिनिधिसभा सदस्यको चुनाव लड्दै छन् । बौद्धिक तथा शालीन व्यक्तित्व रहेका न्यौपानेले गोरखा–२ बाट उम्मेदवारी दिएका छन् । साधारण जीवनशैली बिताइरहेका उनी राजनीति व्यवसाय नभई सेवा भएको बताउँछन् । अनावश्यक आश्वासन भन्दा पनि सैद्धान्तिक र वैचारिक पक्षलाई बढी महत्व दिने स्वभावका न्यौपाने जिताएर पठाएको खण्डमा अभिभावकीय जिम्मेवारी बहन गर्न सक्षम रहेको प्रतिबद्धता जनाइरहेका छन् । चुनावी प्रचारप्रसारका लागि अहिले गाउँ–गाउँमा व्यस्त रहेका उनले कुनै तडकभडक शैली अपनाएका छैनन् ।
यता, कर्णाली प्रदेशको जुम्लाबाट प्रगतिशील लोकतान्त्रिक पार्टी, प्रलोपाका उम्मेदवार रहेका मनऋषि धितालको प्रचारशैली पनि भिन्न छ । प्रलोपाका बौद्धिक नेता मानिने धिताल तत्कालिन माओवादी पार्टी नेकपामा गाभिएपछि प्रलोपा प्रवेश गरेका थिए । पत्रकार एवं साहित्यकार समेत रहेका धितालले जनयुद्धको बेला २०५९ देखि २०६३ सम्मको यात्राका डायरीहरू संकलन गरेर जनयुद्धका डायरी प्रकाशन गरेका छन् । चुनाव प्रचारकै क्रममा उनले आफ्ना किताब बेचेर खर्च जोहो गरेको कुरा अहिले चर्चाको विषय बनेको छ । साधारण जीवनशैली अपनाउँदै आएका धिताल सिद्धान्त, निष्ठा र विचारको राजनीति गर्नुपर्नेमा जोड दिन्छन् । धितालले चुनावी प्रचारको क्रममा पनि प्रतिस्पर्धी दल र उम्मेदवारप्रति घृणा फैलाउने अभिव्यक्ति दिएका छैनन् ।
त्यस्तै, नेकपाको खोटाङ–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका डा. हरि रोका अर्थ–राजनीतिक विश्लेषक हुन् । पछिल्लो चार वर्षदेखि खोटाङको गाउँमै बसेर कृषि क्षेत्रमा सक्रिय उनले गाउँमा बाँदर आतंकबाट आजित भएका कृषकका समस्यालाई चुनावी प्रचारको मुख्य मुद्दा बनाएका छन् ।

त्यसैगरी, नेकपाबाट पर्वत–१ का उम्मेदवार रहेका मनहरि शर्माले पनि चुनावी प्रचारप्रसार फरक ढंगले गरेका छन् । पत्रकार तथा बौद्धिक नेता मानिने उनी पहिलो पटक प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका हुन् । २०८४ को आवधिक निर्वाचनका लागि दुई वर्षअघि देखि नै गृहजिल्ला पर्वतमा तयारी गरेका थिए । तर भदौमा जेनजी आन्दोलनका कारण निर्वाचनको मिति अगाडि सरेपछि उनले टिकट पाएका थिए । चुनावी प्रचारको क्रममा घरदैलो कार्यक्रममा व्यस्त रहेका उनले कुनै पनि भड्किलो कार्यक्रम गरेका देखिँदैन । मतदाता समक्ष आश्वासन भन्दा पनि दीर्घकालीन विकास र समृद्धिको वकालत गर्दै आएका छन् ।








































