जोडिनुहोस
  • होमपेज
  • भक्तपुर–१ मा नेमकिपा सबैका लागि भारी, आठौं पटक मादल बजाउने दाउँमा

राजनीति

भक्तपुर–१ मा नेमकिपा सबैका लागि भारी, आठौं पटक मादल बजाउने दाउँमा

तेस्रो पटक चुनावी जीत निकाल्ने सुरमा प्रेम सुवाल

  • OfflineKhabar
  • बिहिबार, चैत्र १९, २०८२
भक्तपुर–१ मा नेमकिपा सबैका लागि भारी, आठौं पटक मादल बजाउने दाउँमा

२०४८ साल यताका सबै चुनावमा निरन्तर मादल बजिरहने क्षेत्र हो– भक्तपूर १ । २०४८ यताका हरेक संसदीय चुनावमा भक्तपुर १ मा न कांग्रेस, न एमाले, न तत्कालिन माओवादी, न राप्रपा कसैको केही चलेको छैन । अर्थात् भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीले ०४८ यताका सात वटै चुनाव जित्दै आएको छ । आसन्न फाल्गुन २१ को चुनावमा नेमकिपाका चर्चित नेता प्रेम सुवाल मैदानमा छन् । नेता सुवाल यसअघि यही क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् । ०७९ को चुनावमा सुवालले ४२ हजार ७६१ मत ल्याएर विजय हासिल गरेका थिए । उनलाई पछ्याएका नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत ल्याएका थिए । उनीहरूबिचको मतान्तर नै ३० हजार भन्दा बढी थियो । २०७४ सालमा पनि सुवाल ३३ हजार ७६ मत ल्याएर विजयी भएका थिए । त्यतिबेला उनलाई नेपाली कांग्रेसका बाबुराजा जोशीले पछ्याएका थिए । जोशीले १७ हजार ८१८ मत पाएका थिए । त्यतिबेला सुवाल र जोशीबिच १५ हजार भन्दा बढी मतको अन्तर थियो ।
यो क्षेत्रलाई नेमकिपाको गढ मानिन्छ किनकी २०४८ यताका कुनै पनि निर्वाचनमा यो क्षेत्रमा नेमकिपाले हार बेहोर्नुपरेको छैन । २०४८, २०५१, २०५६, २०६४ र २०७० सालका निर्वाचनमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले जितेको थिए । फाल्गुन २१ को चुनावमा नेमकिपाबाट उम्मेदवार बनेका प्रेम सुवाल यसपटक ह्याट्रिक गर्ने दाउमा छन् । स्ुवालको उम्मदेवारीले यसक्षेत्रमा चुनावी चहलपहल बढाएको हो ।
तर यसपटक अरू दलका पनि चर्चित उम्मेदवार रहेकाले यसअघिकै जसरी सहज रूपमा जित्न भने सुवाललाई चुनौती देखिन्छ । नयाँ शक्तिको लहर चलिरहेकाले नयाँले नै इतिहास रच्ने दाबी पनि गरिएको छ । भक्तपुर–१ मा सुवाललाई चुनौती दिन नेकपा एमालेका नेता सोम मिश्र मैदानमा उत्रिएका छन् । मिश्र चाँगुनारायण नगरपालिकाका पूर्वमेयर हुन् । बौद्धिक छवि बनाएका उनी भक्तपुरमा लोकप्रिय छन् । उनी २०४५ सालयता भक्तपुर चाँगुनारयणका स्थायी बासिन्दा हुन् । यसै क्षेत्रमा नेपाली कांग्रेसबाट किरण न्यौपाने पनि उम्मेदवार बनेका छन् । न्यौपाने भक्तपुर चाँगुनारायण नगरपालिकाका बासिन्दा हुन् । भक्तपुर–१ मा नेपाली कम्युनिस्ट पाटी, नेकपाका तर्फबाट हरिराम लवजू प्रतिस्पर्धामा उत्रिएका छन् । उनी भक्तपुर नगरपालिका–९ का बासिन्दा हुन् । न्यौपाने र लवजू दुवै अधिवक्ता हुन् । दल पुरानै भएपनि यस क्षेत्रका लागि सबै उम्मेदवार नयाँ हुन् ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पाटी, रास्वपाका रुकेश रञ्जित चुनावी मैदानमा उत्रिएका छन् । देशव्यापी लहर बनाइरहेको रास्वपाको यसअघि यस क्षेत्रमा खासै चर्चा थिएन । यसपटक रास्वपालाई जित दिलाउने भन्दै चुनावी मैदानमा उत्रिएका रञ्जित स्थानीय व्यवसायी तथा जिल्ला वाणिज्य संघका पदाधिकारी पनि हुन् । उनी यस क्षेत्रका लागि नयाँ हुन् । यी बाहेक यस क्षेत्रमा ९ स्वतन्त्र र अन्य दलका गरी २५ जना उम्मेदवार छन् ।
यसपटक नयाँ दल तथा स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिका कारण मत विभाजन हुने सम्भावना बढेको छ । मत विभाजन भए पनि नेमकिपालाई चुनौती दिन अरूले नसक्ने पार्टीका नेताहरुको दाबी छ । सानो दल भए पनि संसद्मा सधैं जनताको पक्षमा उभिएकाले यो पटक पनि नेमकिपाकै जित हुने स्थानीयहरुको भनाइ छ । शिक्षा, स्वास्थ्य, संस्कृति लगायतका क्षेत्रमा भक्तपूरमा नेमकिपाले उल्लेखनीय काम गरेको छ । ख्वप कलेज, भक्तपूर क्यान्सर अस्पतालको स्थापना र विस्तार नेमकिपाकै पहलमा भएको हो । नेवारी भाषा, भक्तपूरका कला संस्कृति संरक्षणमा नेमकिपाले उल्लेखनीय भूमिका खेलेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका