Saturday April 27, 2024 | |

मेडिकल माफिया प्रधानमन्त्री ओलीसँग किन पुगे सिंगापुर ?

featured-news

प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर सिंगापुरमा उपचार गराइरहेका छन् । उपचारपछि उनी आइतबार नेपाल फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले सिंगापुरमा गराउने उपचार खर्च नेपाल सरकारले नव्यहोर्ने कुरा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल वास्कोटाले सार्वजनिक गरिसकेका छन् । यदि प्रधानमन्त्री ओलीको उपचार तथा त्यहाँको बसाईलगायत अन्य खर्च सरकारले नव्यहोर्ने हो भने कसले व्यहोर्दैछ भनि प्रश्न उठेको छ । 

संसारकै महँगोमध्ये सिंगापुर बसाईमा करोडौं रुपियाँ खर्च हुने देखिन्छ, त्यो खर्च पक्कै पनि प्रधानमन्त्री ओलीले तिर्न सक्दैनन् । अनि यो खर्च कसले व्यहोर्दैछ होला भन्ने प्रश्न समेत खडा भएको छ । श्रोतका अनुसार प्रधानमन्त्री ओली सिंगापुर भ्रमण र त्यसको खर्च पर्सा वीरगञ्जका मेडिकल कलेज सञ्चालक बसरुद्दीन अन्सारीले व्यहोरिरहेका छन् । प्रधानमन्त्री ओली साउन १८ गते सिंगापुर पुगेका थिए । त्यसको दुई दिनपछि अन्सारी त्यहाँ पुगेका हुन् । 

प्रधानमन्त्री ओलीको खर्च अन्सारीले व्यहोर्ने कुराको पुष्टि एउटा फोटोले समेत गरेको छ । सिगांपुरबाट एउटा फोटो सार्वजिक भएको छ । त्यो फोटोमा अन्सारीका साथमा प्रधानमन्त्री ओलीका जनसम्पर्क सल्लाहकार अच्युत मैनाली रहेका छन् । सल्लाहकार मैनाली ओलीका साथमा सिंगापुर गएका छन् । 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन आर्यालले भने प्रधानमन्त्री ओलीले आफ्नो उपचार खर्च आफै व्यहोर्ने दावी गरे । उनले भने, ‘सिगांपुर पर्यटकीय क्षेत्र हो, त्यति धेरै खर्च लाग्दैन त्यसमा पनि उहाँले त्यहाँको सरकारी अस्पतालमा उपचार गराइरहनु भएको छ , त्यसैले धेरै खर्च लाग्दैन प्रधानमन्त्रीज्यु आफै व्यहोर्नु हुन्छ ।’ तर अन्सारीको प्रधानमन्त्री ओलीसँगको निकटता र उनीसँगैको भ्रमणले त्यहाँको खर्च उनलै बेहोरिरहेको श्रोतले बताएको छ । अन्सारीले यो कुरा आफु निकट र परिवारलाई समेत बताएको श्रोतको दाबी छ ।

अन्सारी मेडिकल माफिया हुन् । बीरगञ्ज निवासी उनले सरकारलाई कर नतिर्ने र उल्टै अनुगमनमा गएका कर्मचारीहरुलाई थर्काएर पठाउने गरेको कुरा पटक पटक बाहिर आएको छ । उनले काठमाडौको अनामनगरमा मेडिकल कलेज स्थापना गरेका छन् तर हालसम्म सरकारले त्यसलाई मान्यता दिएको छैन । त्यसका लागि उनले प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई प्रभावमा पार्दै आइरहेका छन् । 

तत्कालीन एमालेका डोनरहरुमध्ये अन्सारीको नाम पहिलो नम्बरमा आउँछ । उनले एमालेका नेतालाई मात्र होइन, माओवादीका नेताहरुलाई पनि प्रभावमा पार्दै आइरहेका छन् । कहिले एमाले त कहिले माओवादी हुने गरेका अन्सारी स्थानीय चुनावमा तत्कालीन एमालेको तर्फबाट वीरगञ्ज महानगरपालिकामा मेयरका उम्मेदवार थिए । तर उनले चुनाव जित्न सकेनन् । 

त्यसअघि २०७० मा भएको दोस्रो संविधानसभा चुनावमा उनी तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । त्यतिबेला एमालेले टिकट नदिँदा उनी माओवादी केन्द्रमा प्रवेश गरेर प्रचण्डलाई प्रभाव पारेर टिकट हात परेका थिए । तर त्यतिबेला पनि उनले जितेनन् । 

त्यति मात्र होइन, भारतीय मिडियाहरूले नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक समेत रहेका अन्सारी अन्डरवल्र्ड डन दाउदको नेपाल एजेन्ट रहेको आरोप समेत लगाउँदै आएका छन् ।  भारतको निजी समाचार एजेन्सी आईएएनएसले नक्कली नोटसहित पक्राउ परेका युनुस अन्सारीका साथै बसरुद्दीन अन्सारीमाथि पनि दाउद इब्राहिमसँग सम्बन्ध रहेको आरोप लगाएको छ । 

बसरुद्दीनले एउटा निजी प्रतिष्ठान नेसनल मेडिकल कलेज चलाउँछन, जसमा दाउदको लगानी रहेको आरोप भारतीय मिडियाले लगाउने गरेको छ । त्यसबाट बच्नका लागि पनि उनले राजनीतिक दलमा ठूलो लगानी गर्दै आएका छन् । नेताहरुलाई प्रभावमा पारेर शक्ति केन्द्रका वरिपरि रहने अन्सारीले भित्रभित्रै नक्कली नोटको कारोवार गर्दै आएको आरोप समेत लाग्दै आएको छ । 

ratopati.com

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार