Thursday April 25, 2024 | |

माल्दिभ्सविरुद्ध नेपालको खेल कस्तो रहला ?

featured-news

काठमाडौं । बंगलादेशमा जारी सुजुकी साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणका सबै खेलको समाप्तिसँगै सेमिफाइनल समिकरण पूरा भएको छ । समूह ‘ए’बाट नेपाल र पाकिस्तान तथा समूह ‘बी’बाट भारत र माल्दिभ्स अन्तिम चारमा प्रवेश गरेका छन् । अब समुह ‘ए’ को विजेता बनेको नेपालले समुह ‘बी’को उपविजेता बनेको माल्दिभ्सको सामना गर्नेछ भने समूह ‘ए’को उपविजेता बनेको पाकिस्तानले समूह ‘बी’को विजेता भारतको सामना गर्नेछ । 
आइतबार भएको समूह ‘बी’को खेलमा भारत २–० गोल अन्तरले विजयी हुँदै समूह विजेता बनेको हो । भने माल्दिभ्स उपविजेता बन्यो । समूह ‘बी’ श्रीलंका र माल्दिभ्सको समान १–१ अंक भएपछि दुई टोलीले टस गरेर उपविजेता निर्धाराण गरेका थिए । जसमा माल्दिभ्सको भाग्य बलियो बन्यो । अब नेपाल आगामी बुधबार माल्दिसविरुद्ध मैदानमा उत्रिँदै छ । समूह विजेता बन्दै समिफाइनल पुगेको नेपालका लागि माल्दिभ्स विरुद्धको खेल सहज नभए पनि नेपाली खेलाडी भने उच्च मनोबलका साथ मैदानमा उत्रिने छन् । बलियो बंगलादेशलाई २–० ले पराजित गरेसँगै नेपाली खेलाडीमा थप हौसला मिलेको हो । बंगलादेशविरुद्धको खेलमा विमल घीर्तिमगर र नवयुग श्रेष्ठले गोल गर्दै नेपालको सेमिफाइनलको यात्रा सुनिश्चित गराएका थिए । 
नेपाली टोली समेफाइनल पुगेसँगै नेपाली टोलीका कप्तान बिराज महर्जनले नेपालले आगामी खेलमा पनि सुखद् नतिजा हात पार्ने बताए । उनले अहिले खेलाडीहरु लयमा रहका कारण आगामी खेलमा पनि उत्कृष्ट प्रदर्शन रहने दाबी गरे । पहिलो खेलमा पाकिस्तानविरुद्ध डिफेन्स कमजोर रहँदा अन्तिम समयमा आफूहरु चुकेको स्वीकार्दै त्यसपछि रणनीति परिवर्तन गर्दा नतिजा सकारात्मक निस्किएको बताए । उनले भने–‘माल्दिभ्स विरुद्धको खेलमा पनि नेपाली खेलाडी सक्दो प्रयास गर्नेछन् र जित दिलाउने आशा छ ।’ यसपटक उपाधि जित्ने लक्ष्यका साथ बङ्गलादेश पुगेको नेपाली टोली अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सकेको छैन । यसअघिका प्रतियोगितामा नेपाल चार पटक सेमिफाइनलमा पुगेको छ । 
सेमिफाइनल पुगेको नेपाली फुटबल आइतबार ‘रेष्ट’ गरेको थियो । सोमबार र मंगलबार प्रशिक्षण पश्चात बुधबार मैदानमा उत्रिनेछ । पछिल्ला दुई खेलमा आफु अनुकुल नतिजा निकाल्दै नेपाल अन्तिम चारमा पुगेको हो । नेपालले भुटानलाई ४–० र बंगलादेशलाई २–० ले हराएको थियो । भने पाकिस्तानविरुद्ध इन्जुरी समयको अन्तिम ३० सेकेण्ड सम्हालिन नसक्दा नेपालले २–१ को पराजय व्यहोर्नुपरेको थियो । बंगलादेश, श्रीलंका र भुटान भने समूह चरणबाटै बाहिरिएका छन् । 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार