
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले परिवर्तन र रूपान्तरणको चरणमा नागरिकले केही दुःख भोग्नुपर्ने अवस्था आउनु स्वाभाविक भएको बताएका छन्।
सरकारले डोजर चलाएर सुकुम्बासी बस्ती खाली गराएको सन्दर्भमा सोधिएको प्रश्नमा उनले यस्तो बताएका हुन्। उनले आगामी पुस्तालाई समस्यारहित भविष्य हस्तान्तरण गर्न वर्तमान पुस्ताले केही कष्ट सहन तयार हुनुपर्ने धारणा राखे।
पछिल्लो समय सरकारले अव्यवस्थित सुकुम्बासी बस्ती हटाउने नीति लिएको छ। जसका कारण लामो समयदेखि बसोबास गरिरहेका नागरिक विस्थापित भएका छन्।
यसै सन्दर्भमा सञ्चारकर्मीले ‘बस्तीबाट निस्किएका अधिकांश सुकुम्बासीहरू अब सरकारले भूमिहीनलाई जग्गा दिन्छ भनेर खुसी देखिएका छन्’ भनी राखेको जिज्ञासामा सभापति लामिछानेले सरकारप्रतिको जनविश्वासले यस्तो सकारात्मक वातावरण बनेको बताए।
सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले भने, ‘सरकारप्रति नागरिकको विश्वास भयो भने यस्तो वातावरण बन्छ। सरकारले केही न केही राम्रो गर्छ, व्यवस्था गर्छु भनेको छ भने विश्वास गरौँ न त भन्ने वातावरण बनेको हुन सक्दछ।’
नागरिकको विश्वास प्राप्त गर्नु नै सरकारको सबैभन्दा ठूलो उपलब्धि हुने उनको भनाइ छ। सरकार बन्ने र ढल्ने प्रक्रियालाई सामान्य राजनीतिक घटनाक्रमका रूपमा अर्थ्याउँदै उनले विगतमा दुई तिहाइ बहुमतका सरकार पनि नटिकेको स्मरण गराए।
तर, जुन सरकारले जनताको विश्वास जितेको हुन्छ, त्यस्ता सरकारका हरेक कदममा नागरिकले स्वतःस्फूर्त रूपमा साथ दिने उनले सुनाए।
‘जनताको विश्वास भएको सरकार भयो भने नागरिकले पनि कोअपरेट गर्नुहुन्छ, नागरिक पनि सँगसँगै हामी पनि छौँ साथमा भन्नुहुन्छ,’ सभापति लामिछानेले भने, ‘अलिकति दुःख त हुन्छ किनभने परिवर्तनको यो सङ्घारमा, यो ट्रान्जिसनमा कहीँ न कहीँ अलिकति दुःख त सबैलाई हुन्छ।’
रास्वपा सभापति लामिछानेले राजनीतिक दलहरूले एउटा चुनावबाट अर्को चुनावको जोडघटाउ मात्रै हेर्न नहुने बताए। देश विकास र नागरिकको व्यवस्थापनका लागि एक पुस्ताबाट अर्को पुस्तामा रूपान्तरणको एजेन्डालाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए।
‘हामीले त एउटा चुनावबाट अर्को चुनाव हेर्ने होइन नि, हामीले त एउटा पुस्ताबाट अर्को पुस्तामा जाने हो,’ उनले थपे, ‘अब आउने पुस्ताले हामीले भोगेको जस्तो पीडा, समस्याहरू भोग्न नपरोस् भन्नका लागि काम गर्दा तपाईं हाम्रो पुस्ताले थोरै समस्याको सामना गर्नुपर्छ। तर यसलाई नियमित प्रक्रिया हो भनेर मानिदिइयो भने भोलिका लागि, भविष्यका लागि राम्रो हुन्छ।’
यसका साथै, नेताहरू भौतिक रूपमा हरेक नागरिकको घरमा पुग्न असम्भव भए पनि राज्यको नीति भने पुग्नुपर्ने उनको तर्क छ। वर्तमान सरकार र राज्यसत्ताको नीति नागरिकको घरदैलोमा पुगेमा मात्र उनीहरूको जीवनमा सहजता आउने उनले प्रस्ट पारे।
राज्यको स्पष्ट नीति र नियत सही हुँदा डोजर चलेर विस्थापित हुनुपर्दा पनि नागरिकले भोलिको सुन्दर भविष्य सम्झेर सरकारलाई साथ दिने उनको भनाइ थियो।





































