देश
प्रधानमन्त्रीलाई ‘अमर्यादित’ मेसेज पठाएको आरोपमा पक्राउ परेका सचिव ७ घण्टा हिरासतमा, पत्नीको जिम्मामा छुटे

बिहीबार अपराह्न पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर मोबाइल फोनको अनुचित प्रयोग नगर्ने शर्तमा राति रिहा भएका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कपनस्थित घरबाट पक्राउ गरेको थियो । प्रहरी हिरासतमा ७ घण्टा राखेर सोधपुछपछि रिहा भएका हुन् ।
प्रहरी स्रोतका अनुसार कर्मचारीको पदीय मर्यादाविपरीत उच्च पदस्थ व्यक्तिलाई अमर्यादित भाषामा एसएमएस गरेका कारण सोधपुछका लागि प्रहरी कार्यालय लगिएको थियो । उनलाई पत्नी आभा श्रेष्ठको जिम्मा जमानीमा छोडिएको अनुसन्धान कार्यालय स्रोतले जनाएको छ । पत्नी श्रेष्ठ पनि नेपाल सरकारकी सहसचिव हुन् ।
पुष्करले प्रधानमन्त्री बालेन्द्र शाहको समय माग्दा नपाएपछि उनको निजी नम्बरमा म्यासेज लेखेका थिए । लेखिएको भाषा कर्मचारीको मर्यादाविपरीत भएको प्रहरी स्रोतले जनायो ।
उनले मुख्यसचिव बन्ने दौडका क्रममा प्रधानमन्त्रीलाई सीधै म्यासेज लेखेका थिए । पुष्कर असार २४ गते सचिव पदको पाँच वर्षे अवधि पूरा गरी अवकाश हुँदैछन् । उनी अवकाश हुनुभन्दा केही दिनपछि वर्तमान मुख्यसचिव सुमनराज अर्याल अवकाश हुन्छन् ।
प्रहरीलाई पुष्करले बताएअनुसार प्रधानमन्त्री कार्यालय र निजी सचिवालयका कर्मचारी प्रधानमन्त्रीसमक्ष आफ्नो मौका नदिएपछि म्यासेज गरेका थिए । तर, अशिष्ट भाषा नलेखेको बताए । उनलाई प्रधानमन्त्रीको सचिवालयकै आग्रहमा फेरि त्यस्तो कार्य नगर्ने शर्तमा रिहा गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले बताए ।
पुष्करको चाहना अर्यालको अवकाशअगावै आफ्नो मुख्य सचिव बढुवा भए उमेरका कारण सम्भव हुने थियो । त्यसो नभए सेवा अवधि सकिन लागेकाले संवैधानिक निकाय वा अन्य कुनै लाभको पदमा नियुक्ति हुने आकांक्षा राखेर म्यासेज पठाएको बताइएको छ ।
उनले महोत्तरी घर भएको सन्दर्भमा समेत कोट्याएर मेसेजमा प्रधानमन्त्रीसँग निकट हुने ,राजदूत पदमा आवदेन दिएको र सहयोगको अपेक्षा गरेको चाहना उल्लेख गरेको स्रोतले जनाएको छ ।








































