
नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो ।
संसदीय दलको बैठकमा आङ्देम्बे निर्विरोध निर्वाचित भएको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए । उनी संसदीय दल निर्वाचन समितिको संयोजक पनि हुन् ।
आङ्देम्बे समानुपातिका सांसद हुन् । उनी दोस्रो संविधानसभामा सभासद् थिए । पार्टीको १४औँ महाधिवेशनमा आङ्देम्बे देउवा पक्षबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए । उनी विशेष महाधिवेशनमा सहभागी भएका थिएनन् । यद्यपि, संसद्को पहिलो बैठकमा आङ्देम्बेले विशेष महाधिवेशनबाट कांग्रेस रूपान्तरण भएर अगाडि बढेको बताएका थिए ।







































