
संसदका ६ दलमध्ये अरु सबै दलले संसदीय दलको नेता चयन गरिसक्दा पनि नेपाली कांग्रेसले अहिलेसम्म दलको नेता पाएको छैन । संसदीय दलको नेताका लागि नेता अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदार मानिएका छन् । तर, केसी र आङ्देम्बे दुवै समानुपातिक सांसद हुन् । कांग्रेसभित्र प्रत्यक्ष निर्वाचित सांसदलाई दलको नेता बनाउनुपर्ने तर्क पनि उठेको छ । मोहन आचार्य, निस्कल राईको नाम पनि चर्चामा छ । मोहन र निस्कल प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
कांग्रेस सांसदमध्ये सबैभन्दा सिनियर र संसदकै ज्येष्ठ सदस्य भएकोले आफ्नो दाबी स्वभाविक रहेको अर्जुननरसिंह केसीको अडान छ । उनी सभापति गगन थापाका ससुरा पनि हुन् । केसीलाई दलको नेता बनाउँदा आफ्नो आलोचना बढ्ने डर सभापति थापालाई छ । यहीकारण समानुपातिक नभएर निर्वाचित सांसदमध्येबाट दलको नेता छान्न सभापति थापाको मनसाय छ । त्यसमा निर्वाचितमध्ये केन्द्रीय सदस्य मोहन आचार्य सभापति थापाको प्राथमिकतामा देखिएका छन् ।
अर्को चर्चामा रहेका नेता भीष्मराज आङदेम्बे भने उपसभापति विश्वप्रकाश शर्माको पनि रोजाइ हो । आङदेम्बे उपसभापति शर्माकै गृहप्रदेशलाई प्रतिनिधित्व गर्छन् तर उनी पनि समानुपातिक सांसद नै हुन् । केसीको विकल्पमा शर्माले आङदेम्बेलाई अघि सारेपनि सभापति थापा सकरात्मक छैनन् ।
विशेष महाधिवेशनको पक्षमा नखुलेका आङदेम्बेलाई दलको नेता बनाउँदा भविष्यमा दलमा आफ्नो पकड नरहने थापाको बुझाई छ । विगतमा विशेष महाधिवेशनको पक्षमा नभएपनि दलको नेता बन्न सभापति थापालाई रिझाउनेगरी आङदेम्बेले संसदमा बोलेको चर्चा कांग्रेस वृत्तमा छ । आङदेम्बेले पहिलो संसद बैठकमा सम्बोधन गर्ने क्रममा विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर कांग्रेस बदलिएको उल्लेख गरेका थिए ।
कांग्रेसले दलको नेता चयन सहज बनाउनका लागि समिति नै गठन गरेको छ । सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठित तीन सदस्यीय समितिलाई दलको नेता छान्ने जिम्मेवारी दिएपनि चयनको प्रक्रिया अघि बढेको छैन । आगामी सातासम्म, सकेसम्म सर्वसम्मत दलको नेता चयन गर्ने गृहकार्यमा समिति जुटेको छ । कांग्रेसभित्र दलको नेताका दाबेदारहरूलाई उपनेता, प्रमुख सचेतक र सचेतकलगायतको आश्वासन दिएर मनाउने प्रयास समेत भएको छ । प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्य हुने प्रावधानका कारण यो पदको महत्व छ ।
कांग्रेस संसदीय दलको विधानमा नेता चयनसम्बन्धी दफा ५ को उपदफा (१) र (२) मा व्यवस्था छ । उपदफा १ मा संसदीय दलमा रहेका प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेता निर्वाचित गर्ने र उपदफा २ मा एकभन्दा बढी उम्मेदवार भएमा गोप्य मतदानद्वारा निर्वाचन हुने उल्लेख छ । २०६४ को पहिलो संविधानसभादेखि कांग्रेसमा दलको नेता सर्वसम्मत रूपमा नभएर निर्वाचनबाट चयन हुँदै आएका छन् ।
संसद्मा राष्ट्रिय मान्यता प्राप्त ६ मध्ये रास्वपा, एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीले संसदीय दलको नेता चयन गरिसकेका छन् । फागुन २१ को निर्वाचनमा प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी जम्मा ३८ सिट जितेर दोस्रो ठूलो दल बनेको कांग्रेसभित्र भने प्रमुख प्रतिपक्ष दलबाट नेतृत्व गर्ने नेता नै छनोट हुन सकेको छैन ।







































