Thursday April 25, 2024 | |

सबैको निशानामा उपेन्द्र यादव, चुनाव जित्न कठिन

featured-news

काठमाडौं । आगामी १० वैशाखमा हुने उपनिर्वाचनका कारण बारा जिल्लाको राजनीति मधेसको गर्मीजस्तै गर्माएको छ । अहिले कलैयामा विभिन्न पार्टीका शीर्ष नेताको आउजाउ बढेको छ । सबैको ‘टार्गेट’मा परेका छन् जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव । यादव बारा २ मा हुने उपनिर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनको साझा उम्मेदवारसमेत हुन् ।

अहिले भइरहेको चुनावी सभा, बैठक, कार्यक्रममा पुग्ने अधिकांश नेताले जसपा अध्यक्ष यादवको चर्को रूपमा विरोध गरिरहेका छन् । यादवको विरोध गर्दै उनीहरूले आफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गरिरहेका छन् । आफ्ना उम्मेदवार विजयी भए बारासहित मधेसको विकास, समृद्धिका लागि काम गर्ने उनीहरूको दाबी छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न बारा पुगेका थिए । महागढीमाई नगरपालिकाको वरियारपुरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले यादवको चर्को विरोध गरे । उपनिर्वाचनमा यादव विजयी भए केही नगर्ने बताउँदै ओलीले मधेसको विकासका लागि एमाले उम्मेदवार पुरुषोत्तम पौडेललाई मतदान दिन आग्रह गरे ।

कलैयाको सिद्धेश्वर माविस्थित क्रिकेट खेलमैदानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले यादवलाई ‘फिरंगी’को संज्ञा दिए । सप्तरी–२ मा ४ मंसिरमा भएको निर्वाचनमा यादवलाई पराजित गर्दै राउत दोब्बर मतले प्रतिनिधिसभामा निर्वाचित भएका थिए । ‘उपेन्द्र यादव ‘फिरंगी’ हुन्,’ राउतले भने, ‘सप्तरीका जनताले जसरी हराए, त्यसरी नै बारामा पनि हराउँछ ।’ जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहा स्थायी भएको बताउँदै उनले स्थानीय नेतालाई नै विजयी बनाउन र टुरिस्ट उम्मेदवारलाई बहिष्कार गर्नुपर्ने बताए ।

आमजनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले यादवलाई ‘बहुरुपीया’ रहेको संज्ञा दिएका छन् । मधेसी जनतालाई ठग्दै आएका मधेस विरोधी बारामा चुनाव लड्न आएको भन्दै साहले यादवलाई पराजित गर्न आआफना ठाउँबाट लाग्नुपर्ने बताए । एमाले अध्यक्ष ओली, जनमत अध्यक्ष राउत, आजपा अध्यक्ष साहसहितका नेताले यादवका विरोधमा उत्रे पनि यादवले कुनै प्रतिक्रिया जनाएका छैनन् । उनी मौन रहेरै मतदातासँग भेटघाट गरिरहेका छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार