काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका उमेश पटवालले एक वर्षमा आफ्नाे लक्ष्य नेपाली टाेलीलाई अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा पुर्याउने रहेको बताएका छन् ।
पहिलो पटक राष्ट्रिय टिमको मुख्य प्रशिक्षकका रुपमा नेपाल आएका पटवालसँग एक वर्षको सम्झौता भएको छ । अहिले के कसरी जाने भन्दा पनि आगामी केहि महिना हामी सबैका लागि निकै महत्वपूर्ण रहेको बताए । उनले टी–२० विश्वकप छनोट आउदैछ, त्यसमा राम्रो गरेर नेपाललाई एउटा बलियो क्रिकेट देशका रुपमा चिनाउने कुरामा ध्यान केन्द्रित हुने उल्लेख गरे । विश्वकप क्वालिफायर्सका लागि अझै केही समय बाँकी रहेका बेला खेलाडीले राम्रो प्रतिस्पर्धात्मक खेल्नु नै ठूलो कुरा रहेको बताए ।
साथै उनले ३० खेलाडी भन्दा पनि यू–१५ र यू–१९ लेभलको क्रिकेटलाई पनि विकास गर्न आवश्यक रहेकाे र यसका लागि आफूलाई जिम्मेवारी दिइएमा निकै खुसी हुने बताए । प्रशिक्षक पटवालले नेपाली खेलाडीको ‘प्यासन’ र ‘डेडिकेसन’ देखेर नेपालको प्रशिक्षकका रुपमा आएको बताए । उनीहरुको ‘डेडिकेसन’मा आफूले उर्जा थप्न सक्नेमा विश्वस्त रहेको पनि उनले बताए । पटवालको कार्यकाल जुन १० तारिखबाट सुरु हुनेछ ।
यस्तै कप्तान पारस खड्काले पटवालको नतीजा र उनको क्षमतालाई हेरेर आईसीसीले नेपालको जिम्मेवारी दिएको बताए । साथै उनले यो राम्रो सुरुवात रहेको बताउँदै कोही प्रशिक्षक वा खेलाडी आउँदैमा रातारात क्रिकेट परिवर्तन हुँदैन, त्यसका लागि धेरै पक्षको परिवर्तन हुन आवश्यक रहेकाे बताए ।
उनले खेलाडीकै कारण नेपाली क्रिकेट यहाँसम्म पुगेको तर अब खेलाडीले खेलेर मात्र माथि नजाने बरु सबै पक्षको सही काम भएका नेपाली क्रिकेटले आउँदा दिनमा एक तह माथि उठ्ने बताए ।
कप्तान पारसले अबको केही महिनामा विश्वकप छनोट लगायतका प्रतियोगिताहरु खेल्नुपर्ने र त्यसका लागि सक्षम प्रशिक्षक आएको बताए । यस्तै यसअघिका मुख्य प्रशिक्षक जगत टमाटाको भूमिका के हुने भन्नेमा आईसीसीले नै निर्णय गर्ने उनले बताए । यसका साथै उनले आगामी दिनमा कोचिङ स्टाफ लगायत टिममा को के हुने भन्ने पनि आईसीसीको भरमा रहेको बताए ।
पटवाल तेस्रो पटक नेपाली क्रिकेटको प्रशिक्षकका रुपमा नेपाल आउन लागेका हुन् । यसअघि नामिवियामा भएको आईसीसी डिभिजन-२ मा कन्सल्ट्यान्ट प्रशिक्षकका रुपमा आएका पटवाल यूएई विरुद्धको एक दिवसीय र टी–२० सिरिजका लागि पनि नेपाली टिमका सल्लाहकार भएर आएका थिए ।
यसअघि प्रशिक्षक पुबुदु दाशानायके फर्किएपछि नेपाली टिमलाई जगत टमाटाले सम्हाल्दै आएका थिए । तर अब नेपाली क्रिकेटमा प्रशिक्षकसँगै उमेर समूहका क्रिकेट टिम तयार र नयाँ योजना बनाउन आवश्यक रहेकाले नयाँ प्रशिक्षकको खाँचो रहेको भन्दै परिषद्ले आईसीसीसँग आग्रह गरेको थियो । जसमा आइसीसीले नेपाली क्रिकेटलाई राम्रोसँग बुझेका कारण पटवाललाई नेपाल पठाएको हो ।
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
फेसबुकबाट तपाईको प्रतिक्रिया