दशकौंदेखिको व्यवसायिक पर्वतारोहणले सर्वोच्च शिखर सगरमाथालाई विश्वकै सबैभन्दा उच्च स्थानको फोहोरको थुप्रोको रुपमा परिणत गरेको छ । बढ्दो सङ्ख्याका खर्चालु आरोहीहरुले हिमालमा छोड्ने आफ्नो पाइलामा खासै ध्यान नदिनाले यस्तो समस्या निम्तिएको हो । फ्लोरोसेन्ट टेन्ट, आरोहणको लागि आवश्यक उपकरण, खाली ग्यास क्यानिस्टर र मानिसका मलमूत्रसमेतले ८,८४८ मिटर अग्लो हिमाल चढ्ने रुटलाई धेरै फोहोर बनाएको छ ।
‘यो देख्दा नराम्रो लाग्छ, आँखा बिझाउँछ,’ १७ पटक सगरमाथाको सफल आरोहण गरिसकेका पेम्बा दोर्जे शेर्पा भन्छन्, ‘हिमालले धेरै फोहोर बोकेको छ ।’ प्रत्येक वर्ष आरोहीको सङ्ख्या बढ्दै गइरहेको छ । यो वर्ष मात्रै ६०० भन्दा धेरैले सगरमाथाको सफल आरोहण गरिसकेका छन्, तर समस्या झनै खराब भएको छ । ६५ वर्षर्अघि एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो आरोहण गर्दादेखि थुप्रिएर हिउँले ढाकिएका फोहोरहरु पनि जलवायु परिवर्तनको कारण हिमनदीहरु पग्लिएपछि अहिले सतहमा देखिँदैछन् ।
यसबीचमा सगरमाथाको फोहोर हटाउने प्रयासहरु नभएका भने होइनन् । पाँच वर्षअघि नेपाल सरकारले आरोहणमा जाने प्रत्येक दलले ४ हजार डलर धरौटी राख्ने र यदि प्रत्येक आरोहीले आठ किलो फोहोर बोकेर ल्याए भने मात्रै उक्त रकम फिर्ता पाउने नियम लागु गर्यो ।
हिमालको तिब्बती रुटमा पनि उनीहरुलाई त्यति नै मात्राको फोहोर ल्याउन भनिन्छ र यदि उनीहरुले ल्याएनन् भने प्रतिकिलो सय डलरको दरले जरिवाना तिराइन्छ । सगरमाथा प्रदुषण नियन्त्रण समितिका अनुसार सन् २०१७ मा मात्रै नेपाली पर्वतारोहीहरुले झण्डै २५ टन नसड्ने फोहोर र १५ टन मानव फोहोर सगरमाथाबाट बोकेर तल ल्याएका थिए ।
यो सिजन पोहोरभन्दा धेरै फोहोर तल झारिएको छ तर, यो सगरमाथामा थुपि्रने फोहोरको सानो हिस्सामात्रै हो । किनभने आधा जति आरोहीहरुले मात्रै नियमानुसार ल्याउनुपर्ने परिमाणको फोहोर तल बोकेर ल्याउँछन् । आरोहण अनुभवको लागि २० हजारदेखि १ लाख डलरसम्म खर्च गर्ने आरोहीहरुले बरु त्यसको सट्टा समुन्द्रमा एक थोपा पानी जस्तो थोरै लाग्ने आफ्नो धरौटी रकम गुमाउन तयार हुन्छन् ।
पेम्बा भन्छन्, ‘त्यसैले धेरैले ध्यान दिँदैनन् । केही सरकारी अधिकारीहरुले सानो रकम घुस लिएर यस कुरामा आँखा चिम्लनाले पनि समस्या बढदै गएको छ ।’ ‘हिमाललाई सफा राख्न उच्च शिविरहरुमा पर्याप्त निगरानी छैन,’ उनले भने ।
अनुभवहीन आरोहीहरु
पछिल्लो दुई दशकमा सगरमाथा आरोहण उद्योग अत्याधिक छिटो बढेको छ । यसले भिडभाडको चिन्ता बढाएको छ भने अनुभवहीन पर्वतारोहीहरुलाई कम मूल्यमा एक्सपिडिसन गराउने कम्पनीहरुले तान्न सक्ने डर छ ।
दुई दशकदेखि जुम्ल्याहा भाइ बिलिको साथ सगरमाथा आरोहण गर्दै आएका डामिएन बेनेगासका अनुसार अनुभवहिनले नै फोहोरको समस्या बढाउन पनि भूमिका खेलेका छन् ।
स्थानीय शेर्पा जातीका उच्च हिमाली गाइड र कामदारहरुले टेन्ट, अक्सिजन सिलिण्डरहरु, डोरीहरु जस्ता सामानहरु बोकेर हिमालमा लैजान्छन् र आरोहण सकिएपछि त्यसलाई तल झार्छन् ।पहिले धेरैजसो आरोहीहरुले आफ्नो व्यक्तिगत किट जस्तैः थप कपडाहरु, खानेकुरा, स्लिपिङ ब्यागको साथै सप्लिमेन्टल अक्सिजन पनि लैजाने गर्थे । तर, आजकाल धेरै पर्वतारोहीहरु आफ्नो सामान बोक्न सक्दैनन् र सबै थोक शेर्पाहरुलाई बोकाउँछन् ।
‘उनीहरुले पहिले क्लाइन्टको सामान बोक्न पर्छ, त्यसैले सबै फोहोरहरु बोकेर तल ल्याउन सक्दैनन्’ बेनेगासले भने । ‘एक्पिडिसन अपरेटरहरुले सबै ग्राहकहरुलाई निश्चिन्त बनाउन जरुरी छ,’ उनले भने, ‘उनीहरुको किट र फोहोरहरुलाई माथि पुर्याउन र तल झार्न धेरै गाइड र भरियाहरुलाई काममा लगाउनुपर्छ ।’
कच्चा फोहोर
सगरमाथाको प्रदुषणको बारेमा वातावरणविदहरु चिन्तित भएका छन् र प्रदुषणले तल उपत्यकामा आउने पानीको स्रोतमा पनि असर गरेको उनीहरुले बताएका छन् । अहिले आधार शिविरबाट मलमूत्र लगायतका कच्चा फोहोरहरु करिब एक घन्टाको दूरीमा रहेको नजिकैको गाउँमा बोकेर लगिन्छ र त्यसलाई खाडल खनेर पुरिन्छ ।
तर, वर्षायामको समयमा फोहोर त्यहाँबाट बगेर तल पुग्ने गरेको अमेरिकी इन्जिनियर ग्यारी पोर्टरले बताए । ग्यारीको टिमले आधारशिविर नजिकै बायोग्यास प्लान्ट राख्ने विचार गरेका छन् जसले आरोहीहरुको दिशापिसाबलाई उपयोगी मल बनाउने छ ।
नेपाल माउन्टेनियरिङ एसोसियसनका अध्यक्ष आङछिरिङ शेर्पाले भने अर्को समाधानको बाटो सुझाएका छन् । उनले सगरमाथाको फोहोरमैला व्यवस्थापन गर्न विशेष संकलन टिम नै बनाउनुपर्ने आवश्यकता औल्याए । उनको एक्स्पिडिसन अपरेटर एसिएन ट्रेकिङले एक दशकदेखि इको एभरेष्ट एक्सपिडिसन सञ्चालन गरिरहेको छ । त्यसक्रममा उसले १८ टनभन्दा धेरै फोहोर सगरमाथाबाट तल झारेको छ ।
त्यस्तै चीनको सरकारी ग्लोबल टाइम्सका अनुसार उत्तरी क्षेत्रबाट अघिल्लो महिना ३० बलिया सफाइ टिमले साँढे आठ टन फोहोर ल्याएका छन् । आङछिरिङ भन्छन्, ‘यो सजिलो काम होइन, सरकारले सगरमाथाको सफाई गर्न आरोही दलहरुलाई प्रोत्साहित गरेर नियमहरु कडाइका साथ लागू गर्नुपर्छ ।’ - onlinekhabar
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
फेसबुकबाट तपाईको प्रतिक्रिया