राजनीति
शान्तिपूर्ण वातावरणमा निर्वाचन भए बहुमत ल्याउन एमाले तयार – केपी ओली ( भिडियाेसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण वातावरणमा निर्वाचन भए जनताकाबीचमा गएर बहुमत ल्याउन एमाले तयार रहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकहरुलाई सम्मान र प्रमाणपत्र वितरण गर्दै अध्यक्ष ओलीले आफूहरु प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा रहे पनि शान्तिपूर्ण वातावरणमा चुनाव हुने भने त्यसको सामना गर्न र जनताकाबीचमा गएर बहुमत ल्याउन एमाले तयार रहेको बताउनुभएको हो ।
ओलीले आफूहरु चुनावविरोधी नरहे पनि मुलुकमा त्रास र असुरक्षाका बीच निर्वाचनको वातावरण नहुने बताउनुभयो । राष्ट्रपतिले गरेको छलफलका क्रममा सरकारलाई सुरक्षाका बारेमा जानकारी गराउदा पनि अवस्थामा भने खासै परिवर्तनको महशुस हुन नसकेको उहाको भनाइ छ । उहाले अहिले पनि जेनजीका नाममा त्रास सिर्जना गर्ने काम भइरहेको बताउनुभयो । अध्यक्ष ओलीले जेनजीका नाममा अरुले नै फाइदा उठाउन खोजेकाले देशलाई पछाडि फर्काउने पक्षहरुबाट सचेत भएर युवाहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले जेनजी आन्दोलनमा सुरक्षाकर्मीले परिस्थितिलाई विचार गरेर सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षाका लागि निर्णय गर्ने अधिकार पाएको हुनाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयान लिने प्रयास कानुन विपरीत रहेको धारणा राख्नुभयो ।
उहाले देशको राष्ट्रिय स्वाभिमानमाथि कसैले प्रश्न उठाए सह्य नहुने समेत बताउनुभयो । ओलीले देशको बिकासका योगदान दिन युवाहरुलाई आह्वान समेत गर्नुभयो ।








































