Friday April 19, 2024 | |

स्थानीय तहको निर्वाचन बैशाखमै सम्पन्न गर्न सत्तारुढ गठबन्धनबीच सहमति

featured-news

काठमाडौं – सत्तारुढ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सहमत भएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरु आवद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै सम्पन्न गर्ने सहमति भएको हो ।

संविधानमा व्यवस्था भए अनुसार नै स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्ने सहमती भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने विषयमा निर्वाचन आयोगसँग लगातार छलफल भईरहेको जानकारी दिनु भएको थियो ।

निर्वाचन आयोगले सरकारलाई बैशाख भित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्थाबारे जानकारी गराउँदै बैशाख १४ गते एकै चरणमा र दुई चरणमा भए बैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गराउनुपर्ने मिति समेत प्रस्ताव गरिसकेको छ ।

बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ दलका उम्मेदवारहरुको विजय सुनिश्चित गराउने विषयमा पनि बैठकमा छलफल गरिएको मन्त्री कार्कीले बताउनु भयो । राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर उम्मेदवारी दिएका छन् ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार