जोडिनुहोस
  • होमपेज
  • उपसभामुखको आशनमा जेनजी रुबिकुमारी, रुवीको जीवन कथा र संघर्ष

उपसभामुखको आशनमा जेनजी रुबिकुमारी, रुवीको जीवन कथा र संघर्ष

श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकूर प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी छन् । शुक्रबार भएको उपसभामुखको निर्वाचनमा श्रम संस्कृतिबाट रुबी उपसभामुख बन्न सफल भएकी हुन् । उनलाई संसदको सबैभन्दा ठूलो दल रास्वपाले समर्थन जनाएको थियो । उपसभामुख पदमा राप्रपाबाट सरस्वती लामा पनि उम्मेदवार बनेकी थिईन् तर सबै दलले रुबीलाई नै समर्थन गर्दा राप्रपा एक्लियो ।

उपसभामुखमा सर्वाधिक मतले निर्वाचित भएकी रुबी राजनीतिमा लागेको छोटो समयमै देशको उच्चपदमा पुग्न सफल भएकी छन् । धनुषाको सामान्य परिवारमा जन्मिएकी रुबीले २६ वर्षकै उमरेमा सांसदसँगै उपसभामुख बनेर सबैभन्दा कान्छो उमेरमा उपसभामुख बनेर इतिहास कायम गरेकी छन् ।

राजनीतिका बारेमा धेरै ज्ञान र चासो पनि नभएको साथै राजनीतिमा आउने विचार समेत नबनाएकी रुबी आज देशको विशिष्ट पदमा पुगेकी छन् । २०५६ साल चैत्र १८ गते धनुषाको मझेलियास्थित ठाकुर बस्तीमा जन्मिएकी रुवी राजनीतिमा आएको दुई महिना मात्र कटेको छ । धनुषाको बलरा पोलिटेक्निकबाट इन्जिनियरिङमा ३ वर्षे डिप्लोमा अध्ययन पूरा गरीन् । त्यसपछि उनी वास्तु आर्किटेक्चर कन्सल्टेन्सीमा काम गरिन् ।

आर्किटेक्चर कन्सल्टेन्सीमा काम गरिरहेकी उनी श्रम संस्कृति पार्टीमा जोडिन पुगिन् । श्रम संस्कृति पार्टी पनि फाल्गुन २१ को निर्वाचन हुनु चार महिना अगावै मात्र स्थापना भएको हो । पार्टीले उनको नाम मधेशी जनजाति क्लस्टरतर्फ समानुपातिकको सूचीमा राखेको थियो । पार्टीले ल्याएको समानुपातिक मतका अनुसार रुबी समानुपातिक सांसद बनिन् ।

त्यही निर्णयले उनलाई राष्ट्रिय राजनीतिमा प्रवेश गरायो । पार्टीका अध्यक्ष हर्कसँगको रुबीको भेट सांसद बनेपछि मात्रै भएको हो । छोटो समयमा सांसद बनेर कम उमेरमा उपसभामुख बनेकी रुबी माथि अब संसद हाँक्ने जिम्मेवारी आएको छ ।

बिहीबार नै उपसभामुख बन्ने लगभग पक्का जस्तै भएपछि पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा रुवीले प्राप्त गरेको उपलब्धिबारे लेखेका छन् । उनले लेखेका छन्, बधाई दिनेछैन म तिमीलाई, किनकि असल काम गरेर देखाएपछि मात्रै म बधाई दिने गर्छु । कार्यकालभरि पार्टीकी रहने छैनौ । तिमी पूरै देशकी बन्नेछौ । आफ्नो जन्मदातालाई कहिल्यै नभुल्नु । जरालाई बिर्सने वृक्ष सुकेर जानेछ । अल द बेस्ट रुवी नानी । उपसभामुख पदमा निर्वाचित भएपछि रुबीको पार्टीसँगको आबद्धता पनि त्यागेकी छन् ।

उनका बाबु सोगराथ ठाकुर रोजगारीका लागि साउदी अरबमा थिए भने केही दिन अघिमात्रै घर फर्किएका छन् भने आमा रेणु ठाकुर गृहिणी हुन् । उनको परिवार दुई बिघा जमिन अधियाँमा लिएर खेती गर्दै आएको छ । उनी घरकी जेठी छोरी हुन् । उनकी तीन बहिनी र दुई भाइ छन् । छोरी उपसभामुख भएसँगै उनका बाबुआमा पनि हर्षित बनेको छ ।

७ महिनासम्म नक्सा बनाउने, टुडी र थ्रिडी डिजाइनजस्ता प्राविधिक काम गरिरहेको अवस्थामा सांसद बनेकी रुवी अब संसद चलाउने ठाउँमा पुगेकी छन् । उनी संवैधानिक परिषद्मा प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश, सभामुख डीपी अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रमुख प्रतिपक्षी दलका नेतासँगै सहभागी हुनेछिन् ।

सांसद नै हुने कुराको कल्पना नगरेकी रुवीले जिम्मेवारी आइलागेपछि खुसीसँगै पदको भार अलि ठूलो भयो कि भन्ने आभास भइरहेको पनि बताएकी छन् । यद्यपी, उपसभामुखको उनले त्यो पदका साथमा आउने जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाएकी छन् । सामान्य पृष्ठभूमिबाट उठेर राष्ट्रिय नेतृत्वको महत्वपूर्ण भूमिकामा पुगेकी रुबीकुमारी ठाकुर अहिले देशैभरी चर्चाको पात्र त बनेकी छिन् नै, राजनीतिमा ठूलै छलाङ मारेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका