Tuesday March 19, 2024 | |

विश्व शान्तिको केन्द्र लुम्बिनी नै अस्तव्यस्त

featured-news

१५ पाैष, रुपन्देही । विश्व शान्तिको केन्द्र लुम्बिनी अस्तव्यस्त बन्दै गएको छ । लुम्बिनी विकास कोषमा कार्यरत कर्मचारीको आन्दोलन र कोष पदाधिकारीको गैर जिम्मेवारपनका कारण लुम्बिनी अस्तव्यस्त  बन्न पुगेको हो । लुम्बिनीलाई पवित्र र शान्ति क्षेत्रको रूपमा परिभाषित गर्ने गरिए पनि कोषमा कार्यरत पदाधिकारी र कर्मचारीको मनपरीतन्त्रका कारण समय समयमा लुम्बिनीमा अशान्ति मच्चिने गरेको छ । विश्वलाई शान्तिको सन्देश दिने लुमिबनीले आफूले भने शान्तिको सास फेर्न नपाएको धेरैले महसुस गरेका छन् । पदाधिकारी र कर्मचारीहरूको आ–आफ्नै स्वार्थका कारण लुम्बिनीले आशातित फड्को मार्न सकिरहेको छैन ।

कोषका कर्मचारी रविन्द्रनाथ शुक्ला सेवा करार, करार तथा ज्यालादारी कर्मचारीको अगुवाइमा आमरण अनशनमा बसेको आज १० दिन भएको छ । पुसको चिसो ठण्डीमा आमरण अनशनमा बसेको नौ दिन हँुदासम्म पनि कर्मचारीले गरेको आन्दोलनलाई रोक्नेतर्फ कोष प्रशासन र सम्बन्धित निकायको पर्याप्त ध्यान पुग्न सकेको छैन । विश्व शान्तिको केन्द्र मानिने लुम्बिनीमा पदाधिकारीले कर्मचारीका मागलाई सम्बोधन गर्न नसक्दा उत्पन्न द्वन्द्वले लुम्बिनीको समग्र गतिविधि प्रभावित बनाएको लुम्बिनी विकास सरोकार मञ्चका अध्यक्ष श्रीराम यादवले बताउनुभयो ।

विगत लामो समयदेखि विभिन्न ५ सूत्रीय माग राख्दै आन्दोलनमा होमिएका कर्मचारीका समस्या समाधानमा व्यवस्थापकीय पक्ष गैरजिम्मेवार बनिदिँदा लुम्बिनीको समग्र विकासलाई समेत प्रभावित बनाएको उहाँको जिकिर छ । विश्व शान्तिको आस्था केन्द्र लुम्बिनीमा कर्मचारीले आफ्नै पदाधिकारीविरुद्ध आमरण अनशन जस्तो अन्तिम विकल्पको आन्दोलन थालेका छन् । यस्तो स्थितिमा समस्याको तत्काल सम्बोधन हुनुपर्ने र जिम्मेवार पदाधिकारीले तत्काल राजीनामा दिनुपर्ने लुम्बिनी धर्मोदय उपसमितिका सदस्य एवम् स्थानीय समाजसेवी मनमोहन चौधरीको भनाइ छ । लुम्बिनी पर्यटन व्यवसायी संघका अध्यक्ष नरेन्द्रकुमार मिश्रले विकास कोषमा स्थानीय बासिन्दा र कर्मचारीलाई बेवास्ता गर्ने काम भइरहेको गुनासो गर्नुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष सिद्धार्थ मर्हजनले लुम्बिनीमा भएको आन्दोलनलाई छिट्टै समाधान गरिनुपर्ने बताउनुभयो । उहाँले कर्मचारीहरूको मागलाई आफूले आफ्नो ठाँउबाट सम्बोधन गर्ने सक्दो प्रयत्न गरेको बताउँदै समस्या समाधानका लागि बाधक पक्षले बाटो खोलिदिनुपर्ने धारणा राख्नुभयो । उहाँका अनुसार कर्मचारीले उठाएका मागको अध्ययन गर्न र लुम्बिनीमै वार्ता गर्न मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा छानविन तथा वार्ता समितिसमेत यतिखेर लुम्बिनी  आइपुगेको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार