जोडिनुहोस
  • होमपेज
  • कर्णाली चुनावी चिरफार ! १२ सिटका लागि १३१ उम्मेद्वार मैदानमा !

कर्णाली चुनावी चिरफार ! १२ सिटका लागि १३१ उम्मेद्वार मैदानमा !

आसन्न प्रतिनिधिसभाको चुनावमा राजनीतिक दलका उम्मेदवारहरु कर्णालीका १२ सिट आफ्नो पक्षमा पार्ने दाउमा छन् । यसपटक दलका उम्मेदवारहरु चुनावी गठबन्धन नगरी मैदानमा होमिदा उनीहरुको वास्विक जनमत मापन हुने भएको छ । गत निर्वाचनमा कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये केही ठाउँमा मात्रै उम्मेदवार उठाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसपटक सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । जुम्ला १ मा रास्वपाकी विनिता कठायत र अघिल्लो चुनावमा यही क्षेत्रबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र शाही मुख्य प्रतिस्पर्धी छन् । जसका कारण कांग्रेस, एमालेका उम्मेदवार छायाँमा परेका छन् ।
जाजरकोटमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का शक्ति बस्नेत यसपटक पनि मैदानमा छन् । तर, यसपटक उनलाई चुनाव जित्न सहज छैन । यस क्षेत्रमा एमालेबाट डम्बर बहादुर सिंह, कांग्रेसबाट खडक बहादुर बुढा, रास्वपाका राघब कार्की उम्मेदवार छन् । कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही उम्मेदवार छन् । उनी अघिल्लो चुनावमा पनि यही क्षेत्रबाट निर्वाचित सांसद हुन् साथै ०७४ मा कर्णालीका पूर्वमुख्यमन्त्री पनि भइसकेका हुन् । यस क्षेत्रलाई नेकपाले जित्ने सूचीमा राखेको छ । हुम्ला पनि अघिल्लो चुनावमा तत्कालिन माओवादी (अहिलेको नेकपा)ले जितेको क्षेत्र हो । तर यसपटक हुम्लामा रास्वपाबाट टासी ल्हान्जोमको उम्मेदवारी अन्य दलका लागि चुनौती बनेको छ । रुकुम पश्चिममा तत्कालिन माओवादी छोडेर प्रगतिशिल लोकतान्त्रिक पार्टी गठन गरेका जर्नादन शर्मा यसपटक पनि जित निकाल्नेमा ढुक्क देखिन्छन् ।

सुर्खेत १ कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको क्षेत्र हो । यस क्षेत्रमा कांग्रेसबाट खड्काका भाइ विष्णु खड्का उम्मेदवार छन् । भाइलाई दाइको विरासत धान्न अप्ठ्यारै छ । सुर्खेत २ पनि अघिल्लो चोटी कांग्रेसले जितेको क्षेत्र हो । यसपटक कांग्रेसबाट नारायण कोइराला, एमालेका कुलमणि देवकोटा, रास्वपाबाट रमेश सापकोटा उम्मेदवार छन् । मुगु अघिल्लो पटक कांग्रेसले जितेको क्षेत्र हो । यसपटक यस क्षेत्रमा कांग्रेसका खड्ग शाही, एमालेका पूर्णबहादुर रोकाया, रास्वपाका भुवन टमटा उम्मेदवार छन् ।
यता, सल्यानमा तत्कालिन एकीकृत समाजवादीका प्रकाश ज्वालाले चुनाव जितेका थिए । यस क्षेत्रमा अघिल्ला चुनावमा स्वतन्त्र उम्मेदवारीले दोस्रो ठूलो मत ल्याएको हुदा यसपटक रास्वपाले जित्न सक्ने आकंलन गरिएको छ । यस क्षेत्रमा रास्वपाबाट ललितकुमार चन्द उम्मेदवार छन् । डोल्पामा पनि अघिल्लो पटक एकीकृत समाजवादीका धनबहादुर बुढाले चुनाव जितेका थिए । यसपटक नेकपाको तारा चुनाव चिन्हबाट फेरि पनि उनी नै जित निकाल्ने दाउमा छन् ।
दैलेख १ तत्कालिन एकीकृत समाजवादीका अम्मरबहादुर थापाले जितेकोमा यसपटक पनि नेकपाका तर्फबाट उनी नै उम्मेदवार छन् । दैलेख २ मा अघिल्लो पटक कांग्रेसबाट जितेका दिक्पाल कुमार शाही यसपटक पनि चुनाव जित्ने सुरमा छन् । कांग्रेसले यसपटक कम्तिमा ६ देखि बढीमा १० सिट जित्ने आकंलन गरेको छ । एमालेले पनि घटीमा चार र बढीमा आठ सिट जित्ने दाबी गरिरहेको छ । नेकपाले नौं सिट जित्ने र रास्वपाले आठ सिट जित्ने बताइरहेको छ । यसक्षेत्रमा अघिल्लो चुनावमा कांग्रेस र तत्कालिन माओवादीले ४÷४ सिट जितेकोमा रास्वपाले एक सिट पनि जितेको थिएन । कर्णालीको १० जिल्लाको १२ क्षेत्रमा १ सय ३१ जना उम्मेदवार छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका