
ढाका । बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ अन्तिम बिदाइ दिएको छ । राजधानी ढाकामा आयोजित अन्त्येष्टिमा विशाल भीड उपस्थित रहँदा देशले दशकौँसम्म आफ्नो राजनीतिलाई आकार दिनुभएकी एक प्रभावशाली नेतृप्रति गहिरो शोक प्रकट गर्यो ।
प्रधानमन्त्रीका रूपमा सेवा गर्ने बङ्गलादेशकी पहिलो महिला रहनुभएकी खालिदा जियाको मङ्गलबार ८० वर्षको उमेरमा निधन भएको हो । सत्र करोड जनसङ्ख्या भएको यस दक्षिण एसियाली मुलुकमा उहाँको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा गहिरो शून्यता सिर्जना गरेको छ ।
अन्त्येष्टिका क्रममा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो । हजारौँ सुरक्षाकर्मीको उपस्थितिमा उहाँको पार्थिव शरीर राष्ट्रिय झण्डाले ढाकिएको गाडीमा राजधानीका मुख्य सडक हुँदै लगिएको थियो । सडकछेउ उभिएका सर्वसाधारणले मौन श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सेवानिवृत्त सरकारी कर्मचारी मिन्हाज उद्दीनले आफूले कहिल्यै उहाँलाई मत नदिए पनि तीन पटक प्रधानमन्त्री बन्नुभएकी नेतृप्रति सम्मान प्रकट गर्न आएको बताउनुभयो । “म मेरो नातिसँग यहाँ आएको हुँ, एक अनुभवी राजनीतिज्ञलाई अन्तिम बिदाइ दिन, जसको योगदान सधैँ सम्झिरहनेछ”, उहाँले भन्नुभयो ।






































