Friday March 29, 2024 | |

नेपाल भ्रमणवर्ष घोषणा हुँदै, नेपालका विमानस्थलको अवस्था भने नाजुक

featured-news

काठमाडौं । सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० अब दुई हप्तापछि नै शुरु हुन्छ । घोषणा अनुसार, जनवरी १ अर्थात पुस १६ गते काठमाडौँको दशरथ रंगशालासहित सातवटै प्रदेशबाट औपचारिक रुपमा भ्रमणवर्षको शुभारम्भ हुनेछ । तर, भ्रमणवर्ष नजिकिँदै गर्दा पूर्वाधार विकास भने ठूलो चुनौतीका रुपमा देखिएको छ । त्यसमा पनि समयमै विमानस्थल नबन्दा पर्यटकलाई आवतजावतमा समस्या हुने देखिएको छ ।
नेपालमा ५६ वटा विमानस्थल छन् । जसमध्ये ३२ विमानस्थलको अवस्था सन्तोषजनक छैन् । मनाङ विमानस्थलमा कालोपत्रेको काम गरिएको भएपनि संचालनमा आउन सकेको छैन । नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक त्रिलोचन पौडेलका अनुसार, अहिले ७ आन्तरिक विमानस्थलहरुको निर्माण कार्य चलिरहेको छ । अन्य १७ विमानस्थल विभिन्न कारणले बन्द छन् ।
२० लाख पर्यटकको लक्ष्य हासिल गर्न प्रत्येक दिन ६ हजारको दरमा पर्यटक भित्रनु पर्छ । त्यसका लागि चालु अवस्थामा रहेको एकमात्र त्रिभवुन अन्र्तराष्ट्रिय विमानस्थलको भरमा परेर पर्यटक चाप थेग्नु पर्ने छ । यसको विकल्पमा रहेका ३ निर्माणाधिन विमानस्थल मध्ये पहिलो प्राथामिकतामा राखिएको निजगड विमानस्थल विवादै विवादले गाँजिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो विमानस्थल निर्माणमा रुख कटानदेखि सुकुम्बासी बस्ती स्थानान्तरण, जग्गाको मुआब्जा र निर्माणको मोडालिटीमै विवाद छ ।
त्यसमा पनि सर्वाेच्च अदालतले मंसिर २० गते काम रोक्न अन्तरिम आदेश दिएसंगै यो विमानस्थल निर्माणको अत्तोपत्तो नै छैन । अन्र्तराष्ट्रिय विमानस्थलकै रुपमा रहेको पोखरा विमानस्थलमा ५२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । छाना लगाउने, कन्ट्रोल टावर निर्माण र टर्मिनल भवन निर्माणको काम चलिरहेको छ । गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलको ८४ प्रतिशत निर्माणकार्य सम्पन्न भएपनि भ्रमणबर्ष अगाबै संचालन हुने सम्भावना निक्कै कम छ ।
अहिले सबै आन्तरिक उडानहरु काठमाडौबाट हुदै आएका छन् । एक विमानस्थलबाट अर्काे ठाउँ जान चाहने पर्यटकका लागि काठमाडौं विमानस्थललाई नै ट्रान्जिट बनाउनुपर्छ । यस्ता क्षेत्रिय विमानस्थलको संचालनमा सरकारले कुनै तयारी गरेको छैन । त्यस्तै सडक सञ्जाल, स्थानीय तहको पूर्वाधार विकास, पदमार्गलगायत पर्यटकीय गन्तव्यमा सहज रुपमा पुग्ने अवस्था र बस्ने वातावरणलाई ध्यान दिन आवश्यक छ । नत्र लामो प्रचार र ठूलो खर्च गरेर तामझामका साथ मनाउने तयारी गरिएको भ्रमणवर्ष प्रचारमै सीमित हुनेछ । पर्यटनलाई आर्थिक उपार्जनको माध्यम बन्न सरकार र सरोकारवाला दुवै निकाय गम्भीर हुन जरुरी छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार