Saturday April 27, 2024 | |

विशेष छानविन चलिरहेकै बेला पुन: सुन तस्करी

featured-news

काठमाडौं । असार १६ र १७ गते, करिव ४८ घण्टाको अवधिमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले ९ किलो सुना बरामद् गर्‍यो । प्रहरीका अनुसार, शनिवार बरामद् गरिएको ३ किलो सुन तस्करहरुले विमानस्थलबाट भित्र्याएका थिए । त्यस्तै आइतबार बरामद् भएको सुन रसुवानाका बाट भित्रिएको थियो । प्रहरीले रसुवाबाट मोटरसाइकलमा काठमाडौं आउँदै गरेका सिन्धुपाल्चोकका तेन्जिङ तामाङसँग ६ किलो सुन बरामद गरेको हो । महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार, उनी चीनको केरूङ नाकाबाट रसुवा–नुवाकोट–गल्छी हुँदै काठमाडौं आउँदै थिए ।
शनिबार नागढुङगा नाकाबाटै काठमाडौंबाट महेन्द्रनगर तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कारमा ३ किलो सुन बरामद भएको थियो । युके ०२ ४६८४ नम्बरको अल्टो कारको फिल्टर बक्समा टेपले बेरोको अवस्थामा सुन बरामद भएको थियो । प्रहरीले तत्काल गाडीका चालक भारतको उत्तराखण्ड टनकपुरका दीपककुमार मौर्य र कन्चनपुरका मनोज बिकलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । प्रहरी नियन्त्रणमा लिएका दुबैले भारत टनकपुरकै अशोककुमार, सन्जना साह र चन्द्रमोहन जोशीले सुन दिएको बयान दिएका थिए । प्रहरीले तीनजनालाई आइतबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेर सार्वजनिक गरेको थियो ।
सरकारले सुन तस्करीको संगठित अपराध रोक्न बिशेष टोली गठन गरेयता पहिलो पटक हवाई र स्थलमार्गबाट भित्रिएको सुन यतिठुलो परिमाणमा बरामद भएको हो । सरकारले गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले चैत २० देखि कारवाही अघि बढाईरहेको छ । टोलीको अनुसन्धान चलिरहेका बेला नै हवाई र स्थलमार्गबाट भित्रिएको सुन काठमाडौंमा बरामद भएको हो । पछिल्लो समयमा शृङ्खलाबद्ध रुपमा तस्करीको सुन बरामद भएपनि तस्करी भने घटेको छैन । यस्तो छ सुन बरामद्को शृङ्खला ।

कहिले कति भए बारमद ?
२०७४ साल – ११९ केजी
२०७३ साल – ६४ केजी
२०७१ साल – ४५ केजी
२०७० साल – ८९ केजी
२०६९ साल – ८३ केजी

सुन तस्करी अनुसन्धानका लािग बनेको विशेष छानविन समितिका अनुसार, २०६९ देखि २०७५ सम्म विमानस्थलबाट मात्रै तीन हजार आठ सय किलो सुन तस्करी भएको थियो । तर, करिव ५ बर्षको अवधिमा विमानस्थलमा खटिएका सवै जिम्मेवार कर्मचारी तथा सरोकारवाला तर्फ अनुसन्धान अघि बढ्न सकेको छैन । पूर्वडिआइजी हेमन्त मल्लका अनुसार, अपराधको ढाँचा कहाँबाट सुरु भयो र माथिल्लो नेटवर्क र पहुँच कहाँसम्म छ, त्यो केलाउनु आवश्यक छ । अनि सुनको मुख्य लगानीकर्ता को हो यसतर्फ पनि अनुसन्धान हुनु जरुरी छ । जानकारहरुका अनुसार, राजनीतिक नेतृत्वले सुनमा लगानी गर्दैनन् बरु ठूलो परिमाणमा सुन आएपछि सहरमा केहीबेर होल्ड गर्ने र विमानस्थलबाट बाहिर ल्याउन भूमिका खेल्न सक्छन् । अनुसन्धान गर्नेले पहिला मुख्य अपराधीलाई केन्द्रित गर्ने हो, त्यसपछि मुख्य अभियुक्त आफैं खुल्छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार