काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा सम्पन्न ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन (एफएफडी–४)’मा सहभागिता जनाई स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, संस्कृति तथा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले स्वागत गरेका थिए।
प्रधानमन्त्री ओली स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको निमन्त्रणमा असार १६ गते त्यसतर्फ प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले स्पेनका नरेश फिलिपे छैटौं, समकक्षी सान्चेजलगायत विभिन्न राष्ट्र प्रमुख र संस्थागत प्रतिनिधिसँग भेटवार्ता गरेका थिए।
सम्मेलनमा नेपालले अल्पविकसित र साना मुलुकहरूको विकास चुनौतीबारे धारणा राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ। दिगो विकासका लागि वित्तीय स्रोत जुटाउने विषयमा केन्द्रित सम्मेलनमा प्रधानमन्त्री ओलीसँग उनकी पत्नी राधिका शाक्यसहित नेपाली प्रतिनिधिमण्डल सहभागी थियो।
तर, यसपटक प्रधानमन्त्रीले भ्रमणबारे पत्रकारमाझ आफैं उपस्थित भएर जानकारी गराएनन्। परराष्ट्र सचिव अमृतबहादुर राईले प्रेस नोट वाचन गरी भ्रमण विवरण सार्वजनिक गरे। प्रधानमन्त्री सचिवालयका अनुसार, ‘आज नबोल्ने भनेरै’ प्रधानमन्त्री मौन बसेका हुन्।
विदेश भ्रमणपछि पत्रकारमाझ साक्षात्कार दिने प्रधानमन्त्री ओलीको विगतको अभ्यासका विपरीत यसपटकको मौनता अपवादको रूपमा देखिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया