Thursday March 28, 2024 | |

विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्धता गराउन सुरू

featured-news

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ भएको छ ।

बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो अभियानको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री दाहालले रोजगारीका क्रममा इजरायलमा रहेकी मन्जु थपलियाका श्रीमान् गोपाल संग्रौलालाई सामाजिक सुरक्षाको परिचयपत्र दिएर वाटो खुल्ला गरेका हुन् ।

पेन्सनसहितको सुविधा पाउने गरी कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गराउन सुरु गरेपछि आबद्धताको बाटो खुलेको हो ।

श्रम स्वीकृति लिने, नवीकरण गर्ने बेला र नवीकरण गर्ने बेला नभएकाहरू पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत सहभागी हुन सकिने कार्यक्रममा जानकारी गराइयो । कोषका अनुसार त्यसका लागि हरेक महिना २ हजार २ रुपैयाँ बुझाउनुपर्छ । यो रकम एकमुष्ट पनि बुझाउन सकिन्छ । सात महिनाभन्दा बढीको रकम जम्मा गरेमा १० प्रतिशत छुट पाइने छ । खल्ती, ईसेवा र कनेक्ट आईपीएसमार्फत नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको कोषले बताएको छ ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा ३० अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ । कोषले योगदानकर्तालाई तीन अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । २०७५ मंसिर ११ गतेदेखि एमाले सरकारको पालामा योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो ।

यो योजना सुरू भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक लाभान्वित हुने विश्वास जनाइएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार