Friday April 26, 2024 | |

कलंकी-कोटेश्वर सडकखण्ड: १० महिनामा ६ सयभन्दा बढी दुर्घटना

featured-news

काठमाण्डाै – विदेशको जस्तो झल्को दिने चक्रपथको कलंकी – कोटेश्वर सडकखण्ड हेर्दा जति आकर्षक देखिन्छ, त्योभन्दा बढी दुर्घटना हुने गरेको छ ।

उपत्यका ट्राफिक महाशाखाका अनुसार आर्थिक वर्ष २०७५÷०७६ को वैशाख मसान्तसम्म मात्र यस सडकखण्डमा ६ सय ६० दुर्घटना भएका छन् । यी दुर्घटनामा १० जनाको ज्यान गएको छ भने ४ सय ५८ घाइते भएका छन् ।

तर यो सडकखण्ड सञ्चालनमा आएदेखि नै दुर्घटना बढेको महानगरीय ट्राफिक प्रमुख वसन्त पन्तले बताउनुभयो ।

चीन सरकारको सहयोगमा निर्मित यो सडकको विस्तार कार्य पनि चीन सरकारले नै गरिदिएको हो । तर पर्याप्त मात्रामा आकासे पुल र बाटो काट्नको लागि व्यवस्थित जेब्राक्रस नभएका कारण दुर्घटना हुने गरेको पन्तको भनाइ छ ।

‘सडक अनुसारको सुरक्षा व्यवस्था नअपनाइँदा दुर्घटना हुने गरेको छ’, उहाँले भन्नुभयो, ‘सडक निर्माण गर्दा पैदल यात्रीलाई पनि ध्यानमा राख्नुपर्ने हो, तर त्यस्तो गरेको देखिदैन ।’

अपांगमैत्री पनि छैन

सडक हेर्दा राम्रो छ । कलंकीमा अण्डरपास पनि छ ।  तर अण्डरपास वरपर यात्रु चढाउने र ओराल्ने ठाउँमै पनि बाटो काट्ने कुनै व्यवस्था छैन । न जेब्राक्रस छ, न त आकासे पुल नै । रेलिङ नाघेर बाटो काट्नुपर्ने बिडम्बना छ । 

विज्ञहरु १० किलोमिटरको यो सडकखण्डलाई अपाङ्गमैत्री नभएको बताउँछन् । पैदल हिँड्नको लागि बनाइएका फुटपाथ पनि लौरो टेकेर हिँड्दा दुर्घटना निम्त्याउने खालका छन् ।

बन्न लागेका आकासे पुलहरु पनि त्यस्तै छन् । ह्वीलचियर जान नमिल्ने गरी बनाइएको आकासे पुलहरु शारीरिक अपाङ्गता भएका व्यक्ति अनुकूल छैनन् । काठमाण्डौ महानगरपालिकाका एक अधिकारीले भने, ‘शारीरिक अपाङ्गता समाजले चाह्यो भने यस सडकविरुद्ध मुद्धा दर्ता गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सहरका रिङरोडहरु अपाङ्गमैत्री हुनैपर्छ, खै अपाङ्गमैत्री ?’

बलियो सडक, कमजोर व्यवस्थापन

सडक बलियो छ । अन्तर्राष्ट्रिय मापदण्डमा निर्मित यस सडकमा एक फीट बाक्लो ग्राभेलमाथि १० सेन्टिमिटरको त पिच नै छ । 

यति बलियो सडक भए पनि सडक वरपरको खाली जमिनले सडक कुरुप देखिन्छ । कतै फोहोर फालिएको छ भने कतै बर्खे झार तथा गाँजाका बोटहरु उम्रिएका छन् । कतै असरल्ल तारहरु तथा सिमेन्टका भत्किएका पुराना संरचनाले सडक व्यवस्थापनको पाटो निष्क्रिय रहेको देखाउँछ ।

यो खाली ठाउँमा फूल रोप्न सकिन्छ । ज्याकाराण्डाका बोटहरु रोपेर सहरलाई ‘पर्पल सिटी’ बनाउन सकिन्छ । तर यासतर्फ कसैको ध्यान नगएको देखिंदैन । 

सरकारको किन यसतर्फ ध्यान छैन भन्ने प्रश्नमा सडक विभागका महानिर्देशक केशव शर्मा भन्नुहुन्छ, ‘सडक विस्तार गरेको एक वर्षसम्मको मर्मत सम्भारको जिम्मा पनि चीन सरकारले नै लिएकाले हामीले कुनै पनि नयाँ भौतिक संरचना निर्माण गर्न सक्दैनौँ ।’ 

तर सामान्य मर्मत तथा रोड सेफ्टीका लागि आफूहरु लागिपरेको उहाँले बताउनुभयो ।

दुर्घटना नियन्त्रणको लागि के हुँदैछ ?

यस सडकखण्डमा दिनहुँजसो हुने सवारी दुर्घटनालाई कम गर्न सडक विभागले रोड सेफ्टी इन्स्पेक्सन प्रतिवेदन अगाडि बढाएको छ । सडक विभाग अन्तर्गत ट्राफिक सुरक्षा शाखाले कलंकी कोटेश्वरको १० किलोमिटर खण्डको अध्ययन गरिरहेको र सुरक्षाका उपाय अपनाउने अभ्यासमा रहेको शाखाका प्रमुख इन्जिनियर दीप बाराहीले बताउनुभयो ।

‘यस खण्डमा दुर्घटना बढिरहेकाले हामीले रोड सेफ्टी इन्स्पेक्सन रिपोर्ट तयार गरिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘रिपोर्ट अनुसार ठाउँ ठाउँमा लाइट राख्ने, ट्राफिक चिन्हरु राख्ने, जेब्रा क्रस बनाउने तथा बाटोको छेउछाउमा रेलिङ लगाइने छ ।’

मान्छेको बढी ओहोरदोहोर हुने ठाउँ जस्तै एकान्तकुनाको यातायात कार्यालय, नख्खु दोबाटोलगायत ठाउँमा ट्राफिक प्रहरीको व्यवस्था गर्ने तथा निश्चित गति तोकेर मात्र गाडी चलाउन मिल्ने नियम लागू गर्नुपर्ने उहाँले बताउनुभयो ।

यसको लागि मात्रै ७ करोडको बजेट विनियोजन भएको छ । आकासे पुल निर्माणको लागि २१ करोडको छुट्टै बजेट छ । यो सात करोड सडकमा बत्ति राख्ने र केही ठाउँमा जेब्रा क्रस बनाउने काममा प्रयोग गरिनेछ । 

तर यति चौडा सडकमा जेब्रा क्रस निर्माण गर्न नहुने पनि इञ्जिनियर बाराही बताउनुहुन्छ । ‘हामीले त बाटो काट्नको लागि पुल नभएर बाध्यतावश जेब्राको प्रयोग गर्नुपर्ने भएको हो । नत्र यति चौडा सडकमा जेब्रा क्रस उपयुक्त होइन । यसले सवारी दुर्घटना निम्त्याउने सम्भावना हुन्छ ।’

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार यस्तो चौडा सडकको प्रत्येक पाँचसय मिटरमा एउटा आकासे पुल हुनुपर्ने उहाँ बताउनुहुन्छ । उनका अनुसार कलंकी कोटेश्वर सडकखण्डमा २० वटा पुल निर्माण गरिनुपर्ने हुन्छ ।

Source: ujyaaloonline.com

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार