
२०४६ साल यता आलोपालो सत्ताको नेतृत्व गदैै आएका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले फाल्गुन २१ को चुनावमा लज्जास्पद हार ब्यहोर्नुपर्यो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उभारले पुराना र ठूला भनिएका दलहरु साना दलमा सिमित भएका छन् । यी दलहरु संख्यात्मक रुपमा मात्र खुम्चिएका छैनन्, उनीहरुलाई पार्टी एकता जोगाउन समेत मुश्किल परेको छ ।
चुनावमा हार ब्यहोरेपछि तीन वटै दलभित्र पार्टी सुदृढिकरण र नेतृत्व परिवर्तनको बहस चर्को रुपमा उठेको छ । चुनावमा दोस्रो भएपनि जम्मा ३५ सिट ल्याएको नेपाली कांग्रेसभित्र वैधानिकताको लडाइले पार्टी दुई भागमा विभाजित भएको छ । विशेष अहिले कांग्रेसका सामू महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई स्वीकारेर जाने या पार्टी टुक्र्याउने दुईवटा विकल्प छ ।
तत्कालिन कार्यवाहक सभापति भएपनि पूर्णबहादुर खड्का कार्यवाहक सभापति कै हैसियतमा पार्टी गतिविधि अघि बढाइरहेका छन् । जसले पार्टीभित्र तनाव निम्त्याएको छ । तत्कालिन सभापति शेरबहादुर देउवा चुनाव अघिदेखि सिंगापुर पुगेका, उतै छन् । यता, शेखर कोइराला आफूहरू तल परेर विशेष महाधिवेशन पक्षसँग सम्झौता नगर्ने बताउँदै आएका छन् । सभापति गगन थापा पक्षले असोजमा १५औं नियमित महधिवेशनको कार्यतालिका तोकेको छ । तर, देउवा र शेखर पक्षले यसमा चित्त बुझाएका भने छैनन् ।
यता, नेकपा एमालेभित्र ११औं महाधिवेशन भएको चार महिना पनि नबित्दै विशेष महाधिवशेनको माग भएको छ । जेनजी आन्दोलनपछि पार्टीभित्र चर्किएको मागलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओलीले मंसिर मसान्तमा अर्लि महाधिवेशन गरे । तर, महाधिवेशनबाट नेतृत्वमा उनी नै निर्वाचित भए । नेतृत्वको हठका कारण पार्टी चुनावमा पनि नमज्जाले पराजित भयो ।
जेनजी आन्दोलनमा भएको युवाहरुको हत्याको आरोपमा अहिले ओली हिरासतमा छन् भने पार्टीभित्र विग्रहको बिउँ रोपिएको छ । पूर्वमाओवादी रहेका एमालेका उपाध्यक्ष रामबहादुर थापा बादललाई पार्टीभित्र अध्यक्षपछिको वरियता दिइएको र संसदीय दलको नेता समेत बनाइएकोमा पार्टीकै उपाध्यक्ष विष्णु पौडेल सन्तुष्ट छैनन् । पौडेल ओली खेमाबाटै महाधिवेशनमा भाग लिएका थिए तर उनी अहिले पार्टीभित्रै चिढिन थालेका छन् ।
ईश्वर पोखरेल नेतृत्वको इतर समूहका योगेश भट्टराई, गोकर्ण विष्ट, गोकुल बास्कोटा लगायतका नेताहर पनि पार्टीभित्र सन्तुष्ट छैनन् । पार्टीका नेताहरुले विशेष महाधिवेशनका लागि हस्ताक्षर सकंलन अभियान सुरु गरिसकेका छन् । मुलुकको सबैभन्दा ठूलो वामपन्थी दल कहलिएको एमालेलाई बलियो र एकीकृत बनाउने की टुक्राउने निर्णय नेतृत्वको हातमा छ ।
यता, पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को हालत झन बिजोग छ । चुनावमा ६० सिट ल्याउने आकंलन सहित डेढ दर्जन भन्दा बढी दलहरुसँग एकता गरेका दाहालको पार्टी जम्मा १७ सिटमा खुम्चिन बाध्य छ । जेनजी आन्दोलन पश्चात पार्टीभित्रको नेतृत्व परिवर्तनको आवाजलाई साम्य तत्कालिन नेकपा माओवादी केन्द्र पार्टीलाई दाहालले नेकपामा गाभिदिए ।
नेकपाले बिहीबार ४५ सदस्यीय कार्यसंयोजन समिति गठन गर्यो तर त्यसमा युवाहरु नपरेको भन्दै पार्टीका युवा नेताहरु आक्रोशित बनेका छन् । अहिले अब पार्टीका युवा नेताहरुले एकता महाधिवेशनको माग गर्दै पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई अभिभावकको भूमिका निर्वाह गरेर दोस्रो र तेस्रो पुस्ताका नेताहरुलाई पार्टीको जिम्मेवारी सुम्पिनुपर्ने माग छ ।
चुनावमा चोट खाएर साना दलमा खुम्चिन बाध्य भएका यी दलहरुभित्र थप किचलो निम्तिएको छ । कांग्रेसभित्र चर्किएको नियमित महाधिवेशन अनि एमाले र नेकपामा चर्किएको विशेष र एकता महाधिवेशनको विषयले पुराना दलहरुलाई सच्चिने की सक्किनेको निर्णायक मोडमा पु¥याएको छ ।





































