Thursday November 21, 2024 | |

महिलाले पूर्ण सुरक्षित महसुस कहिले गर्ने ?

featured-news

कल्पना सानु भट्टराई

स्कुले जीवनमा महिला हिंसा के हो र यसलाई शब्द कसरी बुझ्ने भन्ने लाग्थ्यो । शिक्षक–शिक्षिकासँग सोध्दा एक वाक्यमा भन्नुहुन्थ्यो, ‘कुनै पनि महिलालाई कुटपिट गर्‌यो, दुःख दियो अथवा अमानवीय व्यवहार गर्‌यो भने त्यसलाई महिला हिंसा भनिन्छ ।’

खोइ सम्झनँ सकिनँ, तर उहाँहरूले भन्नुभएको तात्पर्य अहिले बुझ्दै छु । हो, त्यो बेला पनि सोच्ने गर्थें, ओहो मलाई पनि हिंसा गर्ने हो कि कसैले । अनि फेरि नियम–कानुनको सम्झना आउँथ्यो, अनि मन फुरुङ्ग हुन्थ्यो । टेलिभिजनमा सिनेमा हेर्दा अदालतमा भएका मुद्दा, फैसला जितेको अनि न्याय पाएको सम्झन्थेँ ।

जतिजति म बुझ्ने भएँ, त्यति नै हिंसात्मक समाचार ९विशेषतः महिला हिंसाका० सुन्नमा आए, तर न पीडितले न्याय पाए, न त अपराधीले सजाय । म यस्तै समाजकी एउटा छोरी, जो जहाँ–कहीँ जाँदा हिंसा हुने भय लिनुपर्ने अनि त्यो अप्ठेरो संघार पार गर्नुपर्ने १

प्रसंग जोड्न चाहेँ निर्मला हत्याकाण्डको । यो घटनालगत्तै न्यायका लागि आवाज जति चर्को रूपमा उठेको थियो, क्रमशः मत्थर हुँदै गयो । म यही समाजकी छोरी, जहाँ न्यायका लागि भिख माग्नुपर्छ, कानुनका पानाबाट न्याय बाहिर निस्कन सक्दैन । निर्मला हत्याकाण्ड अघि र पछि पनि थुप्रै महिला हिंसामा परेका छन् । राज्यले महिला हिंसा हुन नदिन ठोस कदम चालेको देखिँदैन ।

दिन प्रतिदिन बढ्दो महिलाहिंसालाई लिएर मन खिन्न हुन्छ । तराईमा दाइजोका निहुँमा महिलालाई जिउँदै जलाइन्छ । यस्ता घटना हुनुका पछाडिको कारण पहिल्याएर राज्य अगाडि बढेको देखिँदैन ।

हरेक दिन हरेक क्षण महिलाले यो समाजमा असुरक्षित महसुस गर्नुपर्छ । महिला सुरक्षित कहाँ छन्– घर, विद्यालय, कार्यालय तथा सार्वजनिक स्थलमा ? कतै महिलामाथि कुनै हिंसा भयो भने त्यसको अपराधीले सजाय नपाउँदै अरु सयौँ महिला हिंसामा परेका हुन्छन् । ठूला घटनापछि चेतनशील महिला काठमाडौंको माइतीघर मन्डलामा न्यायका लागि आवाज उठाउन पुग्छन् । सधैँ न्यायका लागि आवाज उठाउनुपर्ने ? कति महिला माइतीघर मन्डलामा आन्दोलन गरेर र धर्ना बसेर थाकेका छन्, अझै न्याय मिलेको छैन ।

जुनसुकै समाज, वर्ग, क्षेत्र र समुदायमा विभिन्न रूपमा महिलाहिंसाका घटना भइरहेका छन् । कार्यस्थल, शैक्षिक संस्थान, सार्वजनिक ठाउँ तथा घर–समाज जहाँसुकै महिला पूर्ण रूपमा सुरक्षित छैनन् । महिला तथा बालबालिकामाथि हुने हिंसाजन्य घटना न्यूनीकरणका लागि राज्यका सम्पूर्ण संयन्त्रले प्राथमिकताका साथ काम गर्नुपर्ने हुन्छ, तर त्यसरी काम भएको देखिँदैन ।

सार्वजनिक यातायात र सडक

सार्वजनिक यातायातमा महिला सुरक्षित छन् त ? त्यहाँ अझ आरक्ष सिट समेत तोकिएको छ । कतिपय सार्वजनिक सडकमा सिसी क्यामरा समेत जडान छन्, त्यसले काम गर्छ वा गर्दैन त्यो अर्को पाटो हो ।

सडकमा समेत विभिन्न रूपका महिलाहिंसा भइरहेका छन् । ठाउँ ठाउँमा राखिएको छ, ‘कहीँकतै महिला हिंसा भएको पाउनुभए हामीलाई खबर गर्नुस् ।’ थाहा छैन, यो समाजमा महिला हिंसाका घटना देखेपछि कतिले प्रहरी वा आधिकारिक निकायलाई खबर गर्लान् १

पुरुषलाई मात्र दोषी देखाउने मेरो उद्देश्य होइन, सबै पुरुष खराब अनि सबै महिला असल पनि हुँदैनन् । आफूमाथि हिंसा हुन लागेपछि कतिपय अवस्थामा महिला स्वयंले विरोध र प्रतिकार गर्न सक्नुपर्छ । सार्वजनिक यातायातमा दुई–चार सिट छुट्ट्याएर मात्रै हुँदैन, सडक, सार्वजनिक स्थल र सार्वजनिक सवारी साधनभित्र सबैतिर सुरक्षाको प्रत्याभूति गरिनुपर्छ । कतै घटना भइहाले पीडकलाई कडा कारबाही हुनुपर्छ ।

आज पाँचौँ राष्ट्रिय महिला अधिकार दिवस, ‘महिला हक अधिकार ः सबैको साझा सरोकार’ नाराका साथ दिवस मनाइँदै छ । २०६३ जेठ १६ गते तत्कालीन पुनः स्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चारवटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनलाई स्मरण गरी हरेक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाउँदै आइएको छ । महिला अधिकार दिवस मनाइरहँदा हामीसँग थुप्रै प्रश्न अनुत्तरित छन्– के महिलाले पाउनुपर्ने हक–अधिकारको सुनिश्चित भएको छ रु महिलाले आफ्ना लागि आवाज उठाउने वातावरण बन्न सकेको छ ?

अहिले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । यो आफैँमा अन्यायपूर्ण छ– समान न्यायका लागि महिला र पुरुषको बराबर सहभागिता हुनुपर्छ, यसमा पनि विभिन्न पिछडिएको वर्ग, क्षेत्र र समुदायलाई न्याय गरिनुपर्छ ।

अर्कोतिर शिक्षा र तालिमहरुमा जोड दिएर महिला जनशक्ति तयार गर्नुपर्ने पनि छ । गणतन्त्रपछि सामाजिक न्यायका लागि विभिन्न नीतिगत तथा संस्थागत प्रयास भइरहेका छन्, तर तुलनात्मक रूपमा महिला सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक एवं आर्थिक रूपमा पछाडि परेका छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार