Friday March 29, 2024 | |

गुफामा फसेका ४ बालकको सकुसल उद्धार

featured-news

थाइल्याण्ड । उत्तरी थाईल्यान्डको गुफामा दुई सातादेखि फसेका बालकहरूमध्ये चार जनाको सकुशल उद्धार गरिएको छ । ९० जना गोताखोरहरू सहभागी उद्धार टोलीले बाहिर ल्याएका बालकहरूलाई अस्पताल पुर्‍याइएको छ। पानीको भेल कम भएको बेला थालिएको उद्धारकार्य पहिले सोचेभन्दा छिटो अघि बढिरहेको छ।

गुफा नजिकै रहेका बीबीसीका ड्यान जनसन भन्छन्, “चार जनालाई गुफा बाहिर ल्याइएको छ र अहिले रात परिसकेकोले उद्धार कार्य रोकिएको छ। बाँकी बालकहरू गुफा भित्रै रहेको बुझिएको छ। चार जनालाई सफलतापूर्वक बाहिर ल्याएका छन् र यो महत्त्वपूर्ण उपलब्धि हो।”

जुन २३ तारिख शनिवारको दिन बालकहरू आफ्ना प्रशिक्षकसहित किन गुफा भित्र पसे त्यस्को ठ्याक्कै जबाफ अहिले हामीसँग छैन। बीबीसी थाई सेवाका रिपोर्टहरूमा जनाइएअनुसार उक्त टोली फुटबल अभ्यासका लागि स्थानीय समय अनुसार बिहान १० बजे एकापोलमा पुगेका थिए। त्यसबारे सहायक प्रशिक्षकले पौने ११ बजे फुटबल अभ्यासको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरेका थिए।

करिब ३ बजेतिर त्यहाँको राष्ट्रिय निकुञ्जमा त्यहाँको कर्मचारीले ११ वटा साइकल गुफा प्रवेश गर्ने ठाउँमा पार्क भएको पाएको स्मरण गरे। त्यहाँबाटै अनुसन्धान सुरु भयो। प्रारम्भिक खोजको कार्य आइतवार दिउसो करिब १ बजेबाट सुरु भयो। शनिवार राति १० बजे उक्त फुटबल टोली हराइरहेको सूचना आएपछि बल्ल खोजी कार्य सुरु भएको थियो। केही खबरहरूका अनुसार उक्त टोली फुटबल अभ्यास सकिएपछि एकजना सदस्यलाई योजना नबनाइ गरिने ‘सरप्राइज पार्टी’ दिन गुफाभित्र गएका थिए।चियाङ राई प्रान्तको पहाडी भेगमा अवस्थित ताम लुङ्ग गुफामा छिरेसँगै वर्षे पानी पर्न थाल्यो। जंगलबाट आएको बाढीले गुफाको प्रवेशद्वार बन्द गरिदियो। पानीको सतह तीव्र रूपमा बढेसँगै ती बालकहरू र उनीहरूका प्रशिक्षक अलि उच्च स्थानको जमिन खोज्दै जाँदा गुफाको भित्री भागमा पुगे।

उनीहरू फसेको उक्त गुफा थाईल्याण्डको चौथो लामो गुफा हो। यो १० हजार ३ सय १६ मिटर लामो छ।गुफामा ११ देखि १६ वर्षका १२ जना बालकहरू र उनीहरूलाई फुटबल खेलाउने २५ वर्षीय सहायक प्रशिक्षक फसेका छन्।यो गुफाहरूबारे उस्तै खालका धेरै किंम्वदन्तीहरु छन्। धेरैलाई थाहा भएको एउटा किंम्वदन्ती अनुसार पहाडमा सुतेकी महिलाको नामबाट चिनिने सो ठूलो गुफा लाई थाई भाषामा “ताम लुङ्ग कुन नाम नाङ्ग नोन” भन्ने गरिन्छ। यो गुफा आजसम्म पनि त्यही नामले चिनिएको छ। त्यो किंम्वदन्ती अनुसार दक्षिण चीनकी एक राजकुमारी एक घोडचढी पुरुषबाट गर्भवती भएपछि यही पहाडमा आइन्।

उनका पिताले पठाएका मानिसले ती पुरुषलाई फेला पारेर मारिदिएपछि उनी यही पहाडमा कुरेर बसेको विश्वास गरिन्छ। प्रतीक्षा गर्दा गर्दा थाकेपछि ती राजकुमारीले आत्महत्या गरेको स्थानीयबासीको विश्वास छ। त्यसपछि उनको शरीरबाट पहाड बनेको र रगतबाट साई नदी उत्पत्ती भएको उनीहरू बताउँछन्।स्थानीय खबरहरूका अनुसार समुदायका एकजना पूर्व नेताका भनाइमा सन् १९८६ मा एकजना विदेशी पर्यटक गुफामा सात दिनसम्म हराएका थिए। पछि उनको सुरक्षित उद्धार गरिएको थियो। यद्यपि त्यतिबेला बाढी चाहिँ आएको थिएन।

सन् २०१६ को अगस्ट महिनामा एकजना पूर्व चिनियाँ भाषाका शिक्षक तीन महिनासम्म गुफामा हराएका थिए। ती शिक्षकले आफ्नो साइकल राष्ट्रिय निकुञ्जस्थित पसलमा छोडेका थिए र पसलेलाई आफू गुफामा ध्यान गर्न जान लागेको बताएका थिए। तर खोजी प्रयासहरू गरिए पनि उनी तीनमहिनासम्म भेटिएनन्। पछि उनी नजिकैको एउटा होटलमा घुमिरहको अवस्थामा फेला परेका थिए।बीबीसीबाट

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार