Friday April 26, 2024 | |

राजधानीका १५० गुण्डा प्रहरीको हिटलिष्टमा, गुण्डाको धन्दा: मिटरब्याज, ठेक्कापट्टा र जुवा

featured-news

अफलाइनखबर
कानुनलाई मुठ्ठीमा लिएर सर्वसाधारणलाई धम्काउने, थर्काउने, तर्साउने, यसरी समाजमा आतंक मच्चाएर आफ्नो स्वार्थ पुरा गर्ने केही गुण्डा नाइके प्रहरी इन्काउन्टरमा मारिएपनि समस्या भने घटेको छैन । अहिले पनि भित्र भित्रै गुण्डाहरुको दबदबा चलिरहेकै छ । महानगरीय प्रहरी परिसर काठमाडौंले तयार पारेको गुण्डाहरुको सूचीमा अहिले १ सय ५० भन्दा बढीको नाम छ । परिसर प्रमुख एसएसपी विश्वराज पोखरलेलका अनुसार उनिहरुलाई प्रहरीले सुक्ष्म मूल्यांकन गर्दै ए, वि र सी गरी तीन तहमा वर्गीकरण समेत गरेको छ । एसएसपी पोखरेलका अनुसार, ती गुण्डाहरुले राजधानीको विभिन्न स्थानलाई आफ्नो खेलखोर बनाएर अपराध गर्ने गरेका छन् । कतिपयलाई राजनीतिक संरक्षण बलियो छ । राजनीतिक नेतृत्वले संरक्षण गर्दा नियन्त्रणमा समस्या थपिएको प्रहरीको गुनासो छ ।
यस्तो छ गुण्डा नाइकेहरुको राजनीतिक कनेक्सन 
गणेश लामा– गच्छदार कनेक्सन
गुण्डागर्दीमा नाम कहिलएको नाम हो गणेश लामा । ठमेललाई आधार बनाएर गुण्डागर्दी गर्दै आएका काभ्रेली समूहका लामालाई २०६७ पुस २० गते मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले केन्द्रीय सदस्य बनाएको थियो । पार्टी अध्यक्ष विजय गच्छदार काँग्रेस प्रवेश गरेसँगै लामापनि काँग्रेस प्रवेश गरेर काभ्रे क्षेत्र नम्बर १ को ख बाट प्रदेशसभाको निर्वाचनमा उम्मेदवार भएका थिए । तर हार बेहोरेका लामालाई अहिले प्रहरीले हातहतियार तथा खरखजना मुद्दामा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
दिपक मनाङ्गे, चक्रे मिलन र पर्शुराम बस्नेत– एमाले कनेक्सन
दीपक मनाङे उर्फ राजीव गुरुङपनि अर्का चर्चित गुण्डा नाइके हुन् । उनको आधार क्षेत्र ठमेल हो । उनको सुरुपमा राप्रमा सँग नाता थियो । पछि एमाले प्रवेश गरे । तर, एमालेले उनलाई मनाङबाट प्रदेशसभामा टिकट नदिएपनि स्वतन्त्र उम्मेदवार दर्ता गरेका थिए । एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर उनलाई समर्थन गरेपछि उनले चुनाव समेत जितेका थिए । तर, खुकुरी हानेको मुद्दामा अदालले उनलाई दोषी ठहर्‍याए सँगै उनि अहिले फरार अभियुक्त छन् । उनलाई प्रहरीले इन्टरपोलको रेडकर्नर नोटिसमा समेत राखेर खोजी गरिरहेको छ । नेपालको गुण्डागर्दी दुनियाँमा अर्को नाम हो – चक्रे मिलन । चक्रपथ र चाबहिललाई आधार क्षेत्र बनाउँदै चक्रे दुई दशकदेखि गुण्डा नाइकेका रुपमा चिनिँदै आएका छन् । काठमाडौंमा धेरै गुण्डाहरू जन्माउनेमा चक्रे अग्रपंक्तिमा छन् । कुमार घैंटे, दिनेश अधिकारी ‘चरी’ उनका चेला हुन् । अर्का गुण्डा नाइके विराटनगरका पर्शुराम बस्नेत भने पूर्वी क्षेत्रमा नाम कहलिएका छन् । उनि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्रका रुपमा समेत चिनिन्छन् ।
अभिषेक गिरी – काँग्रेस कनेक्सन
विराटनगरका अभिषेक गिरी पनि गुण्डागर्दीबाट अकुत सम्पत्ति कमाउने सूचीमा छन् । अहिले उनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारीलाई ब्याकमेल र अपहरणको अभियोगमा उनी पुर्पक्षका लागि थुनामा छन् । तरुण दलको जिल्ला सदस्य अभिषेक कांग्रेसको कोइराला र देउवा दुवै क्याम्प निकट मानिन्छन् । २०७० जेठ ५ गते सम्पत्ति शुद्धीकरण विभागले दीपक मनाङ्गे, चक्रेमिलन, गणेश लामा, अभिषेक गिरी र परशुराम बस्नेत विरुद्ध विशेष अदालतमा मुद्दा चलाइएको थियो । पाँचवटा छुट्टाछुट्टै मुद्दामध्ये दीपक मनाङे र चक्रे लामाले भने सफाइ पाइसकेका छन् ।
यी बाहेक अहिले चर्चामा आएका राजु गोर्खाली, मिनकृष्ण मर्हजन, बिष्णु लामा, दावा लामा, सञ्जीब लामा उर्फ स्याल, बिनय मगर, तेजेन्द्र गुरुङ, विनय मगर नेपाली कांग्रेस निकट मानिन्छन् । त्यसैगरी अभिमानसिंह बस्नेत, आशिस राई, युद्ध लामा, अनिले हेक्का, कृष्ण खड्का एमाले निकट मानिन्छन् । (यसबाहेकका गुण्डाहरुको नाम गोप्य राखिएको छ) जे भएपनि कानुनलाई हातमा लिएर आफ्नो स्वार्थ पुरा गर्ने यस्ता गुण्डाहरु कसैलाई नछाड्े महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलको दाबी छ ।
गुण्डा नाइकेको धन्दा: मिटरब्याज, ठेक्काको कमिशन, जुवा
प्रहरीका अनुसन्धान अधिकारीहरुका अनुसार, गुण्डाको पेशा बाहिरबाट नियाल्दा रेष्टुरेन्ट क्रसर, ढुंगा, बालुवा लगाएत व्यवसाय बढी देखिए पनि भित्री रुपमा मिटर ब्याज, ठेक्काको कमिशन, फिरौती तथा जुवा रहेको छ । आपराधिक मुद्दामा थुनामा परे पनि कतिपय गुण्डाहरूको कनेक्सनबारे दलका शीर्ष नेताहरू मात्र होइन प्रहरीका उच्च अधिकृतसमेत बोल्न चाहँदैनन् । स्रोतका अनुसार, छहारी दिएका दलका शीर्ष नेतृत्व मात्र होइन प्रहरी र मुद्दामा आफ्नो तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई समेत गुण्डाहरूले आर्थिक सहयोग गरेका छन् ।
यसरी उत्पादन हुन्छन् गुण्डा
पूर्वएआइजी जयबहादुर चन्द भन्छन् – बिशेष गरी देखासेखी र रातारात धनी हुने महत्वकांक्षाका कारण यो क्षेत्रमा लाग्नेको हुल बढ्दै गएको देखिन्छ । महंगो र आर्कषक ब्राण्डेड लत्ता कपडा, महंगा गाडी, विल्डिङ अनि आरमको जिन्दगी जो कोही लाई सपाना र रहर हुन्छ । यही कुराको सपना एकाएक चुलिदै जाँदा महत्वकांक्षी व्यक्तिहरु यस्तो पेशा तर्फ लाग्ने गरेका छन् । कतिपयले आपनो फाईदाकै लागि बिभिन्न प्रलोभन देखाई कसैलाई लागूऔधको दुव्र्यशनी बनाएर त कसैलाई मुद्दा मामलमा तथा झै झगडामा समाबेश गराएर यो क्षेत्रमा होम्याउने गरेको समेत अनुसन्धानबाट खुलेको छ । पूर्वएआइजी चन्दका अनुसार, यसमा सवैभन्दा बढी जोशमा होस गुमाउने उमेर समुह अर्थात युवावर्ग बढी आकर्षीत भएको देखिन्छ ।

यस्तो छ प्रहरी र गुण्डा सहकार्य
प्रहरी र गुण्डा बीच हुने गरेको सहकार्य कुनै नौलो विषय भने होईन । स्रोत अनुसार काठमाडौंमा गुण्डाहरु मार्फत हुने ८५ प्रतिशत काममा कुनै न कुनै प्रहरीको प्रत्यक्ष वा अप्रत्यक्ष दुवै सहयोग हुने गरेको छ । तर यसो भनिरहँदै सबै प्रहरीको गुण्डा सँग कनेक्सन छ अर्थात सवै प्रहरी भ्रष्ट छन् भन्ने होईन । तर, सबै प्रहरी इमान्दार हुने हो भने देशभरबाट नै गुण्डागर्दी पत्तासाफ हुने कुरा भने सुनिश्चित छ । केही प्रहरी अधिकारी र गुण्डाहरुको संगठन बीच सम्बन्ध रहने गरेको प्रहरी स्रोतको दाबी छ । नाता सम्बन्ध, राजनैतिक विचार र भूगोल जस्ता कुराहरुले केही प्रहरी अधिकृत कुनै गुण्डा प्रति कम आक्रामक देखिने गरेका छन् । कतिपय प्रहरी अधिकृतहरुले त गुण्डाहरुसँग सहकार्य नै गरेर आफ्नो पैसा समेत मिटरब्याज धन्दामा लागाउने गरेको समेत बुझिएको छ ।
प्रहरीमा जाहेरी कम पुग्दा थप समस्या
पूर्व एआइजी नवराज ढकालका अनुसार गुण्डाबाट पीडित भएका हरु त्रास कै कारण हत्तपत्त प्रहरीकोमा जाहेरी दिन नै पुग्दैनन् । उनिहरु गुण्डाले केही गर्ने डरका कारण समस्या लुकाएर बस्न बाध्य छन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार, कुनै गुण्डा विरुद्ध उजुरी पर्‍यो र प्रहरीले समात्यो भनेपनि राजनीतिक पहुँच र पैसाका कारण कारवाहीमा समस्या हुन्छ । प्रहरी अनुसन्धान अधिकारीहरुका अनुसार, कतिपय जेलमा परेका गुण्डानाइकेहरुले समेत भित्रैबाट आपराधिक धन्दा चलाएका छन् ।
यस्तो थियो इन्काउन्टरमा मारिएका गुण्डा नाइके र राजनीतिक कनेक्सन
श्रृङ्खलाबद्ध प्रहरी इन्काउन्टर, जसमा राजनीतिक संरक्षण भनिएका गुण्डानाइकेहरु समेत मारिएका छन् । पछिल्लो ४ बर्षमा भएका इन्काउन्टरका घटना हेर्ने हो भने राजनीतिक संरक्षणले कुनै अपराधी प्रहरीबाट जोगिन सक्दै भन्ने कुराको समेत पुष्टि भएको छ । २०७१ साउन २१ गते काठमाडौंको भीमढुङ्गामा मारिएका गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ एमाले निकटका मानिन्थे । यद्यपी चरीमाथि इन्काउटर हुँदा गृहमन्त्री एमालेकै उपाध्यक्ष वामदेव गौतम थिए । चरी इन्काउन्टरमा परेपछि केही एमालेका नेताले त सडक देखि सदन सम्म तताएका थिए । २०७३ भदौ ३ गते, काठमाडौंको कपुरधारामा मारिएका गुन्डा नाइके घैंटे सामाखुसीलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्ने गर्थे । घैंटे नेपाली काँग्रेस निकट मानिन्थे । उनि मारिएपछि केही काँग्रेस नेताहरुले सडक देखि मानवअधिकार आयोग सम्म पुगेका थिए । २०७४ फागुन ९ गते रुपन्देहीको देवदहमा प्रहरी इन्काउन्टरमा परि गुन्डा नाइके मनोज पुनले पनि पहिले माओवादी र त्यसपछि एमाले निकट भातृसंगठनमा रहेर काम गरेका थिए । जे भएपनि गुण्डागर्दीले न त यसमा लाग्नेहरुकै भलो गर्छ नत अरुको नै । त्यसैले गुण्डागर्दी नियन्त्रणका लागि नियमनकारी निकाय निर्मम बन्नै पर्छ । किनकी यो कानुनी राज हो गुण्डाराज होइन ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार