Saturday April 27, 2024 | |

को को छन् राष्ट्रिय सभाका लागि कांग्रेसमा आकांक्षी ?

featured-news

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश कार्यसमितिलाई नाम सिफारिस गर्न परिपत्र गरेकोमा आकांक्षीको लामो सूची देखिएको छ ।

केन्द्रीय कार्यालयले एक पदका लागि बढीमा तीन जनासम्मको नाम सिफारिस गर्न भनेको थियो । तर प्रदेश कार्यसमितिहरूले भने आकांक्षी रहेका सबै नेताहरूको नाम संकलन गरेर केन्द्रलाई पठाइदिएपछि सूची लामो बनेको हो ।

यसपटक जम्मा १९ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ । त्यसमध्ये सत्ता गठबन्धनमा भाग लगाउँदा कांग्रेसले बढीमा १० सिट पाउने सम्भावना देखिएको छ । तर कांग्रेसमा मात्रै सिट संख्याभन्दा कैयौं गुणा धेरै आकांक्षीहरू देखिएका छन् । उम्मेदवारका लागि प्रदेशबाट आकांक्षीहरूको नाम सिफारिस भएर आएपछि विधानबमोजिम केन्द्रीय संसदीय बोर्डले उम्मेदवारको टुंगो लगाउने व्यवस्था छ ।

उम्मेदवार चयनका विषयमा कांग्रेसले अहिलेसम्म कुनै मापदण्ड बनाएको छैन । तर बिहीबारदेखि बस्ने केन्द्रीय कार्यसमिति बैठकमा त्यसबारे छलफल हुने नेताहरूले बताएका छन् ।

प्रदेश कार्यसमितिले तयार गरिरहेको आकांक्षीहरूको सूचीमा पार्टीका पूर्वपदाधिकारीदेखि हालका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रदेशका पदाधिकारी र सदस्य तथा जिल्लाका नेताहरूसमेत छन् । आकांक्षीमा पटक/पटक अवसर पाएर अब फेरि चुनाव लड्ने र जित्ने सम्भावना नभएका नेताहरू छन् भने कोही पुरै राजनीतिक जीवनभर अवसर नपाएका समेत रहेका छन् ।

प्रदेशबाट तयार भइरहेको आकांक्षीको सूचीमा २५ जना त केन्दीय कार्यसमितिका सदस्यहरू मात्रै आकांक्षी देखिएका छन् । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश समितिले केन्द्रीय कार्यालयमा पठाउने उम्मेदवारका आकांक्षीको सूची तयार पार्दा २५ केन्द्रीय सदस्य देखिएका छन् । कोशी र बागमतीबाट ८–८ जना, गण्डकीबाट ५, लुम्बिनीबाट ४ जना र कर्णालीबाट एक जना केन्द्रीय सदस्य राष्ट्रियसभा सदस्य उम्मेदवारको आकांक्षी देखिएका छन् । मधेश र सुदूरपश्चिम प्रदेश समितिले भने नाम संकलन गरिसकेका छैनन् ।

हाल राष्ट्रियसभाको अध्यक्षका लागि चर्चा भइरहेका नेता कृष्णप्रसाद सिटौला कोशीबाट सिफारिस भएका छन् । उनी कांग्रेसका पूर्वमहामन्त्री हुन् । तर सिटौलासँगै कोशी प्रदेश समितिले केन्द्रीय सदस्यहरू डा। मिनेन्द्र रिजाल, डा। डिला संग्रौला, सुजाता कोइराला, तारामान गुरूङ, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा, पूर्व अर्थमन्त्री महेश आचार्य, गुरु घिमिरे र रुक्मिणी कोइरालाको नाम पनि सिफारिस गरेको छ । कोशीबाट महिला १ र अन्य १ पदका लागि निर्वाचन हुँदैछ ।

त्यस्तै बागमती प्रदेशबाट पनि केन्द्रीय सदस्यहरू मदन अमात्य, जिपछिरिङ लामा, दिलमान पाख्रिन, हरिशरण नेपाली, जितजङ बस्नेत, गंगालक्ष्मी अवाल, राधा घले र मदनकृष्ण श्रेष्ठको नाम सिफारिस भएको छ । त्यस्तै, कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँ र काठमाडौं महानगरपालिकाका सभापति निलकाजी शाक्य, पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल र चिकित्सक संघका पूर्वअध्यक्ष डा। केदारनरसिंह केसी पनि सिफारिस भएका छन् ।

गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, चीनकाजी श्रेष्ठ, कृष्णचन्द्र नेपाली पोखरेल, ध्रुव वाग्ले, अब्दुल सतारको नाम सिफारिस गरिएको छ । यहाँबाट पूर्वसभामुख तारानाथ रानाभाट, देवराज चालिसे सहितको नाम सिफारिस भएको छ ।

त्यस्तै कर्णालीबाट केन्द्रीय सदस्य मानबहादुर नेपालीसहित ९२ जनाको नाम सिफारिस भएको छ । सुर्खेतबाट पूर्वसभापति डम्बर जिसी, पूर्वमन्त्री खड्गबहादुर बस्याल, प्रदेश कार्यसमितिका कोषाध्यक्ष खगिसरा आचार्यसहित २४ जना छन् । दैलेखबाट पूर्वसभापति रविन्द्रराज श्रेष्ठ, पूर्व राष्ट्रिय सभा सदस्य रंगबहादुर शाही, पूर्वमन्त्री हिमबहादुर शाही, सुमित्रा शाहलगायतको नाम सिफारिस भएको छ । जुम्लाबाट पूर्वमन्त्री दीनबन्धु श्रेष्ठ, लाल हमाललगायत छ जनाको नाम छ । जाजरकोटबाट प्रदेश उपसभापति सनथबहादुर कार्की, सहमहामन्त्री रामछाया शाही, दीपकजंग शाहलगायतको नाम सिफारिस भएको छ ।

कालिकोटबाट तरुण दलका पूर्व केन्द्रीय महासचिव भूपेन्द्रजंग शाही, प्रदेश उपसभापति कालीबहादुर सहकारी, प्रदेश कार्यसमिति सदस्य मनबहादुर नेपाली, मोतिराज बम, यशोदा शाहीलगायत नौ जनाको नाम सिफारिस भएको छ । रुकुम पश्चिमबाट प्रदेश महामन्त्री कृष्ण रोकाय, सल्यानबाट पूर्व केन्द्रीय सदस्य डिल्ली रेग्मी, ध्रुव पुरी, गणेश चन्दलगायतको नाम सिफारिस भएको छ ।

मुगुबाट पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको एकल नाम सिफारिस भएको छ । डोल्पाबाट संविधानसभा सदस्य दुधकुमारी हमाल, टंक उपाध्यायलगायतको नाम सिफारिस भएको छ । कर्णालीमा तीन सिटका लागि निर्वाचन हुँदैछ ।

त्यस्तै, लुम्बिनीबाट केन्द्रीय सदस्यहरु डा। गोविन्दराज पोखरेल, पुष्पा भुसाल, भरत शाह र चन्द्र केसीको नाम पठाइएको छ । तर पोखरेल, भुसाल, शाह र केसीसहित लुम्बिनीबाट मात्रै १२१ जनाको नाम सिफारिस भएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार