जोडिनुहोस
  • होमपेज
  • सरकारले रोक्यो खाडी मुलुक जानेको श्रम स्वीकृति

सरकारले रोक्यो खाडी मुलुक जानेको श्रम स्वीकृति

मध्यपूर्वमा तनाव बढेसँगै सरकारले खाडी मुलुक जाने नेपाली कामदारका लागि श्रम स्वीकृति दिन तत्कालका लागि स्थगित गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मध्यपूर्वमा उत्पन्न पछिल्लो विषम परिस्थितिका कारण जोखिम बढेकाले ती देशहरूमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति हाललाई स्थगित गरिएको जानकारी दिए । यसअघि वैदेशिक रोजगार विभागले नियमित रूपमा श्रम स्वीकृति प्रदान गर्दै आएको थियो ।

यसैबिच आइतबार नै परराष्ट्र मन्त्रालयले एक विशेष पत्रकार सम्मेलनको आयोजना गरी मध्यपूर्वको वर्तमान अवस्था, त्यहाँ रहेका नेपालीहरूको तथ्याङ्क र सम्भावित जोखिम न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारीबारे विस्तृत जानकारी गराएको छ ।

परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख (सहसचिव) रामकाजी खड्काले दिएको जानकारी अनुसार हाल मध्यपूर्वका विभिन्न देशमा गरी करिब १७ लाख २९ हजार २ सय ८८ जना नेपाली नागरिकहरू रहेका छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मन्त्रालयले यसअघि नै ट्राभल एड्भाइजरी जारी गरिसकेको र सम्बन्धित दूतावासमार्फत नेपालीहरूलाई सुरक्षित रहन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिसकिएको जानकारी दिए । राजदूत र नियोग प्रमुखहरूसँग निरन्तर समन्वय गर्न ह्वाट्सएप ग्रुप बनाएर चौबीसै घण्टा अपडेट लिने काम भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले नेपाली नागरिकहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको दोहोर्‍याए ।

’सरकारले हरेक अवस्थाको नजिकबाट मूल्यांकन गरिरहेको छ ।

आपतकालीन अवस्था आइपरेमा उद्धार गर्न संयन्त्रहरू तयार राखिएको छ,’ ढकालले भने, ’यस्तो बेलामा सामाजिक सञ्जालमा आउने अप्रमाणित र भ्रामक सूचनाको पछि नलाग्न, नआत्तिन र सम्बन्धित दूतावास वा मन्त्रालयले जारी गरेका आधिकारिक सूचनामा मात्र विश्वास गर्न म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्दछु ।’

सरकारले अत्यावश्यक नपरी हाललाई ती देशहरूको भ्रमण नगर्नसमेत नेपाली नागरिकहरूलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका