
नेपालको सांस्कृतिक मूल्य र आध्यात्मिक चेतनालाई प्रवर्धन गर्ने उद्देश्यसहित आगामी वैशाख २७ गते (१० मे २०२६) आइतबार काठमाडौँमा ‘गीता मैत्री मिलन’ कार्यक्रम आयोजना हुने भएको छ ।
गीता परिवार नेपाल द्वारा आयोजित उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ९ बजेदेखि सुरु हुने आयोजकले जनाएका छन् । कार्यक्रममा भारत अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र न्यासका कोषाध्यक्ष तथा गीता परिवारका संस्थापक स्वामी गोविन्द देव गिरि महाराजको विशेष सान्निध्यता रहनेछ । कार्यक्रममा करिब १३०० जनाको सहभागिता रहने अनुमान गरिएको छ ।
वि सं २०७७ मङ्सिर ३ गते (पाण्डव पञ्चमी) मा स्थापना भएको गीता परिवार नेपालले छोटो अवधिमै उल्लेखनीय विस्तार गरेको छ । पाँच जना सेविबाट सुरु भएको अभियान अहिले करिब ५०० सेवी र १५ हजारभन्दा बढी सदस्य आबद्ध भएको संस्थामा परिणत भएको छ । साथै, यो संस्था ‘प्रथम अन्तर्राष्ट्रिय शाखा’का रूपमा चयन हुनु नेपालीका लागि गर्वको विषय भएको छ ।
संस्थाले बालबालिकामा नैतिक मूल्य विकास गर्न ‘बाल संस्कार वर्ग’ सञ्चालन गर्दै आएको छ । श्रीमद्भगवद्गीताको शुद्ध उच्चारणसहित निःशुल्क प्रशिक्षण अनलाइन तथा अफलाइन माध्यमबाट प्रदान गरिँदै आएको छ ।
डिजिटल माध्यमको प्रयोग गर्दै अडियो–भिडियो र लिखित सामग्रीमार्फत गीता शिक्षण गरिँदै आएको छ। दैनिक रूपमा बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्म विभिन्न समय तालिकामा १०० भन्दा बढी जुम कक्षामार्फत गीता श्लोक अभ्यास सञ्चालन भइरहेको संस्थाले जनाएको छ । यसका अतिरिक्त साप्ताहिक तथा दैनिक पारायण, विष्णुसहस्रनाम र रामरक्षा स्तोत्रजस्ता आध्यात्मिक गतिविधिहरू पनि सञ्चालन हुँदै आएका छन् ।
संस्थाले भगवद्भक्ति, गीता, मातृभूमि, विज्ञाननिष्ठा र स्वामी विवेकानन्दको आदर्शलाई आधार मानेर समाज विकास गर्ने पाँच सूत्रीय मूलमन्त्र अघि सारेको छ।
सहभागिताका लागि आह्वान
नेपालको भौगोलिक विकटता र प्राविधिक चुनौतीका बाबजुद गीता चेतनाको विस्तार गर्ने लक्ष्यसहित आयोजना हुन लागेको ‘गीता मैत्री मिलन’ कार्यक्रममा सहभागी भई आध्यात्मिक अभियानलाई सफल बनाउन आयोजकले धर्मानुरागी, सञ्चारकर्र्मी तथा सर्वसाधारणलाई आह्वान गरेको छ।
थप जानकारी
गीता परिवार नेपाल, काठमाडौ
९८५११३८३२७




































