Saturday April 27, 2024 | |

डेंगुबाट २५ जनाको मृत्यु, देशभर २० हजार संक्रमित

featured-news

काठमाडौँ– तीन महनादेखि सुरुभएको डेँगुबाट २० हजार हराहारीका मानिस संक्रमित भएका छन् । तीव्र रुपमा फैलिइरहेको डेंँगु मृत्यु हुनेको संख्या २५ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ५ गतेसम्म संक्रमितको संख्या १९ हजार ७६६ र मृतकको संख्या २५ पुगेको हो ।

यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै काठमाडौंमा पाँच हजार ४२२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा पाँच हजार २०६ र भक्तपुरमा ७८६ गरी उपत्यकामा डेंँगु संक्रमितको संख्या एघार हजार ४१४ पुगेको छ । उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ९७७ जनामा संक्रमण देखिएको छ ।

संक्रमितको संख्या दुई सयभन्दा माथि रहेका जिल्लामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी र कैलाली छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या दुई सयभन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।

नेपालमा डेँंगु संक्रमण नियन्त्रणबाहिर गइसकेकाले अबको विकल्प लामखुट्टे निर्मूल अभियान नै भएको चिकित्सकहरु बताउँछन् । सरकारका सबै तह र जनस्तरबाट घर, कार्यालय, शैक्षिक क्षेत्र तथा बजार क्षेत्रमा लामखुट्टे निर्मूल गर्न अभियान नै चलाउनुपर्ने उनीहरुको सुझाव छ ।

गतवर्ष असोज अन्तिमसम्म ५४० जनामा देखिएको डेंगी संक्रमण यस वर्ष कात्तिक अन्तिमसम्म नै देखिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आकलन छ । काठमाडौं उपत्यकामा नै कुल स्रक्रमितको आधा बिरामी छन् । तिनको उपचारका लागि अस्पतालमा ठाउँको चर्को अभाव छ । एउटै शैयामा ३ जनासम्म राखेर उपचार भइरहेको छ ।

एक प्रकारको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने र संक्रमित व्यक्तिबाट लामखुट्टेले अर्को व्यक्तिमा सार्ने हुनाले डेंँगुको संक्रमण महामारीकै शैलीमा फैलन्छ । यसको नियन्त्रणको उत्तम उपाय लामखुट्टे फैलन नदिनु नै हो । तर, टोल बस्तीहरूमा लामखुट्टे नियन्त्रणका लागि कुनै अभियान वा कार्यक्रम भने चलाइएको छैन ।

महामारीका अवस्थामा सुरुमा सरकार केही अलमलिनु स्वाभाविक भए पनि डेंँगुका हकमा सरकार गैरजिम्मेवार देखिएको छ । नेपालमा डेंँगु देखिन थालेको दुई दशक पुग्न लाग्दासमेत यसको नियन्त्रणका उपाय खोजिएको छैन् ।

जनस्वास्थ्य विज्ञहरूले जानकारी, स्रोत र क्षमता हुँदाहुँदै पनि लापरबाही गरेकाले डेंँगु नियन्त्रण नगरिएकोमा सरकारप्रति आक्रोश प्रकट गरेका छन् । उनीहरूको आरोप सही हो र त्यसका लागि तीनै तहको सरकारका पदाधिकारी दोषी छन् । यसैले डेँंगुबाट मर्नेहरू सरकारकै हेलचेक्य्राइँबाट मरेका हुन् भन्नु अन्यथा नहुने उनीहरुको तर्क छ ।

डेँंगु फैलन नदिने जिम्मेवारी परिवार, समुदाय र सरकार सबैको हो । परिवारतहदेखि नै डेँंगुको जोखिम र त्यसबाट जोगिन अपनाउन सकिने उपायबारे सजग हुनु जरूरी छ । कम्तीमा घरभित्र र वरपर पानी जम्ने खाल्टाखुल्टी पुरेर लामखुट्टे फैलन नदिन सकिन्छ ।

यसैगरी समुदायस्तरमै पनि लामखुट्टे फैलन सक्ने ठाउँ खोजेर त्यसलाई पुर्ने वा कीटनाशक विषादी छर्केर सङ्क्रमण नियन्त्रणमा सहयोग गर्न सकिन्छ । तर, यी सबैका लागि पनि सरकारले जनतालाई उत्प्रेरित भने गर्नुपर्छ ।

व्यक्तिगत घरहरूमा परिवारलाई सजग गराउने र विद्यालय, पार्कहरूजस्ता सार्वजनिक ठाउँमा निगरानी र नियन्त्रण गर्ने हो भने महामारी नबन्दै नियन्त्रण हुनसक्छ । घना बस्तीहरूमा केन्द्रित लामखुट्टे नियन्त्रण अभियानको नेतृत्व स्थानीय तहले लिनुपर्ने आवाज पनि उठिरहेको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार