जोडिनुहोस
  • होमपेज
  • बालेन नेतृत्वको मन्त्रिपरिषद, ‘स्मार्ट टिम’–‘स्मार्ट वर्क’

बालेन नेतृत्वको मन्त्रिपरिषद, ‘स्मार्ट टिम’–‘स्मार्ट वर्क’

प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । शितल निवासमा आयोजित विशेष शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता बालेन शाहलाई प्रधानमन्त्रीको शपथ खुवाएका थिए ।

प्रधानमन्त्री शाहले शपथ लिएसँगै शुक्रबार नै अन्य मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । रास्वपाका धेरै नेताको दाबी रहेको शक्तिशाली गृह मन्त्रालयको जिम्मेवारी सुधन गुरुङले पाएका छन् ।

जेन–जी आन्दोलनका बेला चर्चामा आएका गुरुङ गोरखा–१ बाट निर्वाचित भएका थिए । त्यस्तै, रास्वपाका उपसभापति स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् । अर्थविद् समेत रहेका वाग्ले तनहुँ २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । त्यस्तै, काठमाडौं ६ बाट निर्वाचित रास्वपाका शिशिर खनाल परराष्ट्रमन्त्री बनेका छन् । उनी रास्वपाको परराष्ट्र विभाग प्रमुख हुन् ।

कास्की १ बाट निर्वाचित भएका खडकराज पौडेलले उर्फ गणेश संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रायलको जिम्मेवारी पाएका छन् । त्यस्तै, श्रममन्त्री महोत्तरी २ का दीपक साह बनेका छन् । शिक्षा तथा प्रविधि मन्त्री भने काठमाडौं–५ बाट निर्वाचित सस्मित पोखरेल बनेका छन् । पोखरेल सरकारका प्रवक्ता समेत बनेका छन् । यता, सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको जिम्मेवारी भने बिक्रम तिमिल्सिनाले पाएका छन् ।
प्रतिभा रावल सामान्य प्रशासन मन्त्री भएकी छिन् । उनी पत्रकारिता पृष्ठभूमिकी हुन् । उनलाई रास्वपाले समानुपातिकबाट सांसद बनाएको थियो । रावल रास्वपाकी सहप्रवक्ता समेत हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी विराजभक्त श्रेष्ठले पाएका छन् । काठमाडौं ८ बाट निर्वाचित भएका उनी यसअघि रास्वपा संसदीय दलको नेतासमेत थिए ।

कृषि तथा सहकारी र वन मन्त्रालयको जिम्मेवारी भने गीता चौधरीले पाएकी छन् । उनी रास्वपाको सामानुपातिक सांसद हुन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी भने सोविता गौतमले पाएकी छिन् । चितवन ३ बाट निर्वाचित सोविता कानुनको जानकार तथा अधिवक्ता समेत हुन् । सीता बादी महिला तथा बालबालिकामन्त्री भएकी छिन् भने स्वास्थ्यमन्त्री निशा मेहता बनेकी छन् । भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री सुनील लम्साल बनेका छन् ।

प्रधानमन्त्री शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना मन्त्री महिला बनेका छन् । यो संगै संविधानले भनेको ३३ प्रतिशत महिला सहभागीता सरकारमा भएको छ । बालेन नेतृत्वको मन्त्रिपरिषदमा दुई जना बाहेक सबै नयाँ मन्त्री नियुक्त भएका छन् । शिशिर खनाल र विराजभक्त श्रेष्ठ मात्रै यसपटक दोहोरिएका हुन् ।

मन्त्रिपरिषदलाई सानो र छरितो बनाउने उद्देश्यले चार वटा मन्त्रालयलाई गाभेर मन्त्रालयको संख्या खटाएर १६ वटा बनाइएको छ । यसअघि अलग अस्तित्वमा रहेको युवा तथा खेलकुद मन्त्रालयलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा गाभिएको छ । त्यस्तै, खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभिएको छ ।

वन तथा वातावरण मन्त्रालय पहिलोपटक खारेज भएर कृषि मन्त्रालयमा गाभिएको छ । त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गाभिएको छ । प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय भने आफ्नै साथमा राखेका छन् ।

बालेन नेतृत्वको सरकारमा उद्योगमन्त्री प्रस्तावित गरिएका अमरेश कुमार सिंहले पद अस्वीकार परेपछि यो मन्त्रालय बालेन आफैले राखेका हुन् । बानेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा ४० वर्ष मुनिका युवाहरूको वर्चस्व रहेको छ । १५ सदस्यीय मन्त्रिपरिषद्मा १० जना ४० वर्षमुनिका छन् । प्रधानमन्त्री शाह आफै ३६ वर्षका रहेका छन् ।

शुक्रबार नै प्रधानमन्त्री शाहले मन्त्रिपरिषदको बैठक डाकेर सरकारको कामकारबाहीलाई चुस्तदुरुस्त बनाउन सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन् । सानो तर प्रभावकारी मन्त्रिपरिषद् गठन गरेका बालेनले सय दिनको नतिजामुखी योजना र अनावश्यक सरकारी संरचना खारेज गर्ने एजेन्डामा काम अघि बढाइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका