Friday March 29, 2024 | |

कम्युनिस्ट आन्दोलन र अबको बाटो

हामी नेपालीहरू अरूले गरेको कामको ज्यादै प्रशंसा गर्छौ । त्योभन्दा ठूला काम हामी आफैँले गरेका हुन्छौं तर हामी त्यसलाई या त देख्दैनौं या कम ठान्छौं । हामीले नेपालमा जुन मोडलका क्रान्तिहरू गर्दै आएका छौ, त्यो दुनियाको कम्युनिस्ट आन्दोलनमा, क्रान्तिमा विशिष्ट योगदान दिने खालका छन् । लेनिनले गर्नुभएको अक्टोबर क्रान्ति, माओत्से तुङले गर्नुभएको चिनियाँ क्रान्तिबाट हामी रोमाञ्चित हुन्छौं तर पछिल्लो दशकदेखि आज एमाले र माओवादी केन्द्रको एकतासम्म आइपुग्दा हामीले नेपालमा जुन क्रान्ति गर्यौ र त्यसको अगुवाइ पछिल्लो दिनमा केपी ओली र प्रचण्डले गर्दै हुनुहुन्छ, यो कुनै अक्टोबर वा चिनियाँ क्रान्तिभन्दा कम मूल्यको क्रान्ति होइन । यसको मूल्य धेरै माथि छ ।

हामीले अमेरिकाको स्वतन्त्रताको संग्राम हाम्रो विश्वविद्ययालयमा पढाउँछौं । बेलायतको मेग्नाकार्टाको इतिहास हाम्रो विश्वविद्यालयमा पढाउँछौं । युरोपतिरको पुँजिवादी क्रान्तिको इतिहास, चाहे त्यो टेनिसकोर्टको इतिहास होस्, चाहे अरू ठूला क्रान्तिका इतिहास किन नहुन्, ती हाम्रा विश्वविद्यायलयमा पढाइन्छन् । तर, अब हामीले अमेरिका, बेलायतलगायतका पाठ्यक्रम बनाउने विद्वानहरूलाई भन्नैपर्छ–नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास पढाऊ अब । प्रचण्ड र केपी ओलीले हामी अहिल्यै गएर पढाउँछौं भन्नुहुन्छ भने पनि हामी उहाँहरूलाई बिदा दिन तयार छौं । पाँच–सात वर्ष यतै राजनीति गर्न दिनुस् भन्नुहुन्छ भने त्यसपछि गएर पढाए पनि हुन्छ । किनकि, उहाँहरू भनेको रोल मोडल हो । कसरी नेपालमा संविधानसभा–व्यवस्थापिकाको बैठकले २ सय ५० वर्षभन्दा लामो इतिहास बोकेको एउटा सामन्ती राज्यव्यवस्था र त्यसको नेतृत्व गरेको राजसंस्थालाई बिदा गर्यो ? फलानो मितिबाट तिमी दरबार छाडेर जानू भनेकै मितिमा उनी दरबार छाडेर गए ।

Comments Below

विज्ञापन