
प्रतिनिधिसभा प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको बागमती प्रदेशमा राजनीतिक दलहरु चुनावी हिसाबकिताब गरिरहेका छन् । सातै प्रदेशमध्ये बागमतीको १३ जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबैभन्दा बढी ३३ सिट रहेको छ । यी ३३ सिटमा दलका उम्मेदवारहरु आफ्नो पक्षमा जित निकाल्न चुनावी मैदानमा छन् । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरुले ३३ वटै क्षेत्रमा आ—आफ्ना उम्मेदवार उठाएका छन् ।
अधिकांश नयाँ उम्मेदवार उठाएको कांग्रेसलाई यसपटक पुरानो विरासत जोगाउन सहज छैन । ०७९ को चुनावमा कांग्रसले तत्कालिन माओवादी र एकीकृत समाजवादी दलसँग एकता गरेर बागमतीमा १३ सिट आफ्नो पक्षमा पारेको थियो । अघिल्लो पटक भारी मतले जीत निकालेका बागमती प्रदेश अन्तर्गतका काठमाडौं १ का प्रकाशमान सिंह, काठमाडौं ३ का सन्तोष चालिसे, काठमाडौं १० का राजन केसी, नुवाकोट २ का अर्जुननरसिंह केसी, रामेछापका कान्छाराम तामाङ, सिन्धुपाल्चोक २ का मोहन बस्नेत, धादिङ २ का रामनाथ अधिकारी जस्ता नेताहरु यो पटक चुनावमा उठेका छैनन् । कांग्रेसभित्रको बदलिएको सत्ता नेतृत्वका कारण अधिकांश नेताहरु चुनावी प्रचारप्रसारमा पनि जुटेका छैनन् । जसले आसन्न फाल्गुन २१ को चुनावमा असर पु¥याउने देखिन्छ ।
अघिल्लो चुनावमा बागमती प्रदेशभरी जम्मा ४ सिट जितेको एमाले यसपटक सिट बढाउने तयारीमा छ । तर, एमालेलाई पनि यो पटक पुरानो सिट जोगाउन मुश्किल छ । ०७९ मा काभ्रे २ मा गोकुल बास्कोटाले चुनाव जितेको यसपटक एमालेले अशोक श्रेष्ठलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा अशोकलाई कांग्रेसका मधु आचार्यले चुनौती दिएका छन् । त्यस्तै, काठमाडौं ९ मा कृष्णगोपाल श्रेष्ठले चुनाव जितेकोमा यसपटक पार्टीले अजयक्रान्ति शाक्यलाई टिकट दिएको छ । यस क्षेत्रमा कांग्रेसबाट नानुमैया बाँस्तोला, रास्वपाबाट डोलप्रसाद अर्याल उम्मेदवार छन् । काठमाडौं १ मा कांग्रेसका प्रबल थापा, राप्रपाका रविन्द्र मिश्र, रास्वपाका रञ्जु दर्शना लगायतका प्रभावशाली उम्मेदवारहरु भिड्दै छन् । काठमाडौं ४ मा काँंग्रेसका नयाँ उम्मेदवार सचिन तिमल्सेना, एमालेका राजन भट्टराई, रास्वपाका पुकार बमसँग भिड्दै छन् । अघिल्ला तीन चुनावमा लगातार जितेका कांग्रेस सभापति गगन थापाले यो क्षेत्र छोडेसँगै एमालेका राजन यसपटक जितको डन्का पिट्ने सुरमा छन् ।
यता, बागमती अन्तर्गतकै क्षेत्रहरुमा अघिल्लो आमचुनावमा ७ सिट जितेको रास्वपा यस पटकको निर्वाचनमा आफ्नो सिट संख्या बढाउने रणनीतिमा छ । ०७९ मा रास्वपाले काठमाडौंका चार वटा क्षेत्र, ललितपूरको एक र चितवनको दुई क्षेत्रमा जित निकालेको थियो । सहरी इलाकामा बढी केन्द्रीत भएको रास्वपा बागमतीको ३३ सिटमध्ये बहुसंख्यक सिट आफ्नो पक्षमा पार्ने रणनीतिमा भएपनि विगतको गढ जोगाउदै अन्य दलका प्रभावशाली उम्मेदवारसँग प्रतिस्पर्धा गरेर चुनावी जित निकाल्न सहज भने देखिदैन । बागमती प्रदेश अन्तर्गत चितवन २ बाट रवि लामिछाने, चितवन ३ बाट सोबिता गौतम, चितवन १ बाट हरि ढकाल, धादिङ १ बाट आशिका तामाङ, नुवाकोट २ बाट अच्युत्म लामिछाने, काठमाडौं १० बाट प्रदिप विष्ट, भक्तपूर २ बाट राजीब खत्री, ललितपूर २ बाट जगदिश खरेल उम्मेदवार छन् । भक्तपूर २ मा एमालेका महेश बस्नेत मुख्य प्रतिस्पर्धी बनेका छन् । ललितपूर २ मा जगदिशलाई एमालेका प्रेमबहादुर महर्जन चुनौती बनेका छन् ।
यता, अघिल्लो चुनावमा बागमतीमा प्रत्यक्षतर्फ जम्मा दुई सिट जितेको राप्रपालाई आफ्नो विरासत जोगाउन कठिन छ । बागमतीको प्रत्यक्षतर्फको ३३ सिट दलहरुका लागि चुनावमा निर्णायक बनेको छ ।








































