Friday April 19, 2024 | |

प्रहरीका हाकिम नै बलात्कारीको मतियार, १ बर्षमा मात्रै ९ सय ४६ जना बलात्कारको शिकार

featured-news

काठमाडौं । पछिल्लो सममा दुई वटा घटना चर्चामा छन् – एउटा दरवारमार्ग बलात्कार प्रकरण र अर्को इटहरीको बलात्कार प्रकरण । यी दुई घटना चर्चामा आउनुको पछाडी एउटै कारण छ । त्यो हो, रक्षक नै बनेको भक्षक । हुनपनि बलात्कार जस्तो जघन्य अपराधको दुईवटै घटनामा प्रहरीको मिलेमतो देखिएको छ ।
घटना नम्बर १ – दरवारमार्गमा बलात्कार प्रकरण
माघ ७ गते राती, काठमाडौंको दरवारमार्ग स्थित ल्याण्डमार्क होटलमा एक युवती बलात्कारको शिकार बनिन् । त्यो पनि आफ्नै प्रेमी शैलेस कार्की र उनकै अरु तीनजना साथीहरुबाट । घटना पछि मोटो रकमको डिल गर्दै घटना लुकाउने प्रयास भयो । केहि दिन सम्म घटना गुपचुप नै राख्न अभियुक्तहरु सफल भएपनि अन्तत: घटनाको बास्तविकता बाहिरीयो । घटनाको बास्तविकता बाहिरिएसँगै दोषीलाई उन्मुक्ति दिन प्रहरीकै मिलेमतो भएको रहस्य खुल्यो । प्रहरी प्रवक्ता मनोज नेउपानेका अनुसार, प्रहरीले नै घटना गुपचुप राखेको आरोपमा अहिले, महानगरीय प्रहरी वृत्त दरबारमार्गका ईन्सपेक्टर लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा परिसकेका छन् ।
इन्सपेक्टर र सई मात्र होइन, बृत्तका इन्चार्ज डिएसपी तिलक भारतीलाई पनि बृत्तबाट हटाएर प्रहरी प्रधान कार्यालयले अनुसन्धान गरिरहेको छ । यो घटनामा सहयोगीको भूमिका निर्वाह गरेको अरोपमा ल्याण्डमार्क होटलका दुई कर्मचारी पक्राउ परेका छन् भने मुख्य अभियुक्त सहित चार जना अझै फरार छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुक उनिहरुको खोजी भइरहेको बताउँछन् ।
घटना नम्बर २ – इटहरीमा बलात्कार प्रकरण
दरवारमार्गको बलात्कार घटनाको अनुसन्धान चलिरहेकै बेला इटहरीको हलगढाबाट अर्को घटना बाहिर आयो । १४ बर्षीया बालीका आफ्नै प्रेमी र उनको साथीबाट बलात्कृत भएको इटहरीको घटना पनि दरवारमार्ग सँग मिल्दो जुल्दो देखियो । पुस १६ गते नै ईटहरी २ हलगढास्थित रोयल रिसोर्टमा बालीका आफ्नै प्रेमी जोकम लिम्बु र साथी मनिष श्रेष्ठबाट बलात्कृत भएकी थिईन् । लगत्तै यो घटना प्रहरीमा पुगेपनि प्रहरीले मिलेमतोमा गुपचुप राखेको थियो । यो घटना बाहिरीएपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयका एसपी विद्यानन्द माझी र इलाका प्रहरी कार्यालयका ईन्स्पेक्टर चिरञ्जीवी दाहाललाई निलम्बन गरिसकेको छ । प्रहरी प्रवक्ता मनोज नेउपाने भन्छन् – प्रहरी नै बलात्कार जस्तो जघन्य अपराधका अभियुक्त जोगाउन तर्फ लाग्नु सामान्य घटना होइन त्यसैले दोषीलाई नियम अनुसार कारवाही हुन्छ ।
बलात्कारी जोगाउने प्रहरी हर्कत विडम्वना पुर्ण – पूर्वडिआइजी केशव अधिकारी
दरवारमार्ग र इटरहरीका दुई घटनामा देखिएको प्रहरीको मिलेमतोले प्रहरीको शाखमाथि नै हिलो छ्याप्ने काम गरेको छ । पूर्वडिआइजी केशव अधिकारी भन्छन् – ७३ हजार भन्दा बढी जनशक्ति भएको प्रहरी संगठनको सदस्यहरुबाट यस किसिमका हर्कत हुनु कदापी स्वभनिय होइन । यसले प्रहरीमाथिको जनविश्वास घटाउँदै लैजान्छ । अर्कातिर प्रहरी भित्रको कमजोरीपनि उदाङ्गो पारेको छ । अधिकारी थप्छन् – दुईवटै घटनमा संलग्न प्रहरी अधिकारीहरुलाइ राजनीतिक संरक्षण छ । जब सम्म राजनीतिक संरक्षण हाबी हुन्छ तव सम्म प्रहरीको काममा सुधार आउँदैन । त्यसैले यसतर्फ प्रहरी नेतृत्वको ध्यान पुग्नु जरुरी छ ।
प्रत्येक बर्ष ९ सय ४६ जना बलात्कारको शिकार
गएको ७ वर्षमा मात्रै ६ हजार ६ सय २७ जना बलात्कारको शिकार भएको नेपाल प्रहरीको तथ्याङ्क छ । जसमध्ये ४ हजार ५ सय ८९ जनाको बलात्कारपछि उद्धार गरिएको छ भने २ हजार ३८ जनाको बलात्कारपछि हत्या गरिएको रेकर्डमा उल्लेख छ । प्रत्येक वर्ष ९ सय ४६ जना बलात्कारको शिकार हुन्छन् भने प्रत्येक महिना ७८ जना पीडित हुने प्रहरी अनुसन्धान रिपोर्टमा उल्लेख छ । तथ्याङ्क अनुसार, पूर्वी नेपालमा सबैभन्दा धेरै १ हजार ३ सय ४३ जनाको बलात्कार तथा ५ सय ८९ जनाको बलात्कार पश्चात हत्या गरिएको छ । त्यस्तै पश्चिम नेपालमा २ सय ७७ जना बलात्कारको शिकार भएका छन् भने १३८ जनाको बलात्कार पछि हत्या भएको छ । काठमाडौं उपत्यकामा मात्रै ६ सय १० जनाले बलात्कारको उजुरी दर्ता गरेका थिए । १ सय ५५ जनाको बलात्कार पछि हत्या भएको छ ।
कानून अनुसार : गल्ती प्रमाणित भएको र पीडित १० वर्षभन्दा मुनीको छ भने १० देखि १५ वर्ष जेल सजाय तथा पीडित १० वर्षभन्दा माथि र १६ वर्ष भन्दा मुनीको छ भने ७ देखि १० वर्ष जेल सजाय हुने प्राबधान छ । त्यस्तै, १६ वर्षभन्दा माथिको हकमा ५ देखि ७ वर्ष सम्म जेल सजाय हुने प्राबधान रहेको छ । तर, कानुन जति नै कडा भएपनि घटना भने झन् झन् बढीरहेका छन् । विशेष गरी तराई तथा दुरदराजका ग्रामिण भेगमा बलात्कारको घटना बढ्दै गएपनि यस्ता धेरै घटनाहरु गुपचुप रहने गरेका छन् । बलात्कारको घटनामा पीडित आफैले पनि सामाजिक प्रतिष्ठा विग्रने डरले सूचना लुकाउने गरेका छन् । पूर्व डिआइजी केशव अधिकारीका अनुसार घटना न्यूनीकरणका लागि प्रहरी अनुसन्धान बलियो र निश्पक्ष मात्र होइन, पीडित स्वयम पनि जागरुक हुनुपर्छ । बलात्कारका घटना न्यूनिकरणका लागि पीडित पक्ष पनि सतर्क हुनुपर्छ । तर, रक्षक नै भक्षक बनेको अवस्थामा भने घटना न्यूनिकरणको अपेक्षा गर्न सकिदैन । त्यसैले यस तर्फ कानुन कार्यान्वय गर्ने जिम्मेवारी लिएर बसेकाहरुको ध्यान पुग्नै पर्छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार