Thursday January 30, 2020 | |

किन फेर्छन् पीडित र साक्षीले बयान ?

featured-news

अङ्ग्रेजीमा होस्टाइल भन्ने एउटा शब्द छ । अदालती प्रक्रियामा चल्तीमा रहेको यो शब्द नेपाली समाजमा भने त्यति चलेको शब्द होइन । अक्सफोर्ड डिक्सनरी पल्टाउने हो भने होस्टाइलको अर्थ विरोधी वा प्रतिकूल भन्ने उल्लेख गरिएको छ ।

तर कानुनी भाषा र अर्थमा होस्टाइलको अर्थ प्रतिकूल बयान दिनु, पहिले दिएको जाहेरी वा बयानभन्दा फरक हुनेगरी बयान दिनु, पीडक वा अभियुक्तलाई नै सहज हुनेगरी बयान दिनु भन्ने अर्थ राख्छ ।

नेपालको अदालती प्रक्रियामा पनि यसअघिका साक्षी वा पीडितले बयान नफेरेका त होइनन्, तर पछिल्ला घटनालाई हेर्ने हो भने पीडित वा साक्षीले धमाधम बयान फेर्न थालेका छन् ।

बलात्कारको प्रयास गरेको भन्दै तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध एक असोज १२ गते महिलाले प्रहरीको कन्ट्रोल रुममा फोन गरिन् । लगत्तै प्रहरी पुग्यो र महिलाको भिडियो बयानसहित केही सबुत लिएर आए । तर महिलाले तत्कालै स्वास्थ्य परीक्षण गराउन र किटानी जाहेरी दिन मानिनन् ।

असोज १३ गते सोमबार फेरि ती महिलालले एक अनलाइन मिडियामा अन्तरवार्ता दिँदै महराले आफूमाथि के के गरे भनेर बोलिन् ।

तर असोज १३ गते राति मिडियामा महराबारे समाचार सार्वजनिक भएलगत्तै असोज १५ गते नै महिलालले फेरि बयान फेर्न थालिन् । असोज १५ गते अर्को मिडियालाई अन्तरवार्ता दिँदै आफूलाई डर र धम्की देखाएर जबरजस्ती बोल्न बाध्य पारिएको, महरा आफ्नो बुवासमानको व्यक्ति भएको बताइन् ।

त्यसको केही समयपछि फेरि ती महिलाले प्रहरीमा महराविरुद्ध किटानी जाहेरी दिइन् । महराले आफूलाई बलात्कारको प्रयास गरेको र कुटपीटसमेत गरेको जिकिर गर्दै कानुनी कारबाहीको माग गरिन् ।

त्यसलगत्तै महरा पक्राउ परे । महरा पक्राउ परेपछि ती महिलाले फेरि बोली फेरिन् । आफूलाई प्रहरीले जबरजस्ती त्यस्तो किटानी जाहेरी दिन लगाएको भन्दै घटना नै नभएको र त्यस  दिन महरा त्यहाँ नै नआएको कुरा बताउन थालिन् । उनी अदालतसम्म पनि महरा निर्दोष रहेको भन्दै निवेदन लिएर पुगिन् । यद्यपि ती महिलालाई थुनछेक बहसमा बोल्न दिइएन । महरा अन्ततः पुर्पक्षका लागि जेल चलान भए ।

महरा काण्ड सेलाउन नपाउँदै १२ वर्ष पुरानो घटनाका सम्बन्धमा अनुसन्धान गर्न नेपाली काँग्रेसका सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परे । आलम पक्राउ परेलगत्तै रौतहट प्रहरीले धेरै जोखिम मोल्दै मिहिनेत गरेर साक्षीहरु जम्मा गर्यो ।

पीडित परिवारका तर्फबाट पहिले नै परेको किटानी जाहेरीलाई आधार मान्दै प्रहरीले नयाँ परिवारका अन्य सदस्यहरुको बयान गरायो ।

बयान गर्नेमध्ये एक थिइन्, आलमले इँटाभट्टामा जिउँदै जलाएर मारिएका भन्ने ओसी अख्तरकी श्रीमती अमना खातुन ।

कात्तिक २२ गते शुक्रबार जिल्ला अदालतमा आलमविरुद्ध थुनछेक बहस चलिरहेकै बेला आफ्नै बयानको प्रतिकूल हुने गरी अमनाले आफ्नो श्रीमान् वैदेशिक रोजगारीका क्रममा बाहिर रहेको भन्दै आलमले हत्या गर्नै नसक्ने निवेदन बोकेर पुगिन् ।

अदालतले तत्कालै उक्त निवेदन लिन चाहेन । जब कि अमना आफैले श्रीमान्को मृत्यु २०६४ साल चैत २७ गते भएको भन्दै वडा कार्यालयमा निवेदन दिएर त्यहीँबाट मृत्युदर्ता प्रमाणपत्र समेत लिइसकेकी थिइन् ।

आलम प्रकरणमै कात्तिक २५ गते सोमबार फेरि अर्का साक्षी पनि होस्टाइल भइदिए । भारत सीतामढीमा गौरीशङ्कर राम चमार बम विस्फोटमा परी घाइते भएका व्यक्ति हुन् । उनको शरीर र अनुहारभरी घाउको निशान प्रष्ट देख्न सकिन्छ । बमको छर्राले दुवै कानको आकार बिग्रिएको छ ।

Source : ratopati

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार