Friday April 26, 2024 | |

भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई महारथीको दर्ज्यानी चिह्न प्रदान

featured-news

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छन् ।

शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले दर्ज्यानी चिह्न प्रदान गरेकी हुन् । नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।

तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ महारथीको सम्मान लिएका थिए । यस्तो सम्मान पाउने मनोज पाण्डे भारतका १९ औं सेना प्रमुख हुन् ।

गत वर्ष नोभेम्बरमा नेपालका प्रधानसेनापति जनरल प्रभुराम शर्मालाई पनि राष्ट्रपति रामनाथ कोविन्दद्वारा नयाँ दिल्लीमा आयोजित एक समारोहमा भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो ।

सो समारोहपछि जनरल पाण्डेले नेपालका सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुभयो । भेटका क्रममा पाण्डेले सो सम्मानका लागि राष्ट्रपति भण्डारीप्रति आभार प्रकट गर्नुभयो ।

आज बिहान आयोजित एक औपचारिक कार्यक्रममा भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभयो । त्यसपश्चात नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहमा भारतीय सेनाका प्रमुख जनरल पाण्डेलाई सम्मान गारत अपर्ण गरियो ।

त्यसपछि वहाँले नेपाली समकक्षी जनरल प्रभुराम शर्मासँग भेटवार्ता गर्नुभयो । भेटवार्ताको क्रममा दुवै पक्षबीच दुई देशका सेनाबीच लामो समयदेखि रहिआएको सम्बन्धलाई थप सुदृढ बनाउने बारे छलफल भयो । नेपाली सेनाका वरिष्ठ अधिकारीहरुले भारतीय सेना प्रमुखलाई ब्रिफिङ्ग गरे ।

भारत सरकारको तर्फबाट जनरल मनोज पाण्डेले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न हेतु हलुका सवारी साधनसहित विविध तालिम उपकरण उपहारस्वरुप प्रदान गर्नुभयो । नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माको निमन्त्रणामा भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे नेपालको पाँचदिने भ्रमणका लागि मिति २०७९ भाद्र १९ गते काठमाडौं आउनुभएको हो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार