
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको दोस्रो अन्तरराष्ट्रिय टि-ट्वान्टी खेलमा जित हासिल गरेको छ । मलेसियाको बायुमास ओभल क्रिकेट आज भएको खेलमा नेपालले मलेसियामाथि सात विकेटको जित निकालेको हो ।
मलेसियाले नेपाललाई जितका लागि ८३ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले १६ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालको जितमा सम्झना खड्काले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै कविता कुँवरले १९ र सोनी पाखरिनले १२ रन जोडिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८२ रनको योगफल बनाएको थियो ।
मलेसियाका लागि ऐना हमिजाले सर्वाधिक १७ रनको योगदान दिइन् । उनले ३० बलमा एक चौकाको सहायताले १७ रन बनाएकी हुन् । त्यस्तै धनुश्री मुहुनानले १५ रन जोडिन भने अरिनान नातास्याले १३ रन बनाइन् । त्यसबाहेक मलेसियाका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्फ नेपालकी कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान दुई/दुई विकेट लिए भने पूजा महतो र सीता रानामगरले समान एक/एक विकेट विकेट लिइन् ।









































