Saturday September 21, 2019 | |

सगरमाथामा ६७ वसन्त

featured-news

भोजेन्द्र बस्नेत- विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको बुधबार ६६ वर्ष पूरा भएको छ । सन् १९५३ को मे २९ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारी पहिलो पटक सगरमाथाको शिखरमा पुगेका थिए । सन् १९५३ देखि यस पटक समेत गरी ६७ वटा वसन्त ऋतुमा सगरमाथा आरोहण भएका छन् । केही वर्ष शरद ऋतुमा समेत आरोहण भएको छ ।

सन् २०१८ सम्म ५ हजार ९२१ जनाले सरकारसँग अनुमति लिएर सगरमाथा आरोहण गरेका छन् । यस वर्ष अनुमति लिएका ३८१ जना गएकोमा आरोहणको यकिन तथ्याङ्क आइसकेको छैन । यस वर्ष आरोही र आरोहण सहयोगी गरेर ६ सय भन्दा बढीले आरोहण गरेको पर्यटन विभागले जनाएको छ । अनुमति लिएका संख्याकै हाराहारीमा सहयोगी पनि शिखरमा पुग्ने भएकोले अहिलेसम्म १२ हजार भन्दा बढी आरोही शिखरमा पुगेको पर्यटन विभागले बताएको छ ।

१७१ वर्ष अगाडि अर्थात सन् १८४९ मा ब्रिटिस सर्भे अफ इण्डियाले सर्वेक्षण गरी विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा भएको प्रमाणित गरेको थियो । अग्लो शिखर भनि चिनिएको एक सय ४ वर्षपछि सगरमाथाको शिखरमा मानिसको पाइला पुग्यो । मानिसको पाइला शिखरमा पुगेसँगै सगरमाथाको ख्याती पनि शिखरतर्फ उक्लियो । विश्वभर चर्चा सुरु भयो । साहसिक काम गर्न रुचाउनेहरु सगरमाथा चढ्नेबारे सोच्न थाले ।

वर्षमा बढीमा ८/१० दिन मात्र सगरमाथा आरोहणका लागि अनुकूल मौसम हुन्छ । अहिले यही समयमा सयौं आरोहीहरु शिखरतर्फ उक्लन्छन् । आरोहण शुरुवातीको वर्षहरुमा भन्दा अहिले निकै सजिलो पनि भएको छ ।

पहिलो सफल आरोही समूहमा सहभागी नाम्चेका कान्छा शेर्पा भन्नुहुन्छ ‘पहिले काठमाण्डौ हिँड्नुपर्थ्यो, झण्डै २ महिनाका लागि खानेकुरादेखि बन्दोबस्तीका सामाग्री सबै लैजानु पर्थ्यो, कपडा तथा उपकरणहरु सजिला र उपयोगी थिएनन्, सिपालु र बाटो देखेका पथप्रदर्शकहरु थिएनन्, तर अहिले निकै सजिलो छ ।’

अहिले बिमानबाट लुक्ला वा कतिपय हेलिकोप्टरबाट त्योभन्दा माथि पनि पुग्छन् । अनुभवी पथप्रदर्शकहरु तयार छन्, निकै हलुका र त्यहाँको मौसम अनुकूल कपडाहरु पाईन्छ्, अक्सिजनको सिलिण्डरदेखि अरु उपकरणहरु पनि सुधारिएका छन् । पैसा तिरेपछि पथप्रदर्शकहरुले बन्दोबस्तीको कामसँगै अघि पछि लागेर सहयोग गर्दै आरोहीलाई शिखरमा पुर्‍याएर आधार शिविरसम्म ल्याईदिन्छन् । यसैले अहिले आँखा नदेख्नेदेखि खुट्टा नभएकाहरु पनि सगरमाथा चढ्ने आँट गर्न थालेका छन् । 

कसरी पुगिन्छ सगरमाथा ?

लुक्लासम्म काठमाण्डौबाट हवाइ जहाजमार्फत पुग्न सकिन्छ वा सल्लेरी हुँदै आधा बाटो गाडी र पैदल हिँडेर पनि लुक्ला पुग्न सकिन्छ । लुक्लाबाट सुरु हुन्छ मनै लोभ्याउने प्राकृतिक छटा सहितको यात्रा ।

लुक्लाबाट फाक्दिङ हुँदै झण्डै ९/१० घण्टामा नाम्चे पुगिन्छ । ३ हजार ४ सय ४० मिटरको उचाइमा रहेको नाम्चे बजार सगरमाथाको प्रवेशद्वार हो ।  

नाम्चे बजारबाट तेङ्बोचेका लागि पैदल यात्रामा निस्कन सकिन्छ । नाम्चेबाट ११ किलोमिटरको दूरीमा रहेको तेङ्बोचे ५ घण्टाको पैदल यात्रापछि पुग्न सकिन्छ । ३ हजार ८ सय ६० मिटरको उचाइमा रहेको तेङ्बोचेबाट सगरमाथासहित अमादब्लम, ल्होत्से, नुप्त्से र अरु हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

तेङ्बोचेबाट दिङ्बोचेका लागि यात्रा शुरु हुन्छ । १२ किलोमिटरको दूरीमा रहेको दिङ्बोचे पुग्न तेङ्बोचेबाट ५ घण्टा हिँड्नुपर्छ । ४ हजार २ सय ५० मिटरको उचाइमा रहेको डिङ्बोचे शेर्पा गाउँ हो, जहाँ मौलिकता अझै बाँकी छ । 

दिङ्बोचेमा खाजा खाएर लोबुचेको यात्रा सुरु हुन्छ । ५ घण्टामा १२ किलोमिटरको दूरी पार गर्दै ४ हजार ९ सय ३० मिटरको उचाइमा रहेको लोबुचे गाउँ पुगिन्छ । 

लोबुचेबाट सगरमाथा आधार शिविरका लागि यात्रा सुरु हुन्छ ।  १५ किलोमिटरको दूरी झण्डै ८ घण्टामा छिचोलेर सगरमाथा शिखरको प्रस्थान बिन्दु आधारशिविर पुग्न सकिन्छ । आधारशिविर यति मनोमहक छ कि जसको वर्णन शब्दमा गर्न कठिन हुन्छ ।

आरोहीहरु शरीलाई मौसम अनुकूल बनाउनका लागि आधार शिविरमा एक हप्तादेखि महिना दिनसम्म पनि बिताउने गर्छन् । मौसम अनुकूल, आधार शिविरभन्दा माथि बाटो निर्माण कार्य, शिविर व्यवस्थापन आदिलाई ध्यान दिएर सगरमाथाको वास्तविक यात्रा पनि आधार शिविरबाटै सुरु हुन्छ ।

आधार शिविरबाट ६ हजार ५० मिटर उचाइमा रहेको पहिलो शिविर पुगिन्छ । खुम्बु आइसफलका कारण पहिलो शिविरमा जाने बाटो निकै खतरनाक छ । त्यहाँ आरोहीहरु एक दुई रात बिताउँछन् केही आधार शिविर आउजाउ पनि गर्छन् ।

पहिलो शिविरबाट दोश्रो शिविरमा जाने बाटो अलि सजिलो छ । ६ हजार ५ सय मिटर उचाइको दोश्रो शिविरमा आरोहीहरु दुई/तीन रात बिताउँछन् । ७ हजार २ सय मिटर उचाईमा रहेको तेश्रो शिविर आरोहीहरुको आराम गर्ने ठाउँ हो । दोश्रो शिविरबाट तेश्रो शिविरमा पुग्न आरोहीले विभिन्न औजार प्रयोग गर्नुपर्छ ।

सगरमाथा आरोहणको अन्तिम शिविर ७ हजार ९ सय मिटर उचाइमा रहेको चौथो शिविर हो । यहाँ आरोहीहरुको लागि अक्सिजन तथा अन्य औजार राखिन्छ । यहाँ भन्दामाथि अन्य शिविर नभएकोले चौथो शिविरबाट सिधै शिखरको यात्रा तय हुन्छ । चौथो शिविरबाट १६ देखि १८ घण्टामा शिखर पुगिन्छ । 

शिखर अर्थात ८,८४८ मिटरको उचाइ आरोहीले पाइला टेक्ने अन्तिम जमिन हो । संसारमा यो भन्दा अग्लो स्थानमा कुनै ठाउँ छैन ।  

सगरमाथा आरोहणमा आउनेले नेपालमा गर्ने खर्च

दस्तुर : ११ हजार डलर
एक जना आरोहीले गर्ने कुल खर्च : ३५ हजार डलरदेखि ६० हजार डलरसम्म । 
बसाइ अवधी : ४५ देखि ६० दिन । 

समस्या

सगरमाथा आरोहण चुनौतीपूर्ण काम हो । सगरमाथा चढ्न जाने र सगरमाथामा आरोहण सहयोगी बनेर जानेहरुको पनि ज्यान जोखिममा हुन्छ । जतिबेला पनि चल्ने हुरीबतास, हिमपहिरो, खर्पसमा भासिने, चिसोले कठ्याँग्रिने, श्वासप्रश्वासमा समस्या आउने लगायतका थुप्रै समस्या हुन्छन्, जसले मिनेटभरमै ज्यान लिन सक्छ । 

यस्तै सगरमाथामा फोहोर थुप्रिंदै गएको छ । सगरमाथामा ज्यान गुमाएका झण्डै तीन सय जना मध्य झण्डै २ सय जनाको शव अहिले पनि सगरमाथाको हिउँमा गाडिएर रहेका आरोहीहरु बताउँछन् । पर्यटन विभागले केही शव मात्र हिउँमा छाडिएका दाबी गरे पनि पछिल्लो डेढ दशकभन्दा अघिका धेरैजसो शव उतै छाडिएका आरोहण सहयोगीहरु बताउँछन् । यस्तै मानव मलमुत्र, प्रयोग गरेका सामाग्रीका बोतल, प्लाष्टिक, अक्सिनका सिलिण्डर लगायत ठूलो मात्रामा फोहोर सगरमाथामा छ ।

यस्तै सगरमाथाको हिउँ पग्लिने क्रम बढेको लामो समयदेखि आरोहणमा गइरहेकाहरु बताउँछन् । पहिलो सफल आरोहण टोलीमा सहभागी कान्छा शेर्पा त्यो बेला सगरमाथाको आधार शिविरमा हरियो घाँस देखेको बताउनुहुन्छ तर अहिले त्यहाँ कुनै बनस्पती भेटिँदैन । बर्सेनि हिउँको मात्र घट्दै गएको र आइसफलको आकार बढेको २४ पटक सगरमाथाको शिखरमा पुग्नुभएका कामीरिता शेर्पा बताउनुहुन्छ ।

अबैध क्रियाकलाप 

यही हप्ता एक जना सगरमाथा आरोहीले सगरमाथाको शिखरमा हस्तमैथुन गरेको तस्विर भाइरल भयो । पर्यटन विभागले त्यो तस्विर सन् २०११ मा सगरमाथा शिखिरमा भएको क्रियाकलापको भएको बतायो । अघिलो वर्ष केही आरोहीले आधार शिविरमा नग्न अवस्थामा बनाएको भिडियो भाइरल भयो । दुई वर्षअघि एक जनाले सगरमाथामा स्केटिङ खेलेको तस्बिर सार्वजनिक गरे ।

केही वर्षअघि एक जोडीले सगरमाथामा विवाह पनि गरेका थिए । एक दशकअघि एउटा हेलिकोप्टर कम्पनीले त शिखरमा हेलिकोप्टर उतारेर हेलिकोप्टरको बिज्ञापन नै तयार गर्‍यो । आधार शिविरमा साँगीतिक कार्यक्रम गर्ने, अबैध रुपमा सगरमाथा चढ्नेदेखि, अबैध बस्तुहरु शिखरमा लैजानेसम्मका घटनाहरु सार्वजनिक भइरहेका छन् ।

यस्ता घटनाहरुलाई सरकारले रोक्न सकेको छैन । पर्यटन विभागकी निर्देशक मिरा आचार्य सगरमाथामा उट्पट्याङ हर्कत गर्नेदेखि गलत रेकर्ड बनाउन खोज्नेलाई कालोसूचीमा राख्ने तथा कडा कारबाहीका लागि विभागले प्रक्रिया अघि बढाउने बताउनुहुन्छ । 

बढ्दो चाप  

सगरमाथा आरोहण गर्नेहरुको संख्या बर्सेनि बढिरहेको छ । यसबाट राजश्वसँगै पर्यटन व्यवसायमा फाइदा हुने सोझो हिसाब गरिए पनि यसले सगरमाथामा गम्भीर असर पुर्‍याउँदै गएको जानकारहरु बताउँछन् । आधार शिविर र त्यहाँभन्दा माथि पनि मानव चहलपहल बढी हुने भएकोले फोहोर बढेसँगै हिउँ पग्लिने लगायतका जोखिमहरु बढिरहेका छन् ।

छोटो समय हुने अनुकूल मौसममा धेरै आरोही जाँदा चापका कारण पर्खनुपर्दा ज्यानसमेत गएको खबर यही हप्ता सार्वजनिक भयो । पर्यटन विभागले चापको कारण मात्र आरोहीको ज्यान नगएको कुरा विज्ञप्तिमार्फत बताए पनि आरोहणमा जानेहरु जाममा फस्दा समस्या आउने बताउँछन् । सार्वजनिक भएका तस्विर र भिडियोमा पनि शिखर नजिक चाप बढेको देखिन्छ ।

झण्डै चार दशक सगरमाथामा काम गरिसकेका आइसफल डाक्टर (हिउँमा बाटो बनाउने) कामी निमा शेर्पा पछिल्ला दिनहरुमा सगरमाथाका समस्या बढिरहेको बताउनुहुन्छ । बाटो बनाउँदा यसअघि नदेखिएका खर्पस, खाल्डा तथा हिमपहिरो पछिल्ला वर्षहरुमा बढिरहेको देखेको शेर्पा बताउहुुन्छ । 

सगरमाथामा आरोहीको संख्या नियन्त्रण गर्नुपर्ने र केही वर्ष सगरमाथालाई आराम दिनुपर्ने आवाज अहिले धेरैले उठाउन थालेका छन् । पर्यटन विभागका महानिर्देशक डुण्डुराज घिमिरे अहिले नै संख्या नियन्त्रण वा आराम दिनेतर्फ भन्दा व्यवस्थापनतर्फ सोच्नुपर्ने बताउनुहुन्छ । तै पनि खतराको संकेतहरु सगरमाथामा देखिन थालेकोले अब सरकार सचेत हुनुपर्ने आरोहण सहयोगीको रुपमा वर्षौंसम्म सगरमाथा आवातजावत गरेकाहरु बताउँछन् । 

सगरमाथासम्बन्धी केही जानकारी

– सन् १९५४ मा भएको भूमिमापनअनुसार सगरमाथा आठ हजार आठ सय ४८ मिटर अग्लो छ । त्यसपछि भूउपग्रहीय मापनमा दुई मिटर अग्लो र चिनले गरेको मापनमा ४ मिटर होचो देखाएपछि यस वर्ष नेपाल आफैँले मापन गरिरहेको छ । मापनकै क्रममा एउटा टोली शिखरमै पुग्यो । आधिकारिक उचाइ ६ महिनाभित्र जानकारी हुने नापी विभागले जनाएको छ । 

– पहिलो पटक सगरमाथा आरोहण गर्ने मानिस न्यूजील्याडका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पा हुन् । शेर्पाले पछि भारतीय नागरिकता लिएका थिए । 

– पहिलो सफल आरोहण टोली भक्तपुरबाट चार सय जना भरियालाई सामान बोकाएर हिँड्दै नाम्चे पुगेको थियो । जसमा २५ भारी त पैसा मात्र थियो । 

– सगरमाथाको चुचुरो जेट विमान उड्ने सबैभन्दा उचाइ (९४४८.८ मिटर) भन्दा केही तल मात्र पर्छ । 

– सगरमाथाको चुचुरोमा मानिसले सामान्य लिने अक्सिजनको एक तिहाइ मात्र लिन्छ । हावाको चाप कम हुने भएकाले यस्तो भएको हो । 

– हिमालमा हावाको वेग दुई सय माइल प्रतिघण्टाभन्दा बढीसम्म मापन गरिएको छ । 

– सन् १९६९ यता सगरमाथा आरोहणमा सन् १९७७ मा बाहेक बर्सेनि कम्तीमा एक जनाको ज्यान जाने गरेको छ । 

– हिमालमा झन्डै दुई सय शव रहेको बताईन्छ । कतिपय शवलाई आरोहीहरूले दिशासूचकको रूपमा प्रयोग गर्छन् । 

– सोलुखुम्बुका कामीरिता शेर्पाले सबैभन्दा बढि २४ पटक सगरमाथा चढेका छन् । 

– सगरमाथा आरोहण गर्ने पहिलो महिला जापानकी जुन्को तावेही हुन् भने नेपाली महिला पासाङल्हामु शेर्पा हुन् । 

ujyaaloonline
 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार