काठमाडौँ— मिठो खान पाउने, राम्रो लगाउन पाउने र टन्न कमाउने प्रलोभन देखाएर भारत पुर्याइएका २४ जना बालबालिका गत कात्तिकमा उद्धार गरी नेपाल फिर्ता ल्याइए ।
दिल्लीस्थित नेपाली दूतावास, दिल्ली प्रहरी र दिल्ली महिला आयोगको सहयोगमा ती बालबालिकाको उद्धार भएको थियो । उनीहरू रुपन्देहीको बेलहिया नाकाबाट नेपाल फिर्ता ल्याइएका थिए ।
उद्धार गरिएकामध्ये १८ जना बालकहरू नवलपुरका थिए । दाङ र सुर्खेतका एकएक जना थिए । चार बालिकामध्ये दुई जना बाराका थिए । रुपन्देही र पर्वतका एकएक जना थिए । प्रहरीका अनुसार सबै बालबालिकाहरू १२ देखि १७ वर्ष उमेरका थिए ।
गत चैत दोस्रो साता कास्कीकी १७ वर्षीया एक किशोरीलाई चिनजानकी एक महिलाले बेहोस बनाएर भारत पुर्याइन् । नेपाल प्रहरी भारतीय प्रहरीको सहयोगमा उनलाई त्यही साता राजस्थानबाट उद्धार गर्न सफल भयो ।
कोरोना महामारी र लकडाउनको समयमा पर्वतकी १४ वर्षीया एक जना र बाँकेकी १७ वर्षीया अर्की एक किशोरी भारतको पटनाबाट उद्धार गरिएका थिए । उनीहरू सडकमै अलपत्र भेटिएका थिए ।
प्रहरीको तथ्यांकअनुसार नेपालमा बालबालिका हराउने क्रम जारी छ ।
लकडाउनमा ४५८ जना गायब
प्रहरीको बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्यांकअनुसार कोरोना संक्रमण सुरु भएसँगै गत चैतदेखि भदौसम्मको लकडाउन र निषेधाज्ञाको समयमा मात्र नेपालबाट साढे सात सयभन्दा बढी बालबालिका हराए । जसमध्ये २६७ जना फेला परे भने ४८५ जना अझै बेपत्ता छन् ।
बालबालिका खोजतलास समन्वय केन्द्रका कार्यक्रम अधिकृत सन्तोषचन्द्र अधिकारीका अनुसार हराउनेमा बालकभन्दा बालिकाको संख्या धेरै छ ।
अधिकारी भन्छन्, ‘अहिलेसम्म हामीकहाँ परेका उजुरी हेर्दा बेपत्ता हुनेमा बालकभन्दा बालिकाको संख्या बढी छ । तिनमा १४ देखि १६ वर्ष उमेरका बढी छन् ।’ उनका अनुसार बेपत्ता भएका अधिकांश बालबालिका घरेलु श्रमिकका रूपमा प्रयोग हुन्छन् र अन्य विभिन्न शोषणमा पर्छन् ।
केन्द्रकाअनुसार २०७७ साउनदेखि मंसिरसम्ममा १ हजार १३९ जना बालबालिका हराएका छन् । तीमध्ये ४०८ जना फेला परे भने ७३१ जना बेपत्ता छन् । हराएका १ हजार १३९ जनामध्ये ९०८ जना बालिका र २३१ जना बालक छन् । तथ्यांकअनुसार पछिल्लो साढे ६ वर्षमा देशभरबाट ८ हजार ७७७ जना बालबालिका बेपत्ता छन् ।
केन्द्रका अनुसार उपत्यकाबाट हराएकामध्ये ७२ प्रतिशतमात्र बालबालिका फेला परेका छन् । देशभरको तथ्यांक अझै दुःखद् छ । देशभरको साढे ६ वर्षको तथ्यांकमा हराएकामध्ये ३६ प्रतिशत बालबालिका भेटिएका छन् ।
यस कारण हराउँछन् बालबालिका
अनुसन्धानअनुसार परिवारमा हुने कलह र तनावका कारण बालबालिकाले घर छाड्ने गरेका छन् । यसबाहेक साथीको लहैलहैमा पनि धेरैले घर छोड्ने गरेका छन् । केन्द्रका कार्यक्रम अधिकृत अधिकारीका अनुसार यस्ता बालबालिकाले बाबु वा आमाको दोस्रो बिहे, विभिन्न प्रलोभन र लहैलहैमा घर छाडेको बताउने गरेका छन् ।
अधिकारी भन्छन्, ‘प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोगबाट उनीहरूले गलत निर्णय लिने गरेको देखिन्छ । किशोरावस्थाको अपरिपक्व प्रेम र शहरी जीवनप्रतिको आकर्षण पनि देखिएको छ ।’
हराएकामध्ये कतिपय यौन शोषणको शिकार हुने गरेका छन् । यसबाहेक केही घरेलु कामदारका रूपमा त केही सडकमा भेटिने गरेका छन् । नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लका अनुसार अभिभावक नहुनु र भएका अभिभावकले निगरानी नराख्नुले समस्या जटिल बन्दै गएको छ ।
हराउने बालबालिका धेरैजसो नुवाकोट र काभे्रपलाञ्चोक जिल्लाका छन् । बालबालिका खोजतलास समन्वय केन्द्रका अनुसार सिन्धुपाल्चोक, रौतहट, रुकुम, रोल्पा लगायतका जिल्लाका विपन्न परिवारका बालबालिका हराएको उजुरी धेरै आउने गरेको छ ।
भेटिएका बालबालिका आफन्तको जिम्मा लगाउने गरिएको छ । आफन्तसँग सम्पर्क हुन नसकेका बालबालिकालाई भने नेपाल बाल सङ्गठनमा आश्रय दिने गरिएको छ ।
यता राष्ट्रिय मानव अधिकार आयोगले पनि हराएका बालबालिकाहरू कुलतमा फस्ने, श्रम शोषणमा, यौन दुव्र्यवहारमा र बेचबिखनमा पर्ने गरेको निष्कर्ष आफ्नो प्रतिवेदन निकालेको छ । ‘साथीको लहैलहैमा लागेका, बिठ्याइँ गर्ने स्वभाव भएका, कुलतमा फसेका, श्रम शोषणमा परेका, यौन दुव्र्यवहार भोगेका, बालविवाहमा भएका र बसाइँसराइ भइरहने परिवारका बालबालिका हराएका छन्’ आयोगको प्रतिवेदनमा भनिएको छ, ‘उनीहरूमाथि श्रमशोषण वा यौन शोषणको जोखिम झन् ठूलो हुन्छ, त्यो उनीहरूले बुझेका हुँदैनन् ।’
यस्तै, हराएका बालबालिकालाई आपराधिक क्रियाकलापमा संलग्न गराउने, भिख माग्न लगाउने, उनीहरूको मिर्गौला निकाल्ने सम्भावना धेरै रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । बलात्कारमा पर्ने, बन्धक बनाइने र हिंसा हुने सम्भावना उच्च रहने पनि प्रतिवेदनमा जनाइएको छ ।
बेपत्तामध्ये ८० प्रतिशत बेचिन्छन्
राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनअनुसार नेपाल मानव बेचबिखनको उच्च जोखिममा रहेको छ ।
बालबालिका तेस्रो मुलुकमा तस्करी गर्न नेपाल स्रोत र ट्रान्जिट दुवै रूपमा रहेको छ । प्रतिवेदनअनुसार हराएकामध्ये धेरै संख्या बालिकाको छ । उनीहरूमाथि यौन शोषण हुने गरेको छ, घरेलु श्रमिक बनाइने गरेका छन् । बेचबिखनको हिसाबले बालिबालिका सबैभन्दा बढी जोखिममा छन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी अनुराग द्विवेदीका अनुसार गरिबी, अशिक्षा र अन्य कारणले उनीहरूलाई दलालले फन्दामा पार्छन् ।
द्विवेदी भन्छन्, ‘दलालले बालबालिकालाई डर, धम्की, प्रलोभन र अपहरणबाट सीमा कटाउने गरेका छन् ।’ मानव अधिकार आयोगको प्रतिवेदनअनुसार बेपत्तामध्ये ८० प्रतिशत बेचबिखनमा पर्ने गरेका छन् ।
यस्तो छ नियन्त्रण प्रयास
हराएका, बेवारिस फेला परेका, आपतमा परेका बालबालिकाको राहत तथा तत्काल सहयोगका लागि नेपाल प्रहरी र तत्कालीन केन्द्रीय बाल कल्याण समिति (२०७६ साउन देखि राष्ट्रिय बाल अधिकार परिषद्)को व्यवस्थापनमा बालबालिका खोजतलास समन्वय केन्द्र एक दशक अघिदेखि नै सक्रिय छ ।
यसअतिरिक्त बालबालिकामाथि हुने सबै प्रकारका अपराध नियन्त्रण गर्न सरकारी निकाय, गैरसरकारी संघसंस्था, विकासका साझेदार निकाय र नागरिक समाज सक्रिय छन् ।
हराएका बालबालिकाको खोजतलास, भेटिएका र बेवारिस फेला परेकाको उद्धार, पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनस्र्थापन जस्ता सेवा सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा विस्तार गरिएको छ ।
बालबालिका देशका कर्णधार हुन् । उनीहरूलाई उचित शिक्षादीक्षाबाट योग्य र सक्षम नागरिक बनाउनु सरकारको कर्तव्य हो । संघीय सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय छ । तै पनि, बालकालिका हराउने क्रम निरन्तर छ ।
उपर्युक्त तथ्यांक उजुरी र उद्धारका आधारमा तयार भएको हो । कतिपय बालबालिका हराए पनि उजुरी नपरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
फेसबुकबाट तपाईको प्रतिक्रिया