ढोरपाटन । काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजो आज दिन बिताउन निकै गाह्रो भइरहेको छ । बुढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् । घरको सामान्य काम गरेर दिन बित्दैन । दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकका घर सुनसान बन्दै गएका छन् । छिमेकी धमाधम बसाइसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो महसुस गरी राखेकी छन् । अब गाउँमा मान्छे नै नहुने चिन्ता भण्डारीलाई छ । एक दशक अगाडिसम्म गाउँबाट बसाइसराइ गरेर बजार झर्नेको सङ्ख्या न्यून थियो तर अहिले दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दो छ ।
उनका जवानीमा सँगसँगै मेलापात र घाँस दाउरा गरेका दौँतरी अधिकांश गाउँ छोरेर बसाइँ सरेका छन् । पहिले गाउँमा विकास पुगेको थिएन, स्थानीय दुःख गरेर पनि गाउँमै बस्थे । अहिले गाउँ–गाउँमा टोल–टोलमा विकास पुगेको छ मान्छे छैनन् । गाउँमा ढुङ्गा, माटो र काठले चिटिक्क बनेका घर रित्तिएर सुनसान बन्दै गएका छन् । खेतीयोग्य जमिन बनमाराले ढाकिन थालेका छन् । दशक अगाडिसम्म निकै रमाइलो थियो धम्जा गाउँ तर अहिले बसाइसराइका कारण चहलपहल हराउन थालेको छ । विसं २०६६ मा सडकले जोडिएको धम्जा गाउँमा अहिले विकासले गति लिदै गएको छ तर उपभोग गर्ने स्थानीय थप सेवा सुविधा खोज्दै गाउँ छोड्दै छन् ।
पहिले गाउँमा एकै परिवारले सयौँ बस्तुभाउ पाल्ने खेती किसानी गर्ने गर्थे । सामान्य सेवा लिनका लागि दिनभरि लगाएर बजार धाउनुपर्ने अवस्था थियो तर अहिले त्यो अवस्था हटे पनि गाउँमा मान्छे बस्न छोड्दै छन् । स्थानीय महत्त्वाकाङ्क्षी बन्दै गएपछि गाउँ रित्तिन थालेको चन्द्रकुमारी बताउछिन् । उनले आफ्नो पालामा अहिलेको जस्तो यातायात, खानेपानी, विद्युत् र स्वास्थ्यको सहज पहुँच नभए पनि गाउँमा मान्छेको चाप बढी भएको भन्दै अहिले सुविधा भएर पनि बसाइसराइ गरिरहेको बताइन् ।
‘उति बेला अहिलेको जस्तो मोटर गाडी आउँदैनथे, बाटो नै बनेको थिएन, हामीहरू एक साता लगाएर थाक खोला पुगेर ढिके नुन बोकेर आउँथ्यौँ, स्याङ्जा पुगेर चामल लिएर खान्थ्यौँ, चप्पल लगाउने चलन थिएन, खाली खुट्टा हिँड्थ्यौँ, अहिलेको जस्तो फेसन–फेसनका लुगा थिएनन् भोटो लगाउँथ्यौँ’, उनले भनिन्, ‘बिजुली पनि थिएन, दियालो, टुकी बालेर रात बिताउनुपर्थ्यो, अहिले यस्तो विकास होला भन्ने त सोचेका थिएनौँ, गाउँ पनि धेरै फेरिएको छ, गाउँमा विकास आएर के गर्ने, मान्छे सबै सहर बजारतिर झर्न थाले ।’
स्थानीय ६२ वर्षीय नगेन्द्रबहादुर भण्डारीले रोजगार र विदेश हुने अधिकांश युवाको परिवार सहर बजारमा सुविधा खोज्दै झरेको बताए । उनले पछिल्लो १० वर्षमा धम्जाबाट बसाइसराइ गर्नेको सङ्ख्या बढ्दै गएको सुनाए । चौध वर्ष अगाडि गाउँमा सडक नआउँदासम्म स्थानीय गाउँमै दुःख गरेर बसेको भन्दै गाउँमा विकास आउन थालेपछि बजार भर्न थालेको उनको भनाइ छ । स्थानीय विदेश जना थलेपछि उनीहरूमा महत्त्वाकाङ्क्षा बढी हुँदै गएपछि बसाइसराइ गर्न थालेको भण्डारी बताए ।
उनी भन्छन्, ‘पहिले विदेश जाने सङ्ख्या कम थियो, धेरै गाउँमा खेतीपाती गर्ने, गाउँमै कामधन्दा गर्ने गर्थे, सरकारले विदेश जाने बाटो सहज बनाइ दिएपछि धेरै विदेश जान थाले, पैसा कमाउन थाले त्यसले गर्दा उनीहरूलाई गाउँभन्दा सहर बजार मन पर्न थाल्यो, त्यही भएर अहिले गाउँमा मान्छे कम हुँदै गएका छन्, विदेश हुने धेरैजसो युवाका परिवार अहिले बजारमा छन्, कतिपय आजभोलि नै बजार झर्दै छन्, खै किन यसरी मान्छेहरू गाउँ छोडी राखेका छन् रु, मलाई पनि निकै आश्चर्य लागेको छ, विकास छैन भनौँ भने विकास पनि भएकै छ ।’
सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न सके र गाउँमा स्वरोजगार सिर्जना गर् नसके मात्रै बसाइसराइ रोकिने भण्डारीले बताउछन् । गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारको राम्रो व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । बसाइसराइका कारण यस वडामा रहेका विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि दिनदिनै घट्दै गइरहेको छ ।
काठेखोला गाउँपालिका–३ धम्जाका अध्यक्ष कुलबहादुर विकले बसाइसराइका कारण जनशक्ति अभाव हुँदा विकास निर्माणमा समस्या हुने गरेको बताए । गाउँमा एकै पटक धेरै आयोजनाका काम गर्नु परे उपभोक्ता समितिमा बस्ने मान्छे नहुने उनको भनाइ छ । उनले जनसङ्ख्या बढी भएको ठाउँमा विकास पनि धेरै हुने र आयआर्जन पनि बढी हुने भन्दै यहाँ विकास र आयआर्जन पनि कम हुने गरेको बताए । धम्जाबाट सबैभन्दा बढी पोखरा, बागलुङ, बुटवल र चितवनमा लगायतका सहरमा बसाइसराइ गरेर जानेको सङ्ख्या ठूलो रहेको अध्यक्ष विकको भनाइ छ ।
‘मान्छेहरू अलिअलि पैसा कमाउन थाले भने बजार नै झर्ने गरेका छन्, बसाइसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्ने, पर्यटन प्रवर्द्धन गर्ने, उद्योगधन्दा सञ्चालन गर्ने, स्रोत साधनको पहिचान गरेर उपयोग गरी स्वरोजगार बनाउने कामतर्फ ध्यान दिएका छौँ’, अध्यक्ष विकले भने, ‘हामीहरूले गर्ने प्रयास गर्छौँ, हिजो स्वास्थ्य, शिक्षा, विद्युत्लगायतका विकासका पूर्वाधारले नजोडिँदा गाउँमा बस्ने अहिले सबै पुग्दा पनि बजार झर्ने गरेका छन्, बजारको जस्तो सेवा सुविधा गाउँमा नल्याएसम्म बसाइसराइ रोक्न गाह्रो देखिन्छ ।’
वडा कार्यालयको अनुसार चालु आर्थिक वर्षमा मात्रै धम्जा गाउँबाट १० परिवार बसाइसराइ गरेर बाहिर गरेका छन् । वडामा दर्ता गराएका बाहेक अझै बढी बसाइसराइ गरेर गाउँ छाड्नेको सङ्ख्या बढी रहेको स्थानीयको भनाइ छ ।
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
फेसबुकबाट तपाईको प्रतिक्रिया