
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको बिकल्प खोजे देश अर्को दुर्घटनामा पर्न सक्ने बताउनुभएको छ ।
सोमबार काठमाडौंको वानेश्वर बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा प्रचण्डले मुलुकलाई निकास दिन सवैभन्दा राम्रो बिकल्प निर्वाचन भएको भन्दै अन्य बिकल्प खोजे अर्को दुर्घटनामा पर्न सक्ने बताउनुभएको हो । देशमा राजनीतिक स्थायीत्व र स्थीरताका लागि सवै राजनीतिक दलहरु निर्वाचनमा सहभागी हुने वातावरण बनेको उहाले बताउनुभयो ।
उहाले सङ्कटमा परेको राष्ट्रलाई सबै मिलेर निकास दिनुपर्ने भन्दै राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा आएको बताउनुभयो । त्यस्तै प्रचण्डले नवयुवा पुस्ता राजनीतिप्रति रुचि राख्दैन भन्ने भ्रम जेनजी आन्दोलनले गलत सावित गरिदिएको भन्दै सचेत र जिम्मेवारीपूर्ण ढङ्गले युवाहरु आन्दोलित हुन चाहेको धारणा राख्नुभयो । शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई निकास दिन युवाहरुको साथ अपरिहार्य रहेको उहाको भनाइ छ ।
प्रचण्डले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वभित्र पर्ने भएकाले त्यस क्षेत्रको सुधार अपरिहार्य भएको बताउनुभयो । सामुदायिक शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धिमा आफ्नो साथ रहने उहाको भनाइ छ ।






































