Tuesday April 23, 2024 | |

प्रत्येक नेपालीको थाप्लोमा ३६ हजार ऋण

featured-news

२४ कात्तिक, काठमाडौं । नेपालको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ नजिक पुगेको छ । चालु आवको पहिलो तीन महिना १८ अर्ब रुपैयाँभन्दा बढीले सार्वजनिक ऋण बढ्दा कुल ऋण ११ खर्ब नजिक पुगेको हो ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार साउनदेखि असोज मसान्तसम्म तीन महिनामा सरकारले कुल २३ अर्ब ३९ करोड ४१ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको छ । यसै अवधिमा ६ अर्ब ३२ करोड १२ लाख रुपैयाँ ऋण तिरेको पनि छ । यसअनुसार तीन महिनामा १८ अर्ब ११ करोड रुपैयाँ सार्वजनिक थपिएको हो । अब नेपालको कुल सार्वजनिक ऋण १० खर्ब ८४ अर्ब ९३ करोड पुगेको छ ।

यसमध्ये ४ खर्ब ५३ अर्ब ४९ करोड सार्वजनिक ऋण हो भने ६ खर्ब ३१ अर्ब ४७ करोड रुपैयाँ वैदेशिक ऋण हो । कुल सार्वजनिक ऋणलाई तथ्यांक विभागले सन् २०१९ का लागि प्रक्षेपण गरेको जनसंख्या २ करोड ९७ लाख ४ हजार ५ सय १ जनालाई भाग लगाउँदा एक नेपाली बराबर ३६ हजार ५ सय २५ रुपैयाँ सार्वजनिक ऋण पुगेको छ ।

चालु आवको तीन महिनामा सरकारले बहुराष्ट्रिय निकायबाट १८ अर्ब ९ करोड ३७ लाख रुपैयाँ ऋण लिएको छ । द्विपक्षीय दाता (देशहरु)बाट ५ अर्ब ३ करोड ९८ लाख रुपैयाँ ऋण लिइएको छ । यस अवधिमा सरकारले कुल २६ करोड ५ लाख रुपैयाँ आन्तरिक उठाएको छ । यसरी तीन महिनामा मात्र कुल २३ अर्ब ३९ करोड ४१ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको हो ।

अर्थ मन्त्रालयको तथ्यांक अनुसार सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ३१.३२ प्रतिशत पुगेको छ । अहिले नेपाली अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब ३१ करोड ९० लाख रुपैयाँ रहेको छ । कुल सार्वजनिक ऋण कूल ग्रार्हस्थ उत्पादनको ३१.३२ प्रतिशत हो । सार्वजनिक ऋणमध्ये विदेशी ऋण कुल ग्रार्हस्थ उत्पादनको १८.२३ र आन्तरिक ऋणको हिस्सा १३.०९ प्रतिशत रहेको तथ्यांक छ । अघिल्लो आवको अन्तिम (असार २०७६) सम्म सार्वजनिक ऋण कुल ग्रार्हस्थ उत्पादनको ३०.०६ प्रतिशत रहेको थियो ।

कहाँबाट कति ऋण ?

तीन महिनाको अवधिमा नेपालले सबैभन्दा बढी ऋण विश्व बैंकबाट लिएको छ । विश्व बैंक ग्रुपअन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एशोसिएन (आइडीए)बाट ११ अर्ब ८७ करोड रुपैयाँ ऋण प्राप्त गरेको हो ।

एसियाली विकास बैंकबाट ६ अर्ब २१ करोड रुपैयाँ ऋण प्राप्त भएको छ । द्विपक्षीय मुलुकमध्ये सबैभन्दा बढी भारतबाट २ अर्ब ३३ करोड ९१ लाख ऋण प्राप्त भएको छ ।

· विश्व बैंक : ११ अर्ब ८७ करोड

· एसियाली विकास बैंक : ६ अर्ब २१ करोड

· भारत : २ अर्ब ३३ करोड ९१ लाख

· जापान : १ अर्ब ४४ करोड १६ लाख

· चीन : ९० करोड ८८ लाख

· कोरिया : २९ करोड ७९ लाख

· साउदी अरेबिया : ५ करोड २२ लाख

नेपालले तीन महिनाको अवधिमै साढे ६ अर्ब ऋण तिरेको छ । महालेखाको तथ्यांक अनुसार यस अवधिमा बाह्य ऋण २ अर्ब ७२ करोड ६६ लाख र आन्तरिक ऋण ३ अर्ब ५९ करोड ४६ लाख रुपैयाँ घटाइएको हो ।

अनुदान समेत बढ्यो

सरकारलाई विभिन्न निकायले दिने अनुदानमा समेत उल्लेख वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार तीन महिनामा सरकारले ७ अर्ब ४२ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ ।

यस्तो रकम अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा १२३.४ प्रतिशतले धेरै हो । उक्त आवको तीन महिनामा ३ अर्ब ३२ करोड रुपैयाँ अनुदान प्राप्त भएको थियो । यस अवधिमा १५ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता आएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार