Friday April 26, 2024 | |

इंग्ल्याण्डले जित्यो विश्वकपको उपाधि, न्युजिल्याण्ड बाउन्ड्रीमा चुक्यो

featured-news

२९ असार, काठमाडौं । निर्धारित ५० ओभर र सुपर ओभरमा पनि बराबरी भएपछि इंग्ल्याण्डले बाउण्डीका आधारमा विश्वकप क्रिकेटको उपाधि हात पारेको छ । रोमाञ्चक फाइनलको निर्धारित ५० ओभर र सुपर ओभरमा दुबै टोलीले समान रन बनाएको थियो । त्यसपछि च्याम्पियनको छनोट बाउन्ड्रीका आधारमा लिइयो, जसमा इंग्ल्याण्डले बाजी मार्यो । इंग्ल्याण्डले न्यूजिल्याण्डले भन्दा ६ वटा बाउन्ड्री बढी हानेको छ ।

यसअघि सन् २०१५ मा पनि न्युजिल्यान्ड फाइनलमा पुगेर अष्ट्रेलियासँग पराजित भएको थियो । चौथो पटक फाइनलमा खेलेको इंग्ल्याण्डले पहिलो पटक विश्वकपको उपाधि उचालेको हो ।

सुपर ओभरमा पनि बराबरी

निर्धारित ५० ओभरमा दुबै टोलीले समान २४१ रन बनाएपछि खेल सुपर ओभर धकेलिएको थियो । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ६ बलमा १५ रन बनायो ।

विश्वकपको उपाधिका लागि न्युजिल्याण्डलाई १६ रन चाहियो । उसलाई अन्तिम अन्तिम बलमा २ रन नै चाहियो, जसरी इंग्ल्याण्डलाई नियमित खेलमा चाहिएको थियो । एक रन बनाएपछि मार्टिन गुप्टिल रन आउट हुन पुगे र सुपर ओभर पनि बराबरीमा सकियो ।

दुबैको २४१ रन 

यसअघि लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन बनाएको थियो । उसका लागि हेनरी निकोलसले ५५ र टोम लाथमले ४७ रन बनाए ।

न्युजिल्यान्डले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । २९ रनमा पहिलो विकेटको रुपमा मार्टिन गप्टिललाई गुमाएको न्युजिल्यान्डले सम्हालेर खेलेको थियो । दोस्रो विकेटको लागि कप्तान केन र निकोलसले ७४ रनको साझेदारी गर्दै उकासेका थिए ।

जवाफमा मैदान उत्रिएको घरेलु टोलीले पनि सबै विकेट गुमाएर २४१ रन नै बनायो । उसको सुरूवात खराब रह्यो । ८६ रन जोड्दा ४ विकेट गुमाइकेको थियो तर, बेन स्टोक्स र जोस बट्लरले पारी उकासे । दुबैले ११० रनको साझेदारी गरे । बट्लर ५९ रनमा आउट भए । त्यसपछि खेलमा न्युजिल्याण्ड हावी भयो, घरेलु टोलीले एकपछि अर्को विकेट गुमायो र अन्तिम ओभरमा ६ बलमा १५ रन चाहियो ।

ट्रेन्ट बोल्टले सुरूको दुइ बलमा रन दिएनन् तर, तेस्रो र चौथो बलमा छक्का हानेपछि खेलले रोमाञ्चक मोड लियो । अब २ बलमा तीन रन चाहियो इंग्ल्याण्डलाई ।

पाँचौं बलमा घरेलु टोलीले एक रन त लियो तर आदिल रसिद रनआउट भए । अन्तिम बलमा दुई रन चाहियो । एक रन जोडेर अर्को रनका लागि दौडिएका मार्क वुड रन आउट भएपछि खेल बराबरी भयो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार