
काठमाडौँ । गीता परिवारले काठमाडौँमा ‘गीता मैत्री मिलन २०८३’ आयोजना गर्ने भएको छ। श्रीमद्भावगद्गीताको अध्ययन, साधना र जीवन अभ्यासलाई निशुल्क विश्वभर विस्तार गर्दै आएको गीता परिवारले आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।
विश्वभर करिब १४ लाखभन्दा बढी व्यक्तिलाई १४ भाषामार्फत गीता अध्ययन गराउँदै आएको गीता परिवारले नेपालमा पनि आफ्नो अभियानलाई तीव्र बनाएको हो ।
कार्यक्रम व्यवस्थापनका लागि गीता परिवार नेपालका संस्थापक तथा संरक्षक जयकिशन सारडाको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
संस्थाकी अध्यक्ष सारिका अग्रवाल, सचिव रामप्रसाद अधिकारीलगायत पदाधिकारी, प्रशिक्षक र गीतासेवीहरू विभिन्न समिति तथा उपसमितिमा सक्रिय रहेको परिवारले जनाएको छ ।

आयोजकका अनुसार आइतबारको आध्यात्मिक तथा नैतिक जागरणलाई केन्द्रमा राखिएको कार्यक्रममा देश–विदेशका गीता साधक, प्रशिक्षक तथा सेवाग्राहीहरूको सहभागिता रहनेछ।
“गीता पढौँ, पढाऔँ र जीवनमा उतारौँ” भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा बिहान ९ बजे कमलादी गणेशस्थानबाट शोभायात्रा शुरू गरिनेछ। साढे ९ बजेदेखि १ बजेसम्म प्रज्ञा भवनमा औपचारिक शुभारम्भ गरिने छ।
कार्यक्रममा गीता परिवारका संस्थापक स्वामी गोविन्द देव गिरी महाराजको विशेष सान्निध्य रहनेछ। उनी श्रीराम जन्मभूमि तीर्थ क्षेत्र न्यासका कोषाध्यक्षसमेत हुन् । साथै गीता परिवारका अन्तर्राष्ट्रिय कार्याध्यक्ष डा. आशु गोयलसहित विभिन्न देशका साधक तथा पदाधिकारीको पनि उपस्थिति रहने भएको छ।
कार्यक्रम यूट्युब, जुमलगायत डिजिटल माध्यमबाट लाखौँ दर्शकले अवलोकन गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
२०७७ साल मंसिर ३ गते स्थापना भएको गीता परिवारमा नेपालबाट १५ हजारभन्दा बढी सेवाग्राही आबद्ध रहेका छन् ।


































