जोडिनुहोस
शुक्रबार, फाल्गुन ८, २०८२
शुक्रबार, फाल्गुन ८, २०८२
  • होमपेज
  • नेकपा एमालेका १० प्रभावशाली महिला उम्मदेवार, अन्य दलका उम्मेदवारलाई चुनौती

नेकपा एमालेका १० प्रभावशाली महिला उम्मदेवार, अन्य दलका उम्मेदवारलाई चुनौती

आसन्न प्रतिनिधिसभा चुनावका लागि नेकपा एमालेले देशैभरी प्रत्यक्षतर्फ १६४ उम्मेदवार उठाउदा जम्मा १० जना मात्र महिला उम्मेदवार उठाएको छ । यद्यपी, आ–आफ्नो क्षेत्रमा प्रभाव जमाएका एमालेका १० महिला उम्मेदवार नै अन्य दलका उम्मेदवारका लागि भारी पर्ने देखिन्छ । एमालेले कोशीबाट ३, मधेशबाट ४, गण्डकीबाट २ र लुम्बिनीबाट १ गरी १० जना महिला उम्मेदवार उठाएको छ ।

यी १० क्षेत्र मध्ये गत चुनावमा सुनसरी ३, बारा ३ र धनुषा ३ मा तीनै जना महिला उम्मेदवार विजयी भएका थिए । ०७९ मा कास्की २ मा विद्या भट्टराईले पनि चुनाव जितेकी थिईन् तर यसपटक उनी उम्मेदवार छैनन् । आसन्न फाल्गुन २१ को चुनावमा एमालेले प्रत्यक्षतर्फ महिला उम्मेदवारको जीतको संख्या बढाउने दाउमा छ । त्यसैले, चुनावी रणनीति र घोषणापत्र बारे छलफल गर्न बुधबार प्रत्यक्षतर्फका १० जनै महिला उम्मेदवारलाई पार्टीले काठमाडौं ढाकेको छ ।

kalpana Rai, UML candidate, Solukhumbu

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको कोशी प्रदेशको सोलुखुम्बुमा एमालेले यसपटक कल्पना राईलाई अघि सारेको छ । यस क्षेत्रमा नेपाली कांग्रेसबाट प्रकाश सिंह कार्की, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट अशिम राई उम्मेदवार छन् । ०७९ को चुनावमा यो क्षेत्रमा एमालेका मानवीर राईले निकटतम प्रतिद्धन्द्धी कांग्रेसका बलबहादुर केसीलाई हराउदै जित निकालेका थिए । सोलुखुम्बु जिल्ला कमिटीको सचिव रहेकी कल्पना ०७४ को स्थानीय तह निर्वाचनमा सोलुदूधकुण्ड नगरपालिकाको उपमेयर समेत भएकी थिइन् । सोलुका सात गाउँपालिका र एक नगरपालिका मध्ये ४ गाउँपालिका र एक नगरपालिकामा कांग्रेसकै बर्चस्व हुदा एमालेलाई जीत निकाल्न चुनौतीपूर्ण नै देखिन्छ ।

Ashmita Thapa, UML candidate, Okhaldhunga

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको कोशीको ओखलढुंगामा पनि एमालेले अस्मिता थापालाई उम्मेदवार बनाएको छ । एमालेको पुष पहिलो साता सम्पन्न गरेको ११ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा विजयी भएकी थिईन् । लिखुँ गाउँपालिकाको उपाध्यक्ष पदबाट राजीनामा दिएर उनी संसदीय चुनावमा होमिएकी छन् । यस क्षेत्रमा ०७९ को चुनावमा कांग्रेसका रामहरी खतिवडाले एमालेका यज्ञराज सुनुवारलाई हराएर चुनाव जितेका थिए । कांग्रसभित्रको फेरिएको सत्ता नेतृत्वका कारण यसपटक रामहरीले टिकट पाएनन् । यस क्षेत्रमा कांग्रेसबाट कुमार लुँइटेल, नेकपाबाट अम्बिरबाबु गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विश्वराज पोखरेल उम्मेदवार छन् । रामहरी नहुदा अस्मिता यस क्षेत्रमा जित निकाल्ने सुरमा छिन् । यद्यपी, रास्वपाको बढ्दो लहर साथै ओखलढुंगाका ७ गाउँपालिका र एक नगरपालिका मध्ये ३ गाउँपालिका र एक नगरपालिकामा कांग्रेस नै अग्रस्थानमा हुदा अस्मितालाई चुनाव जित्न त्यति सहज भने छैन ।

Bhagwati Chaudhary, UML candidate, Sunsari-3

कोशी प्रदेशबाटै सुनसरी–३ मा उम्मदेवार बनेकी भगवती चौधरी ०७९को प्रतिनिधिसभा निर्वाचनमा कांग्रसेका शक्तिशाली उम्मेदवार विजय गच्छदारलाई हराउदै सुनसरी–३ बाट निर्वाचित भएकी थिईन् । उनी महिलामन्त्री समेत भइसकेकी छन् । यो पटक पनि उनी तिनै गच्छादारसँग भिड्दै छिन् । चौधरी यसपटक पनि फेरि जित निकाल्ने सुरमा छिन् ।

यता, मधेशबाट बारा–३ मा एमालेबाट ज्वालाकुमारी साह उम्मेदवार बनेकी छन् । ०७९ को चुनावमा पनि साहले नै जित निकालेकी थिईन् । अघिल्लो पटक जनता समाजवादी पार्टीका निकटतम प्रतिस्पर्धी रामबाबु कुमार यादवलाई हराएकी साह यो पटक पनि तीनैसँग प्रतिस्पर्धा गर्दै छिन् । यस क्षेत्रमा कांग्रेसका फरमुल्लाह मन्सुर पनि साहका लागि चुनौती बनेका छन् । महोत्तरी–४ मा एमालेले निलम अधिकारीलाई उम्म्ेदवार बनाएको छ ।

स्थानीय राजनीतिमा काम गर्दै आएकी निलमसँग केन्द्रको संसदीय राजनीतिको अनुभव भने छैन । यस क्षेत्रमा अघिल्लो पटक एमालेले उम्मेदवार उठाएको थिएन । ०७९ को चुनावमा कांग्रसेका महेन्द्रकुमार राय विजयी भएका थिए । अहिले पनि उनी नै उम्मेदवार हुदा निलमलाई जित निकाल्न सहज छैन ।

Julikumari Mahato, UML candidate, Dhanusa-3

एमालेको तर्फबाट धनुषा–३ मा उम्मदेवार बनेकी जुलीकुमारी महतो यसपटक पनि जित निकाल्ने रणनीतिमा छिन् । ०७९ को चुनावमा पनि यस क्षेत्रबाट उनले नै जित निकालेकी थिईन् । अघिल्लो पटक तत्कालिन लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अनिल झालाई करिब १० हजार मतले हराउदै चुनाव जितेकी जुलीलाई यसपटक जित निकाल्न सहज छैन । यस क्षेत्रमा कांग्रेसका प्रभावशाली उम्मेदवार विमलेन्द्र निधि मैदानमा छन् । एमालेका उपमहासचिव रघुवीर महासेठकी श्रीमतीसमेत रहेकी महतो पूर्वमन्त्री समेत हुन् ।

एमालेबाट पर्सा–२ मा रिमाकुमारी यादव उम्मेदवार छिन् । एमाले–जसपा गठबन्धनका कारण ०७४ र ०७९ मा आफ्नो उम्मेदवार नउठाएको एमालेले यसपटक सामाजिक कार्यमा सक्रिय रिमालाई टिकट दिएको छ । यस क्षेत्रमा ०७९ मा कांग्रेसका अजय चौरासियाले चुनाव जितेका थिए भने यसपटक पनि चौरासिया नै उम्मेदवार बनेका छन् ।

गण्डकीबाट बागलुङ–२ मा मञ्जु शर्मा उम्मदेवार बनेकी छन् । उनी ०७९ को चुनावमा तत्कालिन माओवादीका नेता देवेन्द्र पौडेलसँग हारेकी थिईन् । यस क्षेत्रमा ०७४ र ०७९ दुबै चुनावमा देवेन्द्रले नै चुनाव जितेका छन् । यसपटक भने तत्कालिन माओवादी नेपाली कम्युनिष्ट पार्टी, नेकपामा गाभिएको छ । यस क्षेत्रमा नेकपाबाट ज्ञामनाथ गैरे, कांग्रेसबाट टेकराज पौडेल उम्मेदवार छन् । देवेन्द्र पौडेल उम्मेदवार नहुदा मञ्जु चुनाव जित्ने रणनीतिमा छिन् ।

Bhagwati Neupane, UML candidate, Tanahun- 1

यता, तनहुँ–१ मा एमालेले भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ । भगवती पूर्वमन्त्री साथै राष्ट्रिय सभा सदस्य समेत हुन् । राष्ट्रियसभा सदस्यबाट राजीनमा दिएर उनी प्रतिनिधिसभा निर्वाचनमा होमिएकी हुन् । यद्यपी, यस क्षेत्रमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपाका स्वर्णीम वाग्ले, कांग्रेसका गोविन्द भट्टराई जस्ता प्रभावशाली उम्मदेवारहरुसँग भिड्दै छिन् । ०७९को चुनावमा कांग्रेसबाट राष्ट्रपति भएका रामचन्द्र पौडेलले जितेको क्षेत्र हो । ०८० को उपनिर्वाचनमा रास्वपाबाट स्वर्णीम वाग्लेले कांग्रेसका भट्टराईलाई हराएर जित निकालेका थिए । यसपटक पनि स्वर्णिम नै जित निकाल्ने सुरमा देखिन्छन् तर सहज भने देखिदैन ।

साथै, एमालेले लुम्बिनीबाट बर्दिया–२ मा विमला विकलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा अघिल्लो चुनावमा स्वतन्त्र उम्मेदवार लालबीर चौधरीले चुनाव जितेका थिए भने तत्कालिन माओवादीका सुरेश पन्थ दोस्रो र एमालेका पंकजसिंह राठौर तेस्रो भएका थिए । यसपटक नेकपाबाट तीनै सुरेश पन्थ उम्मेदवार बनेका छन् भने कांग्रेसबाट किशोरसिंह राठोर चुनावी मैदानमा छन् । एमलेले उठाएको १० महिला उम्मेदवार मध्ये कोही संसदीय राजनीतिको यात्रामा परिक्षित भइसकेका छन् भने केही नयाँ अनुहार छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका