Tuesday April 16, 2024 | |

तरकारीमा विषदीको प्रयोग बढ्दो

featured-news

जनस्वास्थ्य माथि गैर जिम्मेवार बन्दै छ सरकार

काठमाडौं । महङ्गो पैसा तिरेको छ अनि, झलक्क देख्दा टलक्क छ भन्दैमा फलफूल तथा तरकारी खाइ नहाल्नुस् । तपाईंले सेवन गरेको फलफूल र तरकारीले तपाईंको स्वास्थ्यमाथि गम्भिर असर गर्न सक्छ । किनकी अहिले बजारमा पाईने अधिकांश फलफूल तथा तरकारी विषादीयुक्त भएको खुलासा भएको छ ।
विषादीको प्रयोग बढ्दो तर, परिक्षण फितलो
त्यसो त नेपालमा कृषिजन्य उत्पादनमा विषादीको प्रयोग गर्ने क्रम बढेको छ । गत आर्थिक वर्ष २०७२/७३ मा मात्रै ५ लाख ७४ हजार ६० किलो विषादी खपत भएको थियो । यो विषादी खरिदका लागि ६९ करोड ४८ लाख ४ हजार ७१ रुपैयाा खर्च भएको छ । सबैभन्दा धेरै विषादी तरकारीमा खपत हुने गरेको छ । बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीका अनुसार, तरकारीमा मात्रै ८५ प्रतिशतसम्म विषादी प्रयोग हुने गरेको छ ।
कृषकले बोट ठुलो बनाउन, फल धेरै फलाउन र लामो समयसम्म टिकाइ रहन आवाश्यकता भन्दा बढी मल र घातक बिषाधी प्रयोग गर्ने गरेका छन् । कृषकले माटोको उर्वरता नासिने ढंगले मल तथा बिषादी प्रयोग गर्ने तरिका नमिलाउदा उत्पादनमा धेरै समस्या देखिने गरेको छ । यता कृषिजन्य उत्पादनमा विषादीको प्रयोगबाट स्वास्थ्यमा पर्ने असरबारे सरकारी तवरबाट कुनै पनि अनुसन्धान गरिएको छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार विषादीकै कारण विश्वमा हरेक वर्ष ३ लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको छ । ४ करोड मानिसमा विषादीले कुनै न कुनै रूपमा असर गरेको हुन्छ । तर, विषादीको बढ्दो प्रयोग र असरका विषय बाहिर आएपनि विषादीको परिक्षण संयन्त्र भने एकदमै फितलो छ । नियमनकारी निकाय यति सम्म लाचार छन् की विषादी परिक्षण गर्ने मेसिनको समेत सहि सलामत प्रयोग गर्न सक्दैनन् ।
हो ब्यापारीले धेरै नाफा कमाउने होडबाजीका कारण बजारमा आएका फलफूल तथा तरकारीमा विषादी प्रयोग गरिंदा उपभोक्ताको स्वास्थ्यमाथी गम्भिर खेलवाड भैरहेको छ । बाली संरक्षण निर्देशनालय मातहतको द्रुत बिषादी अवशेष विश्लेषण इकाईले अर्गानिक फास्फेट र कार्वानेट नामक विसादी मात्र परिक्षण गर्ने गर्छ । भारत लगायत विभिन्न ठाउँवाट काठमाडौं आयात हुने फलफूल मुख्यत: कालिमाटी फलफूल तथा तरकारी बजार, कुलेश्वर र बल्खु तरकारी बजारमा भण्डारण गरेर कारोबार हुने गर्दछन् । तर बाहिरबाट भित्रयाइएका तरकारी तथा फलफुलको बाली संरक्षण निर्देशनालय मातहतको द्रुत बिषादी अवशेष विश्लेषण इकाईले कालिमाटी तरकारी बजारमा ल्याइएका नमुनाको मात्र परिक्षण गर्ने गर्छ । त्यो पनि बिहान ६ वजे भित्र भित्रिएका फलफूल र तरकारीको मात्रै ।
सार्वजानिक विदामा हुँदैन परिक्षण
अचम्म त के छ भने सार्वजनिक विदाको दिन त कालिमाटी भित्रिएका फलफूल तरकारीको पनि कुनै परिक्षण गरिदैन । हुनपनि जसले जे गरेपनि हुने । जिम्मेवार निकायले मानवस्वास्थ्यका लागि केही सोच्नै नपर्ने । लापरवाहीको यस्तो पराकाष्ठा कहिलेसम्म कायम रहन्छ ? तरकारीमा थुप्रै प्रकारका बिषादीहरु प्रयोग हुन्छन । तर, कालीमाटी तरकारी बजारमा रहेको परिक्षण इकाईले दुई प्रकारका रसायनको मात्र परीक्षण गर्छ । त्यस्तै कर्मचारीको वेवास्ता पनि उत्तिकै छ । सबै खाले विषादी परिक्षण गर्ने उपकरण नहुँदा मृत्यु बेच्नेहरु निर्धक्क छन् । उपलब्ध उपकरण पनि जनताको आँखामा छारो हाल्नका लागि उपयोग भइरहेको छ । यसखाले बेथीतिका कारण सर्वसाधारणको स्वास्थ्यमा जोखिम बढ्दो छ । एकातिर रसायनको परिक्षण गर्ने प्रयाप्त प्रविधी छैन । अर्कातिर भएको प्रविधिको पनि राम्ररी उपयोग हुन सकेको छैन । कर्मचारीको लापरवाही पनि त्यस्तै छ । ब्यापारीको जनता लुट्ने प्रबृत्ति पनि निरन्तर जारी छ । तर सम्वन्धित निकायको ध्यान कता छ ?

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार